अर्थ

सुनकोशी मरिण हेडवक्र्स निर्माण सुरु हुँदै

सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको हेडवक्र्ससहितका संरचना निर्माणको काम डेढ महिनाभित्रै सुरु हुने भएको छ। आयोजनाका अनुसार निर्माण कम्पनीलाई सो संरचना निर्माण कार्य प्रारम्भ गर्न पत्र दिइसकेको छ। सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बरालले बोलपत्रबाट छनोट भएको कम्पनीसँग सम्झौता भएर कार्यप्रारम्भ गर्न पत्रसमेत दिइसकेको बताए। ‘आयोजना र निर्माण कम्पनी रमण कन्स्ट्रक्सन-पटेल इन्जिनियरिङ लिमिटेड संयुक्त उपक्रम (जेभी) बीच सम्झौता भइसकेको छ,’ उनले भने, ‘हामीले सो कम्पनीलाई कार्यप्रारम्भ गर्न पत्र समेत दिइसकेका छौं।’ आयोजना प्रमुख बरालले निर्माण कम्पनीले अहिले साइटमा क्याम्प बनाउने र निर्माण सामग्रीको व्यवस्थापन गर्ने लगायतको काममा जुटेको बताए।  

‘निर्माण कम्पनीले पूर्वाधार निर्माण अघि तयार पार्नुपर्ने आवश्यक संरचना र निर्माण सामग्रीको जोहो गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘सम्भवतः डेढ महिनाभित्रै निर्माण कम्पनीले आयोजनाको हेडवक्र्ससहितको संरचना निर्माण गर्नेछ।’ रमण-पटेल जेभीले सुनकोशी आयोजनाको हेडवक्र्स, मेकानिकल र सिभिल लगायतको संरचना निर्माणको लागि अनुमानित लागतभन्दा ३२ प्रतिशत कम रकम कबोल गरेर ठेक्का हात पारेको हो।

आयोजनाले मंसिर १२ गते आशयपत्र (एलओआई) जारी गरेर रमण (पटेल जेभीले भ्याटबाहेक १२ अर्ब ५१ करोड ४० लाख ७९ हजार ४३ रूपैयाँमा ठेक्का छनोट भएको थियो। आयोजना र निर्माण कम्पनीबीच पुसको अन्तिम साता सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले ५५ महिनाभित्र हेडवक्र्ससहितका संरचना निर्माण सम्पन्न गर्नुपर्नेछ। आयोजना प्रमुख बरालले निर्माण कम्पनीले मोबिलाइजेसन बापत करिब ५० करोड रूपैयाँ बुझिसकेको बताए। यो हेडवक्र्स निर्माणका लागि ११ वटा कम्पनीले प्राविधिक मूल्यांकनमा प्रतिस्र्धा गरेका थिए। प्रतिस्पर्धा गरेका ११ वटा कम्पनीमध्ये ९ वटा कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका थिए। छनोट भएका ९ मध्ये ५ कम्पनीले मात्रै आर्थिक प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। तीमध्ये सबैभन्दा कम लागत पेश गर्ने कम्पनी रमण-पटेल जेभी छनोट भएको थियो।  

सुरुङमार्ग २५२५ मिटर छिचोलियो

आयोजनाको २५ सय २५ मिटर सुरुङ खन्ने काम सकिएको छ। १३.३ किलोमिटरमध्ये अहिलेसम्म २.५२५ किलोमिटर सुरुङ खनिसकिएको छ। यस आयोजनामा गत असोज २८ गतेदेखि टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर सुरुङ खन्न थालिएको थियो। आयोजना निर्देशक बरालले आइतबार बिहानसम्म २५ सय २५ मिटर सुरुङ खन्ने काम भएको बताए। ‘अहिलेसम्म सुरुङ खन्ने काम लक्ष्य अनुसार नै भइरहेको छ,’ उनले भने ‘यही गतिमा अघि बढ्नेमा हो भने निर्धारित समयभित्रै सुरुङ खन्ने काम सकिनेछ।’ आयोजना प्रमुख बरालले अहिलेसम्म सुरुङ खन्दा कुनै पनि प्राविधिक समस्या नआएको बताए। ‘अहिले सुरुङ खन्ने काम चुरेपहाडमा भइरहेको छ। यहाँ कुनै खालको समस्या देखिएको छैन,’ उनले भने ‘सुरुङमार्ग ४.३ किलोमिटरमा पुगेपछि महाभारत शृङ्खलामा पुग्नेछ। सोही ठाउँमा सुरुङ खन्न केही प्राविधिक जटिलता आउने आँकलन गरेका छौं।’ अहिले सुरुङ खन्दा कडा खालको चट्टानभन्दा पनि बालुवा र माटो मिश्रित सामान्य खालको ढुंगा भेट्टिएको छ।  

अहिले सुनकोशी आयोजनामा ७ सयभन्दा धेरै प्राविधिक तथा अन्य कामदारले चौबिसै घण्टा काम गर्दै आइरहेका छन् भने अन्य दुई सय जना परामर्शदाता तथा अन्य प्राविधिक कर्मचारी खटिएका छन्। ‘यो आयोजनाको १३.३ किलोमिटर टनेल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ यो आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले नै पाएको छ। आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९ को मेमा ठेक्का सम्झौता भएको थियो। १३.३ किलोमिटर लामो सुरुङ सन् २०२५ को अगष्ट अर्थात् ५२ महिनाभित्र निर्माण गर्ने सम्झौता भएको थियो।  

यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ। आयोजना र चिनियाँ ठेकेदार कम्पनीबीच मूल्य अभिवृद्धिकर भ्याटबाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सिन्धुलीस्थित मरिन खोलामा खसाएर रौतहट र सर्लाहीको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ मेगावाट विद्युत् समेत उत्पादन गर्ने उद्देश्यले २०७३ सालमा सुरु गरिएको थियो। २०७६ माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो। आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रूपैयाँ रहेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते आयोजनाको शिलान्यास गरेका थिए।

प्रकाशित: १७ माघ २०७९ ०१:२६ मंगलबार

सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना