सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ। सुर्खेत बांगेसिमलबाट जुम्ला जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ। यो राजमार्गलाई कर्णाली लोकमार्गको नामले पनि चिन्ने गरिन्छ।
२०६३ चैत ३१ मा पहिलोपटक जुम्लामा गाडी पुगेको थियो। राजमार्ग जोडिएपश्चात् कर्णालीका नागरिकको जीवनस्तरमा धेरै फेरबदल आएको छ। यहाँका नागरिकलाई स्थानीय बजारमा मात्र सीमित नराखी सुर्खेत, नेपालगन्ज बुटवल, चितवनलगायतका सहरसहित राजधानी काठमाडौंसँग जोडिन र पहुँच राख्न सहज बनाएको छ।
यातायातको सहज पहुँचसँगै बढेको नागरिक आवातजावतले नयाँ ठाउँमा बजार बनेका छन्। खुद्रे पसल थोक बिक्रेतामा रूपान्तरण भएका छन्। पैदलयात्रा गरिँदाका संगमस्थल अपरिचित ठाउँमा परिणत भएका छन्। हिजो हिँडेका बाटो बिरानो मात्र भएका छैनन्, सडक यातायातले कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव गर्न सकिन्छ। आधुनिकताले सडकछेउ मात्र होइन, गाउँ बस्तीलाई समेत छोइसकेको छ। हरेक नागरिकलाई सहरिया बन्ने इच्छा र महत्वाकांक्षा जगाएको छ। आज कर्णाली राजमार्गछेउका डरलाग्दा भीरहरूमा घर तथा टहरा निर्माण भएर व्यापार व्यवसाय सञ्चालन भएका छन्।
सडकले छेउछाउका केही नागरिकलाई सफलता मिले पनि धेरैले सास्ती भोग्नुपरेको छ। कर्णाली राजमार्गअन्तर्गत विशेषगरी कालिकोट र दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घर बाढी र पहिरोको उच्च जोखिममा छन्। कमाउने रहरले यस्ता जोखिम ठाउँमा घर बनाएर बसेका नागरिकलाई बाढी र विशेषगरी पहिरोको कहरले सताउने गरेको छ। साँघुरो सडकछेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरहरूमा कहिले यातायातका साधन ठोकिने समस्या त कहिले भीर नै खसेर घरहरू कर्णाली नदीमा जालान् भन्ने डर र चिन्ता छ।
सडकले जन्माएका ती बस्तीको व्यवस्थापनमा कसैले ध्यान पु¥याएको देखिँदैन। कहालीलाग्दो भीरमा बनेको सडक त्यसमा पनि गाडी आवातजावत गर्नसमेत नसक्ने साँघुरो अवस्थाले गाडी अगाडि बढ्न फराकिलो ठाउँ खोज्नुपर्छ। विपरीत दिशाबाट आएका गाडी पार गर्न समय त लाग्छ नै, चालकले थोरै पनि संवेदनशीलता अपनाउन नसके दुर्घटनाको खतरा पनि त्यत्तिकै छ।
नेपाली सेनाले खोलेको साँघुरो ट्र्याक फराकिलो नगर्दै गाडी सञ्चालन गरियो। ट्र्याक खोलेको सात वर्षपछि २०७० सालमा ओटासिल प्रविधिबाट त्यही साँघुरो सडक कालोपत्र पनि गरियो। अहिले राजमार्गका विभिन्न ठाउँमा कालोपत्र उप्किँदा कर्णाली भित्रिने जोकोहीको यात्रा जोखिमयुक्त बनाएको छ। भीर र साँघुरा सडककै कारण ट्र्याक खोलिएपश्चात् कर्णाली राजमार्गमा दर्जनौं गाडी दुर्घटना भएका छन् भने सयौं नागरिकले ज्यान गुमाइसकेका छन्। धनको क्षति पनि त्यसरी नै भएको छ। बढ्दो दुर्घटनाका कारण हुने धनजनको क्षति रोक्न राजमार्गको तत्काल स्तर वृद्धि गरिने भनिए पनि त्यसको कार्यान्वयन नहुँदा जोखिम कायमै रहेको स्थानीय बताउँछन्।
सडकको अवरोध र जोखिम कम गर्न जुम्लादेखि कालिकोटको दही खोलासम्म डिभिजन सडक कार्यालय जुम्ला र सुर्खेतदेखि दही खोलासम्म डिभिजन कार्यालय सडक सुर्खेतको क्षेत्राधिकार पर्दछ। दुवै संघअन्तर्गतकै कार्यालय हुन्। सडक बिग्रेमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्नेबाहेक ठोस काम ती कार्यालयबाट भएको देखिँदैन। सामान्यतः राजमार्गको अवरोध हटाउने प्रयास भए पनि राजमार्गको स्तर वृद्धि हुन सकेको छैन।
राजमार्गको स्तर वृद्धि नभएकै कारण कर्णालीको पर्यटन विकास हुन नसकेको युवा धर्मराज शाही बताउँछन्। यहाँको नेतृत्वको पहलमा संघीय सरकारले सडक स्तरोन्नति गर्नुपर्दछ’, शाहीले भने, ‘अन्यथा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक रूपले सम्पन्न कर्णाली आर्थिक, सामाजिक र राजनीतिक विकासमा अझै पछि पर्छ।’
कर्णाली राजमार्गको यात्रालाई सहज बनाउन पुल निर्माण कार्यलाई तीव्रता दिइएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले जानकारी दिए। उनले भने, ‘सुर्खेत बांगेसिमलदेखि कालिकोट र जुम्लाको सीमामा पर्ने दही खोलासम्म १३२ किलोमिटर सडक खण्डमा निर्माण कार्य सुरु गरिएका २० मध्ये १५ वटा पुलको निर्माण कार्य सम्पन्न गरिसकेका छौं।’
प्रकाशित: १४ माघ २०७९ ०१:०३ शनिबार