अर्थ

बीउमा आत्मनिर्भर

सुर्खेत- केही वर्ष अघिसम्म सुर्खेतबाट वार्षिक लाखौं रुपैयाँ तरकारी र अन्नबालीको बीउ खरिदका लागि बाहिरिन्थ्यो। तर अहिले जिल्लाको अवस्था फेरिएको छ। बीउ खरिद गर्ने जिल्ला अहिले बिक्री गर्न थालेको छ।

 कृषि सहकारी, समूह र व्यक्तिले बीउ उत्पादन गर्न थालेपछि सुर्खेतबाट बीउ निर्यात हुन थालेको हो। अघिल्लो आर्थिक वर्षमा सुर्खेतबाट दुई करोड रुपैयाँबराबरको बीउ निर्यात भएको तथ्यांक छ। 'केही वर्षअघिसम्म तरकारीदेखि तोरीसम्मको बीउ खरिद गरेर ल्याउनुपर्ने बाध्यता थियो,' जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेश थापाले भने, 'कृषि सहकारी, समूह र व्यक्तिले बीउ उत्पादन गर्न थालेपछि सुर्खेत बीउमा आत्मनिर्भर मात्रै भएको छैन्, निर्यात गर्न सक्ने हैसियतमा पुगेको छ।

 सुर्खेतमा मेहेलकुनाको पवित्र जनकल्याण कृषक सहकारी संस्था, साटाखानीको जनअपेक्षा कृषि सहकारी सहकारी संस्था, कल्याणस्थित समृद्धि कृषि सहकारी संस्था, सहारेको भेरी कृषि बजार सहकारी संस्था, उत्तरगंगाको साना किसान कृषि सहकारी संस्थालगायतले व्यावसायिक बीउ उत्पादन गर्दै आएका छन्।

 पवित्र जनकल्याण सहकारीले गत आर्थिक वर्षमा ७८ लाख रुपैयाँको तरकारी बीउ निर्यात गर्‍यो। 'सुर्खेतको बीउ गुणस्तरीय भएकाले यसले अन्य जिल्लामा राम्रो बजार पाइरहेको छ,' उक्त सहकारीका अध्यक्ष नवलसिंह खत्रीले भने, 'बीउ उत्पादनका लागि गाउँगाउँमा ७६ वटा समूह बनाएका छौं।'

 यो सहकारीले मुला, केराउ, रायो, चम्सुर, पालुंगो, खुर्सानी, कांक्रा, लौडा, बोडीलगायतको बीउ उत्पादन गर्छ। सहकारीले आफ्नै ब्राण्ड प्रयोग गरेको छ। उसले कृषक समूहबाट बीउ खरिद गरेर 'पवित्र बीउ' का नाममा बाहिरी जिल्लामा निर्यात गर्छ। 'यहाँ उत्पादित बीउ पूर्वदेखि पश्चिमसम्म जान्छ,' खत्रीले भने, 'मागअनुसार आपूर्ति गर्न सकिरहेका छैनौं।'

समृद्धि कृषि सहकारी संस्थाले मकैको बीउ उत्पादन गरेर बिक्री गर्न थालेको चार वर्ष भयो। किसान समूह र व्यक्तिले पनि मकैको बीउ उत्पादन सुरु गरेका छन्। व्यावसायिक मकैको बीउ उत्पादन सुरु भएपछि अन्य जिल्लामा निर्यात हुन थालेको छ। अहिले उक्त सहकारीमा आबद्ध तीन सय शेयर सदस्यमध्ये दुई सयले मकैको बीउ उत्पादन गर्छन्।

‘सहकारीका साथै यहा“का अधिकांश व्यक्तिले व्यावसायिक रुपमा मकैको बीउ उत्पादन गरेका छन्,’ समृद्धिका अध्यक्ष देवबहादुर रानाले भने, ‘बीउबाट राम्रो आम्दानी पनि भइरहेको छ।’ यो सहकारीले वार्षिक करिब ३० लाख रुपैयाँं बराबरको मकै बीउ अन्य  जिल्लामा वितरण गर्छ।

सहकारी र समूह मात्रै नभएर व्यक्तिले पनि व्यवसायिक बीउ उत्पादन गर्छन्। मेहलकुना–१ का नवलसिंह ठकुरी एक व्यवसायिक बीउ उत्पादक हुन्। केही वर्षअघिसम्म परम्परागत कृषि पेसा अंगाल्दै आएका ठकुरीले तीन वर्षदेखि व्यावसायिक बीउ उत्पादन गरिरहेका छन्। ‘अहिले अरुका लागि पनि सहयोगी बनेको छु,’ उनले भने, ‘मैले उत्पादन गरेको उन्नत बीउबाट अन्य कृषकको पनि आयमा बृद्धि भएको छ।’

सुर्खेतको ३६ हजार चार सय ४४ हेक्टर खेतीयोग्य जमिनमध्ये १६ हजार एक सयमा मकै उत्पादन हुन्छ। उन्नत जातको बीउबाट राम्रो उत्पादन हुन थालेपछि बीउ बाहिरी जिल्लामा पनि निर्यात हुन थालेको छ। जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्ष करिब एक करोडको मकै बीउ बाहिरी जिल्लामा बिक्री भएको थियो।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरी सबै प्रकारका बीउमा सुर्खेत आत्मनिर्भर भएको बताउँछन्। 'तरकारी, दलहन, धान, मकैलगायतका बीउमा सुर्खेत आत्मनिर्भर मात्रै छैन्, बाहिरी जिल्लामा निर्यात पनि हुन्छ,' उनले भने, 'गत आर्थिक वर्षमा मात्रै सुर्खेतबाट दुई करोड रुपैयाँ बढीको बीउ बाहिरी जिल्लामा निर्यात भएको छ।' उनले बीउ उत्पादन अझै बढाउन कृषि सहकारी, समूह र व्यक्तिलाई अनुदान कार्यक्रम सञ्चालन गरिएको बताए।

प्रकाशित: ११ भाद्र २०७३ ०२:३६ शनिबार

बीउमा आत्मनिर्भर