अर्थ

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो

काठमाडौं- लगानीकर्ताले हकप्रद र प्रारम्भिक निष्कासन (आइपिओ) हुने सेयरका लागि रकम जोहो गर्न थाल्दा सेयर बजार खस्किएको छ। बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन नगदको सट्टा हकप्रद सेयर जारी गर्न थालेपछि लगानीकर्ताले उक्त सेयर खरिदका लागि धमाधम सेयर बिक्री गर्न थालेका हुन्।

एक दर्जनभन्दा बढी बैंक हकप्रद सेयर जारी गर्ने अन्तिम तयारीमा छन्। लगानीकर्ताले उक्त हकप्रद सेयर खरिदका लागि २१ अर्ब रुपैयाँभन्दा बढी रकम जुटाउनु पर्ने देखिन्छ। साथै, केही लघुवित्त बैंकहरुले आइपिओ जारी गरिरहेका छन्। ती कम्पनीको सेयर किन्ने पैसा जुटाउन लगानीकर्ताले सेयर बिक्री गर्न थाल्दा दोस्रो बजार नराम्ररी प्रभावित बन्न पुगेको छ।

दुई दिनमै सेयर बजार मापक नेप्से करिब ५२ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार १२.६३ अंक र दोस्रो दिन सोमबार ३९.३१ बिन्दुले गिरावट आएर नेप्से १६८३.१२ अंकमा आइपुगेको छ।

उच्च मूल्यमा बिक्री गरेर प्रतिसेयर एक सय रुपैयाँमा हकप्रद सेयर किन्न पाइने भएकाले पनि लगानीकर्ताले हकप्रद सेयरलाई प्रथमिकता दिएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले सोमबार नागरिकलाई बताए। 'सय रुपैयाँमै हकप्रद सेयर पाउने भएपछि मूल्य बढेको समयमा सेयर बिक्री गर्नु स्वभाविकै हो,' उनले भने, 'हकप्रद सेयरका लागि रकम जुटाउन थालेकाले पनि बजार घट्न पुगेको हुनुपर्छ।'

बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्दा सर्वसाधारण लगानीकर्ता र संस्थापक सेयर धनीले रकम थप्नुपर्ने हुन्छ। दुवै थरीका लगानीकर्ताले पुँजी थप गर्न सेयर बिक्री गरेर रकमको जोहो थालेपछि बजार प्रभावित भएको विश्लेषकको भनाइ छ।

आइतबारभन्दा सोमबार सेयर खरिद गर्नेभन्दा बिक्री गर्ने बढी देखिएको ब्रोकर बताउँछन्। 'खरिद गर्नेभन्दा सेयर बिक्री गर्नेको चाप बढी देखियो,' रेग्मीले भने, 'केही लगानीकर्ता पर्ख र हेर (वेट एन्ड सी) को अवस्थामा छन्।' संस्थागत लगानीकर्ताले खरिद गरेका छैनन्,' उनले भने, 'व्यक्तिगत लगानीकर्ताले बजार धानिरहेका छन्।'

दुई महिनायता दैनिक डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएकोमा पछिल्लो समय ७०–८० करोडमा सीमित भएको छ। 'कारोबार रकममा ५० प्रतिशतले कमी आएको छ,' अध्यक्ष रेग्मीले भने, 'कारोबार रकम अर्बभन्दा तल झरेको छ।'

सोमबार ८६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अघिल्लो कारोबार आइतबारको तुलनामा कारोबार रकमका हिसाबले केही बढी हो।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्‍याउन निर्देशन दिएपछि वाणिज्य बैंकहरु धमाधम हकप्रद सेयर निष्कासन गर्ने तयारीमा जुटेका हुन्।

एनआइसी एसिया, सिटिजन्स, सानिमाले हकप्रद सेयर जारी गरिसकेका छन्। मेगा बैंकले हकप्रदको लागि सार्वजनिक सूचना जारी गरेको छ। उक्त बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको छ।

नेपाल धितोपत्र बोर्डले पनि हकप्रद सेयर निष्कासन प्रक्रियालाई सहज बनाएको छ। बोर्डले अधिकतम १२ दिनभित्र हकप्रद सेयर निष्कासनको स्वीकृति दिइसक्ने बताएको छ। यसअघि हकप्रद सेयर निष्कासनकोे स्वीकृति दिन १ महिनासम्म लगाउने गरेको थियो।

केन्द्रीय बैंकले तोकेको अवधिभित्र चुक्ता पुँजी नपुर्‍याउने समयसम्म क्रेडिट रेटिङ प्रक्रिया पनि सहज बनाइएको छ। लगातार नाफामा सञ्चाति बैंकहरुले क्रेडिट रेटिङ गर्नु नपर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए। यसअघि त्रे्कडिट रेटिङ गर्न ३ महिनासम्म लाग्ने गरेको थियो।

क्रेडिट रेटिङ गर्न लामो समय लागेका कारण हकप्रद सेयर निष्कासनमा ढिालाइ हुँदै आएको थियो। हकप्रद सेयर निष्कासनका लागि फास्ट ट्र्याकमा काम हुन थालेपछि बैंकरले केही सहज महसुस गरेका छन्।

हालसम्म सबैभन्दा बढी लक्ष्मी बैंकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको १४.२८ प्रतिशत छ।

नेपाल एसबीआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ। नेपाल बगांलादेश बैंकले चुक्ता पुँजीको ८० प्रतिशत, कृषि विकास र माछापुच्छे्र बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेका छन्।

सनराइज, प्राइम, सेन्चुरी बैंकले चुक्ता पुँजीको ३० प्रतिशत तथा सिद्धार्थलेे २५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दैछन्। नेपाल बैंकले २३.७४ प्रसितशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउँदै छ।

अन्य केही बैंक हकप्रद सेयर जारी गरेर पुँजी पुर्‍याउने वा मर्जर तथा एक्विजिसनमध्ये कुन बाटो तय गर्ने भन्ने निष्कर्षमा पुगेका छैैनन्। ती बैंकहरुले समेत हकप्रद सेयर जारी गर्ने हो भने बजारमा करिब ३० अर्ब रुपैयाँको हकप्रद सेयर आउने अनुमान विज्ञहरुले गरेका छन्। हकप्रद खरिदका लागि लगानीकर्ताले ठूलो रकम लागि खर्चिनुपर्ने देखिन्छ।

प्रकाशित: ७ भाद्र २०७३ ०४:१६ मंगलबार

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो