अर्थ

गाडीको फराकिलो बजार

काठमाडौं- सन् १९२१ मा तत्कालीन बेलायती राजकुमार एडवर्ड भारतबाट नेपाल (चितवन) मा शिकार खेल्न आउँदा पहिलोपटक चारपांग्रे गाडी भित्रिएको थियो। त्यसको तीन वर्षपछि अर्थात सन् १९२४ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले मान्छेका काँधमा बोकाएर उपत्यकामा गाडी भिœयाएका थिए। औपचारिकरुपमा चारपांग्रे सवारी साधन नेपाल भित्रिएको ९२ वर्ष भएको छ। सुरुमा राणा तथा राजपरिवारको सुख सुविधाका लागि सवारी प्रयोग हुन्थ्यो।

विश्वमा आएको परिवर्तन र अर्थतन्त्रको आकार विकास हुँदै गएपछि सर्वसाधारणले पनि गाडी उपयोग गर्न थाले। धनी व्यक्ति वा सम्पत्तिवालले गाडी चड्ने चलन सुरु भयो। आज गाडी मान्छेको दैनिकी बनेको छ। हिजो विलासिताका रूपमा लिइने गाडी आज आधारभूत आवश्यकता भएको छ। गाडी प्रयोग गर्न वा किन्न पुँजीपति हुन जरुरी छैन। सामान्य मध्यमवर्गीय व्यक्तिले पनि आवश्यकता पूरा गर्न किन्न सक्छ।

विश्व बजारमा आधुनिकदेखि उच्चआधुनिक कारको विकास भइसकेको छ। त्यही विकास तथा आविष्कारले धकेल्दै त्यहाँको उत्पादन यहाँसम्म भित्रिन सकेको हो। गाडीको आधुनिक विकासलाई चुनौती दिँदै सेबस्टियन थ्रुनले गुगलको चालकबिनै चल्ने आश्चर्यजनक गाडी बनाउन मद्दत गरे, जुन ज्यान बचाउन र सवारी दुर्घटना घटाउने व्यक्तिगत खोजको परिणाम थियो। चारपांग्रे सवारी विकासमा यो विश्वमै देखिएको चमत्कार हो। विश्वमा उत्पादन भएका गाडी समयान्तर र विकासको पांग्रामा धकेलिएर नेपालसम्म आइपुग्ने गरेका छन्। विविध मोडलका गाडी स्थानीय बजारमा मन पराइएका छन्।

नेपालमा चारपांग्रे सवारीको बजार निकै फराकिलो भएको छ। भारतमा र तेस्रो मुलुकमा उत्पादन हुने आधुनिक गाडी अहिले नेपाली बजारमा सजिलै उपलब्ध हुन्छन्। हुन्डाइ, टाटा, सुजुकी/मारुती, टोयटा, होन्डालगायत विश्वका चर्चित ब्रान्डले यहाँको बजार र उपभोक्ताको माग पूरा गरेको छ। जसरी बजारमा गाडीका नयाँ–नयाँ मोडल भित्रिएका छन्, त्यस्तै ग्राहक तथा उपभोक्ताको माग र रोजाई फेरिँदै गएको छ। नयाँ मोडलका कार किन्ने संख्या दिनहुँ बढ्दै गएको यस क्षेत्रका व्यवसायी बताउँछन्।

नेपाली बजारमा २३ लाखभन्दा बढी सवारी पुगिसकेका छन्। तीमध्ये करिब ७ लाख चारपांग्रे सवारी (कार, जिप, भ्यान) छन्। विश्व बजारमा हरेक दिन भित्रिएका नयाँ मोडलका गाडी नेपालसम्म आउने क्रम निरन्तर जारी छ। त्यसले पनि अटोमोबाइलको बजार फराकिलो बनाउँदै लगेको छ। मूल्यका हिसाबले १२ लाखदेखि दुई करोड रुपैयाँसम्मका सुविधाजनक गाडी बजारमा आइसकेका छन्। हरेक वर्ष अटो व्यवसाय करिब २० प्रतिशतले बढिरहेको छ। गाडी बिक्रेता कम्पनीले विभिन्न पर्व, उत्सव तथा महोत्सवमा ल्याउने योजनाले यो व्यवसायलाई थप विस्तार गरेको छ।

गत आर्थिक वर्षमा भूकम्प र भारतले गरेको नाकाबन्दीले देशको अर्थतन्त्र ओरालो लागे पनि सवारीको खरिद बिक्री भने अघिल्लो आवको तुलनामा ४० प्रतिशत बढेको थियो। व्यक्तिको क्रयक्षमता र उपभोक्ताको मागका कारण अटो व्यवसाय बढेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष अन्जन श्रेष्ठ बताउँछन्। नाडाले मंगलबारदेखि 'नाडा अटो  सो– २०१६' आयोजना गर्दैछ। उक्त सोले पनि चारपांग्रे सवारीको बजार फराकिलो बनाउने सिप्रदी टे्रडिङ प्रालिका बजार प्रबन्धक सावन्त सिजापति बताउँछन्।

अटो व्यवसायले राज्यको कुल राजस्वको १७ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ। यसमध्ये चारपांग्रे सवारीको योगदान उल्लेखनीय रहेको श्रेष्ठको भनाइ छ। वार्षिक ८० अर्ब रुपैयाँको अटो व्यवसायमा करिब आधाभन्दा बढी चारपांग्रे सवारीको योगदान छ। यो व्यवसायले १७ लाख व्यक्तिलाई रोजगारी प्रदान गरेको उनको भनाइ छ।

नयाँ योजना

राजधानीमा मंगलबारदेखि सुरु हुने नाडा अटो सोमा विभिन्न कम्पनीका आधिकारिक बिक्रेता तथा कम्पनीले नयाँ–नयाँ मोडलका चारपांग्रे गाडी पदर्शनमा राख्ने तयारी गरेका छन्। साथै बजार विस्तार गर्न गाडी बिक्रीका नयाँ योजना तथा उपहार ल्याउने भएका छन्। नेपालमा नाम चलेका टाटा, हुन्डाइ, सुजुकी, होन्डा, किया, टोयटा, स्कोडा, यामाहा लगायत ब्रान्डका गाडी उक्त सोमा राखिने भएको छ।

हरेक वर्षका दशैं, तिहार, छड तथा अन्य पर्व र उत्सवमा सवारी बेच्ने कम्पनीले विभिन्न आकर्षक योजना ल्याउने गरेका छन्। चालु वर्षको दशैं, तिहारलगायत पर्व नजिक आइरहँदा विभिन्न योजना ल्याएका छन्। बजार प्रतिस्पर्धात्मक भएकाले कति कम्पनीले अहिले नै योजना घोषणा गर्न नमिल्ने बताएका छन्। हुन्डाइले दशैं, तिहार तथा छड पर्वलाई लक्षित गर्दै केही नयाँ योजना ल्याउने तयारी गरेको त्यो नाडा आटो सोमै जानकारी गराइने श्रेष्ठले बताए। अन्य कम्पनीले धमाधम योजना तयार गरेका छन्, जुन मंगलबारपछि नै सार्वजनिक गर्ने तयारीमा छन्।

हुन्डाई

हुन्डाई कम्पनीले नेपाली बजारमा ८ सय १४ देखि २२ सय सिसीसम्म विभिन्न मोडलका एक दर्जन चारपांग्रे सवारी बिक्री वितरण गर्दै आएको छ। १२ सय सिसीको ग्रान्ड र १० सय सिसीको क्रेटा गाडी हुन्डाईका सर्वाधिक मन पराइएका मोडल हुन्। चारपांग्रे सवारीको बजारमा हुन्डाईका गाडीको बजार उत्कृष्ट रहेको श्रेष्ठले जानकारी दिए। साढे १६ लाखदेखि १ करोड २३ लाख रुपैयाँका गाडी हुन्डाईले बिक्री गर्ने गरेको छ। देशभरका करिब एक दर्जन डिलरबाट गाडी बिक्री विरतण हुने कम्पनीले जनाएको छ।

टाटा

भारतको चर्चित मोटर उत्पादक कम्पनी टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङले चारपांग्रे सवारीको अधिकांश बजार ओगटेको छ। अटो व्यवसायको करिब ९० प्रतिशत बजारमा टाटाको हिस्सा रहेको सिप्रदीका बजार प्रबन्धक सावन्त सिजापतिले दाबी गरेका छन्। नाडा अटो सोमा नयाँ मोडल प्रदर्शन गर्ने तयारीमा रहेको सिप्रदीले एउटा मोटरसाइकल र गाडीको दुईवटा नयाँ मोडल ल्याउँदैछ।

अहिलेसम्म नेपाली बजारमा टाटाका मोटरसाइकल र गाडी गरी ३३ वटा मोडल बजारमा आएका छन्। सिप्रदीले टाटाका हलुका १८ लाखदेखि ५५ लाख रुपैयाँसम्म र ठूला ११ लाखदेखि ७० लाख रुपैयाँसम्मका सवारी बिक्री वितरण गर्दै आएको छ। देशभर ठूला गाडीका १२ र सानाको त्यति नै बिक्री गर्ने डिलर छन् भने देशभर सिप्रदीका ८ वटा शाखा कार्यालयबाट पनि कारोबार हुने गरेको छ।

मारुती/सुजुकी

गत वर्ष गएको भूकम्पमा व्यवसाय कमजोर रहे पनि अहिले मारुती गाडीको बजार राम्रो रहेको अरुण इन्टरकन्टिनेन्टल प्रालिका बजार प्रबन्धक करुण शाक्यले बताए। 'ग्राहकले लगानीअनुसारको प्रतिफल खोज्न थालेका छन्, जति मूल्य गाडी तिर्छन् त्यही बराबरको सुविधा दिनुपर्छ,' उनले भने, 'हामीले उपभोक्ताको सन्तुष्टी पूरा गरेका छौं, यही कारण हाम्रो बजार विस्तार भइरहेको छ।' सम्पूर्ण अटो व्यवसायमा सुजुकी/मारुतीको बजार पहिलो नम्बरमै रहेको कम्पनीको दाबी छ। देशभरका ३२ वटा डिलरबाट कम्पनीले गाडी बिक्री वितरण गर्ने गरेको छ।

यामाहा

यामाहा मोटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले पनि नाडा अटो सोमा नयाँ योजना सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले सन् १९७५ देखि नेपालमा मोटरसाइकल बिक्री वितरण गर्दै आएको हो। यस्तैले यसले अहिले स्कोडा ब्रान्डका विभिन्न गाडी बिक्री गर्दै आएको छ। नाडा अटो सोमा इटालियन ब्रान्ड फियाट कारको फियाट पुन्टो प्युअर बजारमा ल्याउँदैछ।

पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्री–लेभल ह्याचब्याक हो। बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कार ह्याचब्याक सेग्मेन्टमा उदाहरणीय बन्ने कम्पनीको दाबी छ। पाँचवटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्डले विभुषित इन्जिन जडान गरिएको छ जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ। पेट्रोल लाग्ने यो इन्जिनले २५०० आरपिएममा ९६ टर्क उत्पन्न गर्छ। पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन लगाइएको छ। ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालियन कारले १५.७ केएमपिएल माइलेज दिन्छ।

पुन्टो प्युअरमा यात्रुको सुरक्षाको लागि राम्रो व्यवस्था गरिएको छ। स्टिलको फ्रेम, क्रम्पल जोन र बलियो बडीले ड्राइभर र यात्रुलाई सुरक्षा घेरा निर्माण गरिदिन्छ। यसमा फायर प्रिभेन्सन सिस्टम पनि जडान गरिएको छ जसले दुर्घटनाको समयमा इन्धन आपूर्तिलाई काटिदिन्छ। यी सबै सुविधाले पुन्टो प्युअरको थिम– 'प्युअर बिल्ड, प्युअर ड्राइभ'लाई पुष्टि गर्छ। यो कारको बुकिङ खुला भइसकेको छ।

शम्भुप्रसाद दाहाल

निर्देशक, सिप्रदी ट्रेडिङ प्रालि

विगत ५ वर्षदेखि चारपांग्रे सवारीको बजार करिब ३० प्रतिशतले बढिरहेको छ। बजारमा अहिले १८ लाखदेखि ३ करोड रुपैयाँसम्मका गाडी बिक्री भइरहेका छन्। टाटा मोटरको मात्र बजार हिस्सा करिब ६४ प्रतिशत पुगेको छ। ठूला बसमा शतप्रतिशत नै टाटाका ब्रान्ड छन भने टि्रप्पर तथा ट्रकमा ८६ प्रतिशत बजार हिस्सा छ। टाटाले हरेक वर्ष बजारमा नयाँ नयाँ मोडलका गाडी ल्याउने गरेको छ। यसलाई लक्षित गर्दै बम्पर योजनासमेत आउँछन्। हरेक दुई वर्षमा बजारमा नयाँ उत्पादन ल्याउनैपर्छ। यो ग्राहकको माग र बजारको आवश्यकता पनि हो।

विश्वमा गाडी उत्पादन र प्रयोग

१९औं शताब्दीको मध्यतिर निकोलस अगस्त ओट्टो नाउँ गरेका जर्मन नागरिकले ग्यासबाट चल्ने फोर–स्ट्रोक इन्जिन बनाएका थिए। युरोपमा सवारीको उत्पादन सुरु गर्ने अग्रज जर्मनीका कार्ल बेन्ज र गटलेब डेम्लर थिए। सन् १८८५ मा बेन्जले दुई स्ट्रोक चक्रले चल्ने तीनपांग्रे गाडी चलाउँथे र यसको इन्जिन एक सिलिन्डरको थियो। यो गाडी प्रतिमिनेट २ सय ५० चक्कर घुम्थ्यो। डेम्लरले कुनै एक ठाउँमा जडान गरिएको ग्यास–इन्जिन १८७२ देखि उत्पादन गर्न थाले। त्यसको झन्डै एक दशकपछि विल्हेम मेबाकको साथमा तिनले उच्च गतिको कार्बोरेटरसहितको इन्टरनल–कम्बसनको इन्जिन निर्माण गरे र इन्धनको रूपमा ग्यासोलिन प्रयोग गर्न सम्भव भएको थियो।

सन् १८९० मा दुई फ्रान्सेली नागरिक एमिली लेभासोर र रेने पानार्डले च्यासिसको बीचमा इन्जिन राखेर चारपांग्रे गाडी निर्माण गरेका थिए। त्यसपछि इन्जिनलाई अगाडी राखे। यसो गर्दा गोरेटो बाटोमा गाडीलाई धुलो र हिलोबाट बचाउन सकिन्थ्यो।

गाडीको उपलब्धता

विश्वमा गाडीको उत्पादन सुरु हुँदा निकै महँगा र सामान्य जनताले नभ्याउने थिए तर सन् १९०८ मा हेनरी फोर्डले मोडल टि–को गाडी उत्पादन गर्न थालेपछि विस्तारै परिवर्तन भएको थियो। यो गाडी टिन लिज्जीका नामले चिनिन्थ्यो। सवारी उत्पादनको दुनियाँमा यो गाडीले नयाँ उचाइ कायम गरेको थियो। सस्तो र सामान्य नागरिकले समेत प्रयोग गर्न सक्ने हुँदा यसको लोकप्रियता बढेको पाइन्छ।

प्रकाशित: १४ भाद्र २०७३ ०३:३९ मंगलबार

गाडीको फराकिलो बजार