अर्थ

हेलिकोप्टरका क्याप्टेन पिट्नेलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघको माग

वायुसेवा सञ्चालक संघ नेपालले प्रभु हेलिकप्टर्स प्रालिका वरिष्ठ क्याप्टेन रानेश डंगोललाई कुटपीट गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।  

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जीउज्यानकोसमेत पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका वासिन्दाको सेवामा खटिँदै सुत्केरी, बिरामीलगायत मानवीय तथा विकास निर्माणका काममा संलग्न क्याप्टेनलाई कुटपिट गर्ने कार्य आपत्ति जनक छ। साथै यस घटनाप्रति नेपाल सरकार गृहमन्त्रालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको ध्यान आकर्षण गराउँछ।’  

प्रभु हेलिकप्टरका क्याप्टेन डंगोलले माघ ५ गते अपराह्न पोखराबाट स्याङजा जिल्लाको वालिङका यात्रुबाट प्राप्त भएको जीपीएस कोडिनेट अनुसार स्थानीय फुटबल मैदानमा अवतरण गरेपछि स्थानीय व्यक्तिहरूले क्याप्टेन डंगोललाई कुटपीट गरेका हुन्। ‘यसप्रकारका निन्दनीय कार्य र दुव्र्यवहारको उचित छानबिन गरी सत्यतथ्य पत्ता लगाइ दोषी माथि कडा कारबाही गर्न गराउन, घाइतेको उपचारको प्रबन्ध गर्न, र सुरक्षाको प्रत्याभूति गराउनसमेत नेपालसरकारसँग संघ जोडदार माग गर्दछ’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ माघ २०७९ ०३:०८ शुक्रबार

वायुसेवा सञ्चालक संघ नेपाल