अर्थ

चार जहाज उडाएर साढे ७ अर्ब आम्दानी

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक वर्ष अन्तर्राष्ट्रिय उडान गरेर साढे ७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। निगमले चार ठूला जहाजबाट यो आम्दानी गरेको हो। निगमले गत आर्थिक वर्ष २०७२/७३ मा अन्तर्राष्ट्रिय सेवाबाट कुल ११ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांक संकलन गरे पनि उडानबाट मात्र उसले ७ अर्ब ५७ करोड रुपैयाँबराबरको आम्दानी गरेको हो। बाँकी आम्दानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य वायुसेवा कम्पनीलाई उपलब्ध गराइएको 'ग्राउन्ड ह्यान्डलिङ' सेवाबाट कमाएको हो।

'गत आर्थिक वर्ष जति आम्दानी गर्ने लक्ष्य लिएका थियौं, त्यसको ६५ प्रतिशत सफलता हात लागेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'यसबाट सन्तुष्ट हुने ठाउँ भने छ। अब जति जहाज थपिँदै जान्छन्, आम्दानी भने त्यसैगरी बढ्दै जाने छ।'

निगमले तयार पारेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष ११ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको थियो। यो परिमाणमा चारथान जहाजको योगदान ७ अर्ब ५७ करोड रुपैयाँ हो भने बाँकी ३ अर्ब ५० करोड रुपैयाँ ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त भएको हो। उक्त अवधिमा निगमले कूल १६ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो।

त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ पनि निगमले उल्लेख्य सफलता हात पारेको छ। गएको आर्थिक वर्ष २ हजार ७ सय ६६ उडान गर्ने लक्ष्य लिएको निगमले २ हजार ७ सय ३६ उडान गर्न सफल भएको थियो। 'यो भनेको लक्ष्यको ९८ प्रतिशत हो,' प्रवक्ता शर्माले भने, 'लक्ष्यको असाध्यै नजिक पुग्नु भनेको लक्ष्य भेटेजस्तै हो।'

निगमले चार ठूला जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आए पनि पछिल्लो दुई महिनायता तीन जहाजमा खुम्चिएको छ। गत आर्थिक वर्ष एकदेखि डेढ महिनाजति एउटा बोइङ जहाज उड्न नसक्ने गरी थन्किएको थियो। त्यसबाहेक पूरै अवधि चार जहाजले अन्तर्राष्ट्रिय उडान गरेका थिए।

निगमसँग अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७–२००' सिरिजका दुईथान र युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त 'ए्र३२०–२००' सिरिजका दुईथान जहाज छन्। तीमध्ये एउटा बि७५७ हाल सिंगापुरमा 'ग्राउन्डेड' छ। उक्त जहाजलाई सेवाबाट हटाउने निर्णय गरिसकेको निगमले यसलाई बिक्री गर्न वर्तमान बजाउभाउ मूल्यांकका लागि ग्लोबल टेन्डटर आह्वान गरिसकेको छ।

निगमले काठमाडौंबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा तथा हङकङ उडान गरिरहेको छ। दिल्लीका लागि दैनिक दुई, मुम्बई र बैंगलोर साताका तीन, मलेसिया सातामा पाँचलगायत उडान गर्दा दैनिक औसत ७ अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

त्यसैगरी निगमले गत आथिर्क वर्ष अन्तर्राष्ट्रिय उडानमा ३ लाख ४४ हजार यात्रु बोकेको थियो। उसको लक्ष्य भने ३ लाख ९८ हजार थियो। यसमा लक्ष्यको ८६ प्रतिशत सफलता मिलेको छ।

त्यस्तै कार्गोतर्फ गत आर्थिक वर्ष १ हजार ८० टन बोकेको थियो। कूल १ हजार ५ सय ७६ टन कार्गो बोक्ने लक्ष्य लिएको निगमले लक्ष्यको ६८ प्रतिशत हासिल गरेको थियो। त्यही अवधिमा १३ अर्ब २९ करोड खर्च गर्ने लक्ष्य लिए पनि १० अर्ब ५२ करोड रुपैयाँमात्र खर्च भएको थियो। यो भनेको ७९ प्रतिशत हो।

गत आर्थिक वर्ष जहाजको सिट भराइ दर (अकुपेन्सी) औसत ७३ प्रतिशत थियो। उसको लक्ष्य भने ९५ प्रतिशत थियो। यो लक्ष्यको ७६ प्रतिशत हो। त्यस्तै लोड फ्याक्टर (भार क्षमता) ७८ प्रतिशत हासिल गरेको निगले ८३ प्रतिशतको लक्ष्य लिएको थियो। यसमा ९३ प्रतिशत सफलता हात पारेको थियो।

दुबई उडान बिहीबारबाट

नेपाल वायुसेवा निगमले बिहीबार (भदौ २) बाट युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान गर्ने भएको छ। यसअघि निरन्तर आठ वर्ष दुबई उडान गरी सन् २०१२ बाट बन्द गरेको थियो।

'यात्रुको माग उच्च भएपछि दुबई उडान पुनः सञ्चालन गर्न लागेका हौं,' निगमका प्रवक्ता रामहरि शर्माले भने, 'बिहीबार पहिलो उडानबाट १ सय ५६ यात्रु जाँदैछन्। यात्रु चाप हेर्दा हामी सन्तुष्ट छौं।'

उनका अनुसार भदौ २ बाट प्रत्येक साता तीन दिन आइत, मंगल र बिहीबार काठमाडौंबाट सिधा दुबई उडान गर्ने तालिका बनाइएको छ। आगामी आइतबारको दोस्रो उडानका लागि हालसम्म १ सय ३५ यात्रुले टिकट बुकिङ गरेका छन्। दुबईका लागि न्यूनतम भाडा दर करसहित एकतर्फी २५ हजार र दुईतर्फी ४२ हजार रुपैयाँ तोकिएको छ।

निगमले दुबईका लागि काठमाडौंबाट राति ११:३० बजे उड्ने र भोलिपल्ट बिहान १०:१० बजे फर्कने तालिका बनाएको छ। दुबईका लागि १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजको जहाज प्रयोग गरिने छ।

प्रकाशित: २ भाद्र २०७३ ०५:०८ बिहीबार

जहाज उडाएर साढे अर्ब आम्दानी