अर्थ

कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। बजारमा बढ्दो मूल्य वृद्धिप्रति चासो देखाउँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुने। सोमबार आपूर्तिमन्त्री दीपक बोहोरा, सचिव श्रीधर सापकोटा सहित सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री कार्यालय बोलाएर परिणाम आई उपभोक्ताले राहतको अनुभूति हुने गरी तत्काल कदम चाल्न निर्देशन दिएका थिए।

उनले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयसहित सरकारी अधिकारीलाई  निर्देशन दिएका हुन्।  'प्रधानमन्त्रीज्यूले कालोबजार र मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिनुभएको छ,' आपूर्ति सचिव सापकोटाले भने, 'निर्देशन बमोजिम कार्ययोजना बनाएर अघि बढ्छौं।'

भारतको नाकाबन्दीपछि देखिएको कालाबजारी र मूल्यवृद्धि नियन्त्रण हुन नसकेको बेला प्रधानमन्त्रीको सक्रियतालाई सकारात्मक रुपमा लिइएको छ। नाफाखोरको चंगुलबाट बजार मुक्त हुन नसकेको भन्दै दोषीलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए। गुणस्तरहीन सामान बेच्नेलाई कानुनी दायरामा ल्याएर हरेक ठाउँमा राज्यको उपस्थिति पुर्‍याउन भनेका थिए।

यता आपूर्ति मन्त्रालयले पनि सोमबारबाट बजार अनुगमनलाई तीव्रता दिएको छ। उपभोक्तालाई सहज रुपमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने पहिलो प्राथमिकता रहेकोले बजारलाई व्यवस्थित बनाउन अनगमुन गर्न निर्देशन दिएको आपूर्ति मन्त्री दीपक बोहोराले बताए। 'व्यवसायी उपभोक्ताप्रति जिम्मेवार नभएको देखियो,' मन्त्री बोहोराले भने, 'धेरै स्टक राखेर बजारमा अभाव सिर्जना गर्नेमाथि निगरानी सुरु भएको छ।'

उपभोक्ता हित तथा आपूर्ति व्यवस्थापन विभाग, मन्त्रालय, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले सोमबार काठमाडौंका विभिन्न ठाउँमा छापा मारेको छ। ललिलपुरको सेल्सबेरीमा म्याद नाघेका, केही अखाद्य वस्तु समेत भेटिएपछि सिल गरेको आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाले बताए। 'एक्सपायर भएका खाद्य वस्तु भण्डारण गरेर राखेको भेटेपछि सिल गरिएको हो,' उनले भने। अनुगमनमा केही खानेपानीका बोटलसहित अखाद्य वस्तु नष्ट गरेको अनुगमनमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए।

प्रकाशित: ३२ श्रावण २०७३ ०४:२९ मंगलबार

कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन