नेपाल उद्योग परिसंघले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक गर्न आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार परिसंघमा आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तिमा एक तहको फरक हुने सरकारको नीतिलाई दुई तह वा कम्तिमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताए। आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुहरूको आयात निरूत्साहित गरिनुपर्नेमा जोड दिँदै उनले ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरूको संख्या बढाउँदै लौजान पनि आग्रह गरे।
अर्थ मन्त्रालयका राजसव सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितिमा आयोजित अन्तरक्रियामा परिसंघ राजस्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे।
सन्दर्भ पुस्तिकाका कारण अधिक बिजकीकरण र न्यून बिजकीकरणलाई प्रोत्साहित गरिरहेको उनले बताए। बिल बिजक मूल्यलाई मान्यता दिने तर सन्दर्भ पुस्तिकाको मूल्यलाई आधार मान्ने अभ्यासले मिसम्याच भैरहेको बताए। वस्तुको मूल्य र आयातकर्ताको विवरण नखुलेको सामान निर्वाध आयात भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै भन्सारमा कडाइ गर्न आग्रह गरे।
परिसंघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न सरकारी निकायहरूमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ। यस्तै चोरी पैठारी नियन्त्रण गर्न, सार्वजनिक बिदाको दिन अन्य दिन जस्तै नियमित र पूर्ण रूपमा काम गराउन, भन्सार जाँच पासपछि पनि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसंघले आग्रह गरेको छ।
राजस्व सचिव डा. रामप्रसाद घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानैपर्ने बताए। औद्योगिकरणको प्रबद्र्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको बताए। त्यसका लागि सरकारले सहजिकरण गर्ने उहाँँको भनाइ थियो। यस्तै सचिव घिमिरेले चोरी पैठारी नियन्त्रण गर्न प्रभावकारी रूपमा काम गर्ने बताए। यसमा निजी क्षेत्रको पनि सहयोग चाहिने उनको धारणा थियो। ग्रीन च्यानलबाट पैठारी हुने वस्तुहरूको संख्या बढाउने परिसंघको सुझावमा आवश्यक कदम लिने बताए।
सार्वजनिक बिदाका दिन पनि भन्सार सुचारु हुनुपर्ने परिसंघको आग्रहमा भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले यो सुझाव सकारात्मक रहेको बताए। अन्तरक्रियामा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, उद्योगीहरू अमित मोर, लक्ष्मीप्रसाद सुवेदीलगायतले भन्सारमा आवश्यक थप सुधारका विषयमा सुझाव दिएका थिए।
प्रकाशित: १२ माघ २०७९ ०२:०७ बिहीबार