अर्थ

गृहमन्त्रीको निर्देशनपछि पनि भारतबाट कुखुराका चल्ला आउने क्रम रोकिएन

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले भारतबाट अवैध रुपमा आयात हुने पोल्ट्रिजन्य वस्तुलाई रोक्न निर्देशन दिए पनि कुखुराका चल्ला आउने क्रम रोकिएको छैन। 

भारतीय सीमा नाकाबाट कुखुराका चल्ला भित्रिएको व्यवसायीले गुनासो गरेपछि पुस २८ गते चितवन आएका गृहमन्त्री लामिछानेले आइजिपी धिरज प्रताप सिंहलाई फोन गरेर तत्काल रोक्न निर्देशन दिएका थिए। तर, अझैपनि पर्सा, महोत्तरी लगायतका सीमा नाकाबाट कुखुराका चल्ला नेपाल भित्रने गरेको ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेललेले जानकारी दिए।  

‘दुई चार दिन भयो। किसानहरूले पर्सा जिल्लाको बिन्दाबासिनि नाका र महोत्तरीको सोम्सी नाकाबाट चल्ला नेपाल भित्रिएको हामीलाई भन्नुभएको छ,’ पौडेलले भने, ‘यद्यपि मन्त्रीको निर्देशनपछि पहिलेको तुलनामा कम भित्रिएको हामीलाई सूचना आएको छ।’ पौडेलका अनुसार, केही साता अघिसम्म हप्तामा ६ लाखको हाराहारीमा भारतबाट अवैध चल्ला आउने गर्दथ्यो। जसको प्रत्यक्ष मारमा नेपालका व्यवसायी छन् । मन्त्रीको निर्देशन पछि बिस्तारै भारतबाट पोलट्रीजन्य वस्तुको आयात कम हुनेमा पौडेलको विश्वास छ।  ‘विगतमा कुखुरा मात्रै हप्तामा ५० गाडीसम्म आउने गर्दथ्यो,’उनले भने, ‘अहिले धेरै नै कम भएको छ। अझै बोडर टाइट होला भन्ने आशा गरेका छौँ।’ नेपालमा नवलपरासी, सर्लाही, पर्सा, सिराहा, बाँके जिल्लाका नाकाबाट अवैध कुखुरा भित्रने गर्दछ। 

तीन बर्ष अघि सरकारले पोलट्रीमा आत्मनिर्भर रहेको घोषणा गरेको थियो। तर, यहाँका व्यवसायीले विगत ८ वर्षदेखि पोलट्रीमा आत्मनिर्भर रहेको बताउँदै आएका थिए। हाल नेपालमा पोलट्री क्षेत्रमा एक सय ५० अर्ब हाराहारीमा लगानी रहेको बताइन्छ। नेपालको मागलाई धान्न सक्ने भएपनि भारतबाट भित्रँदा व्यवसाय नै धरापमा पर्दै गएको नेपाल पोलट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेल बताउँछन्। देशमा हप्तामा ४० लाख कुखुराका चल्ला आवश्यक छ। तर, उत्पादन भने हप्तामा ४५ लाख गर्ने क्षमता रहेको पोख्रेलले बताए। हाल नेपालमा ३७ लाखको हाराहारीमा कुखुराका चल्ला उत्पादन भइरहेका छन्। खुल्ला सीमाका कारण अवैध व्यापारलाई पूर्ण रुपमा रोक्न नसकिएको उनले बताए। 

पोलट्रीको ३० प्रतिशत हिंसा चितवनले ओगट्दै आएको छ। भारतबाट अवैध रुपमा चल्ला भित्रिएपछि यहाँका व्यवसायीले उत्पादन घटाउँदै लगेका हुन्। कुखुराको चल्लालाई व्यवसायीले यतिखेर २० रुपैयाँको हाराहारीमा बिक्री गर्दै आएका छन् । तर, उत्पादन लागत मूल्य ५५ रुपैयाँ पर्ने पोख्रेलले बताए। घाटा हुँदै गएपछि व्यवसाय समेत पलायन हुने अवस्थामा पुगेको ह्याचरी उद्योग संघले जनाएको छ। संघका अनुसार कोरोना भन्दा अगाडि ३ सय ४८ वटा ह्याचरी थिए। तर, अहिले २ सयको हाराहारीमा मात्र छन्। 

नेपाल पोलट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार कोभिड–१९पछि पोलट्री व्यवसाय ४० अर्ब रुपैयाँ बराबरको घाटामा छ। खुल्ला सीमाका कारण भारतबाट अवैध भित्रने अण्डा, चल्ला र मासुलाई रोक्न नसक्दा यहाँका व्यवसायी समस्यामा परेको उनी बताउँछन्। ‘व्यवसायीक रुपमा बोयलर पाल्नेलाई घाटा छ। चल्लाको त कुरा नगरौँ। ५५ रुपैयाँमा उत्पादन गरेर १५ रुपैयाँमा बेच्न परेको छ। दाना उद्योग सुरक्षित थियो। यसको पनि बिक्री ह्वात्तै घटेको छ,’ उनले भने ‘हाम्रो आन्तरिक नीति र खुल्ला सीमाका कारण समस्यामा छौँ।’ पोलट्री व्यवसायीको समाधानका लागि छुट्टै ऐन ल्याउन उनले माग गरेका छन्। भारतबाट आउने पोलट्री जन्य वस्तु रोक्न सके पहिलेकै अवस्थामा उत्पादन गर्न सक्ने उनले बताए। 

प्रकाशित: ७ माघ २०७९ ११:१७ शनिबार

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने