अर्थ

घर र गाडी भाडामै मासिक करोड

गोरखा- भूकम्प पीडितलाई सहयोग गर्न गोरखा आएका आइएनजिओको अहिलेको चलेको भाडादर हो यो। भूकम्पअघि अहिलेको भन्दा ५० प्रतिशत कम मूल्यमा घरभाडा पाइन्थ्यो भने गाडी भाडा ३० देखि ४० प्रतिशत कम थियो। भूकम्पपीडितलाई सहयोग गर्न १५ महिनादेखि बसेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बिलासितामा करोडौं रुपैयाँ खर्च गर्ने गरेका छन्।

एक फ्ल्याट घरको भाडा अक्सफाम, युएनडिपी, सेभद चिल्ड्रेन, केयर नेपाल नामका आइएनजिओ र आफूलाई युएन एजेन्सी भन्ने संस्थाहरुले ८० हजारभन्दा माथि तिर्छन्। सिआरएस नामकको संस्थाले सबैभन्दा धेरै मासिक १ लाख ८० हजार रुपैयाँ तिरेर गोरखा उद्योग वाणिज्य संघको घर प्रयोग गर्दै आएको छ। वर्ल्ड भिजन इन्टरनेसनल नेपाल, युनिसेफ, पिन, क्रिस्चियन एड, आइओएम लगायत आइएनजिओले ५० हजारदेखि एक लाख रुपैयाँसम्म मासिक घरभाडा बुझाउने गरेका छन्।

यी संस्थाले सदरमुकामका अग्ला, राम्रा नयाँ बनेका घरमा दोब्बर महँगो भाडा तिरेर अड्डा जमाएका हुन्। एक दर्जन संघ–संस्थाले मासिक १० देखि १५ लाख घरभाडामा सक्ने गरेको संघ–संस्था वरपर रहेका स्थानीय बताउँछन्।

–घरभाडा मासिक ८० हजारदेखि एक लाख ८० हजारसम्म।

–बोलेरोको जिपको मासिक भाडा एक लाख २० हजारदेखि एक लाख ८० हजार।

–स्कोर्पियोको दुईदेखि तीन लाखसम्म।

आइएनजिओसँग दुईदेखि पाँच वटासम्म सवारी साधन छन्। एक लाख २० हजार रुपैयाँदेखि एक लाख ८० हजार रुपैयाँसम्म मासिक भाडा तिरेर बोलेरो जिप लिएका छन्। यातायात व्यवसायीका अनुसार एकै प्रकृतिका सवारी साधन भाडामा लिँदा एकअर्कोबीच तालमेल मिलेको छैन। अहिले संघ–संस्थाले एक लाख ८० हजारसम्म तिरेको बोलेरो जिपको भाडा पुनः निर्माण प्राधिकरण गोरखाका उपक्षेत्रीय कार्यालयले ८० हजारमा लिएर चलाएको थियो। ‘आइएनजिओसँग पैसा धेरै छ, मनलाग्दी खर्च गर्छन्, घटिघटाउ गर्दैनन, बरु कर्मचारीले कमिसन खोज्छन’ एक व्यवसायीले भने। स्कोर्पिओ जिपको दुई लाख ५० हजारदेखि तीन लाख रुपैयाँ मासिक भाडा तिरेर आइएनजिओका कर्मचारीले मोटो रकम सकेका छन्। आइओएम, सेभ द चिल्ड्रेन अक्सफाम, सिआरएस, युनिसेफ, आइएमसी, वर्ल्ड भिजनसँग तीनदेखि ६ वटासम्म गाडी छन्। यी सवारी साधन कर्मचारीलाई काठमाडौं, पोखरा, चितवन लैजान र जिल्लाभित्रका पक्की सडकमा गुड्नमा धेरैजसो प्रयोग हुन्छन्। कहिलेकाँही दाता आउँदा अनुगमनमा लस्कर लगाएर आइएनजिओले सवारी साधन लैजाने गर्छन्।

भाडामा लिएका र केही कार्यालयले नै खरिद गरेका महँगा गाडीकार्यालय अगाडि सजाएर राखेको धेरैजसो पार्किङ मै भेटिन्छन्। ‘गाउँ कहिलेकहीँ जानुपर्छ, नभए शुक्रबार काठमाडौं पुर्‍याएर आइतबार बिहान लिन जानुपर्ने काम नै धेरै हुन्छ,’ एक आइएनजिओका सवारी चालकले भने। केयर नेपाल, पिन, क्रिस्चियन एडसँग दुईदेखि तीनवटा सवारी साधन छन्। एक दर्जन आइएनजिओले प्रयोग गर्ने सवारी साधन करिब ४० हाराहारी छन्। वर्ल्ड भिजन नामक संस्थाले सवारी साधन बाहेक पनि चारवटा भिआर (प्रति मोटरसाइकल करिब पाँच लाख पर्ने) साधन पनि किनेको छ। चारवटा मोटरसाइकल कार्यालयअगाडि सधैंजसो पार्किङमा भेटिन्छन्। अन्य आइएनजिओले पनि ग्रामीण भेगमा जान सहज हुने भन्दै महँगो मूल्य पर्ने मोटरसाइकल किनेका छन्।

सवारी साधन र घरभाडामा आइएनजिओले मासिक एक करोडभन्दा बढी खर्च गरेको बताइन्छ। यीबाहेक पनि अनुगमनमा जाँदा, भूकम्पपीडितलाई केही सामग्री वितरण गर्न गाउँ पुग्दा आइएनजिओले लस्कर लगाएर गाडी लैजाने गर्छन्।

यी आइएनजिओ बसेका घरले नगरपालिकामा घर बाहल कर तिरेका छैनन।भूकम्पलगत्तै यहाँ आएका आइएनजिओ बसेका घरले घर बहाल कर नतिरेको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए। घरधनीले महँगो भाडा लिए पनि कर तिरेका छैनन्। भाडाको १० प्रतिशत नगरपालिकालाई कर बुझाउनुपर्ने भए पनि गत वर्षभरिमा नगरपालिकामा ८० हजारमात्रै बहल कर उठेको छ। यो कर बैंक, वित्तीय संस्थाबाट धेरै उठेको इन्जिनियर ढकालले बताए। ‘करको दायरामा ल्याउन छिट्टै अभियान थाल्छौं। अहिले घर भाडामा लगाउने तर कर नतिर्ने ९५ प्रतिशत छन्,’ उनले भने।

जिल्ला दैवीप्रकोप उद्धार समितिले आइएनजिओलाई अंकुश लगाउने भन्दै कार्यविधि बनाएपनि टेरेका छैनन्। खर्च, कार्यक्रम, प्रगति विवरण बुझाउन र सार्वजनिक सुनुवाइ गर्न समितिले निर्देशन गरेको थियो। तर आइएनजिओले आफ्नो योजना र कार्यक्रमबारे अहिलेसम्म सार्वजनिक सुनुवाइ गरेका छैनन्। एनजिओ, आइएनजिओको कामको अनुुगमन गर्दै तत्काल प्रगति विवरण सुनाउन लगाउने स्थानीय विकास अधिकारी नारायण आचार्य बताउँछन्। पछिल्लो समय अत्यधिक गुनासो आउन थालेपछि एनजिओ, आइएनजिओसँग स्पष्टीकरण सोधिएको उनले सुनाए। अधिकांश आइएनजिओ सहयोगी संस्थालाई काम लगाएर बसेका छन्। कतिपय छुट्टै आइएनजिओको कार्यक्रम नै नहुँदा समेत लाखौं रुपैयाँ कर्मचारी, भाडा, सवारी साधन जस्ता विलासी साधनमा खर्चेर कार्यालय चलाइरहेका छन्।

प्रकाशित: ९ भाद्र २०७३ ०३:२४ बिहीबार

घर गाडी भाडामै मासिक करोड