अर्थ

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से

काठमाडौं- सेयर बजार मापक नेप्से दुई दिनमा १ सय ४ बिन्दुले बढेको छ। मंगलबार ८४.५१ बिन्दुले बढेको नेप्से बुधबार १९.१५ बिन्दुले माथि उक्लियो। अघिल्ला दुई दिनमा एक दिन स्वाट्टै ओर्लेर र अर्को दिन ह्वात्तै बढेर बजारले रेकर्ड बनाएको थियो। तर, बुधबार भने सेयर बजारमा धेरै उतार चढाव आएन।

बुधबार कारोबारकोबीचमा सिस्टममा समस्या भएपछि तोकिएको समय भन्दा १५ मिनेट बढी खुलेको बजारमा दुई अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। उक्त दिन बजार १९.१५ अंकले बढेर १७७९.५७ बिन्दुमा पुगेर बन्द हुन पुग्यो।।

बुधबार १ सय ४६ कम्पनीको दुई अर्ब बढीको कारोबार भएको छ। होटल र जलविद्युत बाहेकका सबै समूह उकालो लागेपछि बुधबार नेप्से दोहोरो अंकले बढेको हो।

यसदिन सबैभन्दा बढी बिमा समूहमा १८०.४७ अंकको सुधार देखिएको छ। वाणिज्य बैंक समूहको १४.९३ र विकास बैंक समूहको ३२.०९ अंकले बढेका छन भने बित्त समूहको १२.१७ अंक, उत्पादनमूलक समूहको ५८.९२ अंक र अन्य समूहमा ५.२ अंकले उकालो लागेका छन्।

बुधबार होटल र जलविद्युत समूहमा दोहोरो अंकको गिरावट देखियो। होटल समूहको ३६.१७ अंकले र जलविद्युत समूहको २८.९१ अंकले ओरालो लागेका छ।

जनता बैंक, टुरिजम डेभलपमेन्ट बैंक, सेवा विकास, यति डेभलपमेन्ट, जेबिल्स फाइनान्स, हाम्रो विकास, फेवा विकास र मञ्जुश्री फाइनान्सको सेयरमूल्य दश प्रतिशतका हाराहारीमा बढेको छ।

स्वोरोजगार लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै गुमाएको बजारमा एभरेष्ट इन्स्योरेन्स, नेपाल ग्रामिण विकास बैंक, राष्ट्रिय बिमा कम्पनी सोल्टी होटल लगायतकाले गुमाएका छन्।

यसदिन सबैभन्दा धेरै एनबी बैंकको १५ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। सिद्धार्थ बैंकको ११ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: २७ श्रावण २०७३ ०६:१५ बिहीबार

दुई दिनमा १०४ अंकले बढ्यो नेप्से