अर्थ

निर्माण गर्ने कि दिगो निर्माण !

आजसम्म हामीले निर्माण मात्र गर्यौं । घर, भवन, बाटो, पुलपुलेसा बनायौं । ‘काम चलिहाल्छ नि !’ भन्यौं । तर, ती निर्माण दिगो थिए त ? हामीले सोच्ने बेला भएको छ । गत गर्ष भूकम्पपछि त यसले यो विषयले चर्चासमेत पाइरहेको छ । विगतमा हामी दिगो निर्माण गर्न चुक्यौं । दिगो निर्माण गर्न सकेको भए ८ लाख घर, हजारौं स्कुल, विभिन्न पुराताŒिवक संरचना भत्किने थिएनन् कि !

ठूला आयोजनाका बाँध परीक्षणकाल मै भत्किएको हामीले सुनेकै हो । पिच गरेको दुई–चार महिनामा बाटो बिग्रने समस्या हाम्रो लागि नौलो होइन । एक दुई वर्षमै कैयौं पुलका संरचना भत्किन थाल्छन् । आखिर किन हुन्छ त यस्तो ? एउटै कारण हो हामीले दिगो निर्माण गर्न सकेका छैनौं ।   

निर्माण र  दिगो निर्माण दुई फरक विषय भएको सम्बन्धित विज्ञहरूको भनाइ छ । ‘निर्माण र दिगो निर्माणमा केही फरक पक्कै छ,’ शिवम् सिमेन्टका निखिल अग्रवाल भन्छन्, ‘निर्माण गर्दैमा दिगो हुन्छ भन्ने छैन ।’ उनको भनाइ छ– निर्माण भनेको काम चलाउनको लागि मात्र हो । यस्तो निर्माण जुनसुकै बेलामा पनि भत्कन सक्छ । त्यसका उदाहरण हाम्रा अगाडि नै छन् । भत्केका लाखौं घर बनाउँदा दिगो निर्माणालाई ध्यान दिएको भए अहिले यस्तो नहुन सक्थ्यो ।

‘हामीले निर्माण र दिगो निर्माणको फरक छुट्याएर काम गर्नुपर्छ,’ अग्रवाल भन्छन्, ‘निर्माणमात्र गर्ने कि दिगो पनि बनाउने भन्ने विषय जोडिएर आउँछ ।’ उनका अनुसार बलिया संरचना, जसलाई भूकम्प जस्ता प्रकृतिक प्रकोपले भत्काउन नसकून, नै दिगो निर्माण हुन् ।
त्यसो भए दिगो निर्माणको लागि के चाहिन्छ वा के गर्नुपर्छ त ?

दिगो निर्माणको लागि एउटै उपाय छ– बलियो बनाउने । ‘दिगो निर्माणको लागि गुणस्तरीय निर्माण सामग्री चाहिन्छ,’ एड्भान्स सिमेन्टका दिपक घिमिरे भन्छन्, ‘सामग्री मात्र गुणस्तरीय भएर हुँदैन । डिजाइन, जमिन, जनशक्ति पनि गुणस्तरीय नै हुनुपर्छ ।’ निर्माण गर्न चाहिने सिमेन्ट, स्टिल, बालुवा, ढुंगा, गिट्टी गुणस्तरीय हुदैमा संरचना बलियो हुन्छ भन्ने छैन ।

महत्वपूर्ण कुरा यी सबै निर्माण तत्वलाई कसरी मिश्रण गर्ने भन्नेमा भर पर्छ । ‘दिगो निर्माणको लागि मापदण्डभित्र रहेर निर्माण सामग्री कसरी प्रयोग गर्ने र कस्तो डिजाइन गर्ने भन्ने महत्वपूर्ण कुरा हो,’ युनाइटेड सिमेन्टका कन्ट्री हेड, सेल्स एन्ड मार्केटिङ, जस श्रेष्ठ भन्छन्, ‘दक्ष जनशक्ति वा इन्जिनियरले राम्रो डिजाइनमा घर बनाइदिएन भने निर्माण सामग्री जति बलियो भए पनि संरचना बलियो हुन सक्दैन ।’

घर वा अन्य संरचना बनाउनको लागि आवश्यक पर्ने तत्वहरू भनेका निर्माण सामग्री, डिजाइन वा नक्सा, दक्ष जनशक्ति उपयुक्त जमिन लगायत हुन् । ती तत्वहरूको उपयुक्त समिश्रण हुने हो भने दिगो निर्माण हुन सक्ने व्यवसायी बताउँछन् । देशमा उपलब्ध निर्माण सामग्रीहरू उपयुक्त र गुणस्तरीय नै भएको व्यवसायीको भनाइ छ ।

‘सस्तो वा महँगो कस्तो राख्ने त्यो उपभोक्ताको रोजाइ हो,’ अग्रवाल भन्छन्, ‘तर देशभित्र रहेका निर्माण सामग्री गुणस्तरीय नै छन् ।’ सिमेन्ट व्यवसायीका अनुसार नेपालमा उत्पादन हुने सिमेन्ट विश्व स्तरका छन् । ग्रेड लेख्न नपाए पनि ओपिसी, पिपिसी जस्ता सिमेन्टबाट बलियो संरचना बनाउन सकिन्छ ।

त्यस्तै, पुनर्निर्माणमा आवश्यक छड उत्पादन गर्न नेपाली उद्योग सक्षम रहेको व्यवसायीको भनाइ छ । बजार मागको आधारमा नेपाली उद्योगले रड दिन सक्ने नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका अध्यक्ष धु्रबकुमार श्रेष्ठले बताए । देशभित्र झन्डै १६ स्टिल उद्योगहरू रहेका छन् । वार्षिक करिब १६ लाख टन रड उत्पादन गर्ने यी उद्योगका उत्पादन गुणस्तरीय भएको व्यवसायी मात्र होइन उपभोक्ता समेत बताउँछन् । भूकम्पपछि माग उच्च भएर केही रड भारतबाट आयात भए पनि सामान्य अवस्थामा स्वदेशीले नै बजार माग सजिलै धानेको छ ।  
त्यस्तै, बालुवा, गिट्टी, ढुंगा, रोडा जस्ता निर्माण सामग्रीले पनि दिगो निर्माणलाई असर गरिरहेको हुन्छ । देशभित्र उपलब्ध हुने यी सामग्री पनि गुणस्तरीय रहेको व्यवसायीले बताए ।

‘अब हामीले घर बनाउँदा भूकम्प प्रतिरोधात्मक हुने डिजाइन बनाउन आवश्यक छ,’ घिमिरे भन्छन्, ‘निर्माण सामग्रीमा मात्र ध्यान दिँदा अन्य पक्ष कमजोर हुन सक्छन् ।’ दक्ष इन्जिनियरबाट उपयुक्त डिजाइन, नक्सा नबनाउने हो भने कुनै पनि संरचना दिगो नहुने उनको भनाइ छ । इन्जिनियरले घरको डिजाइन, नक्सा, घर निर्माण हुने जमिन र अन्य दक्ष जनशक्तिलाई ख्याल गर्नुपर्ने व्यवसायीले बताए ।
यसको लागि सबैभन्दा पहिला हरेक व्यक्तिमा चेतना आउन आवश्यक छ । ‘घर कस्तो बनाउने भन्नेमा आफैंले सोच्नुपर्छ,’ घिमिरेले भने, ‘उपभोक्तामा यस विषयमा जब ज्ञान हुन्छ त्यसपछि मात्र दिगो निर्माण हुन सक्छ ।’

व्यक्तिगत जागरुकताले व्यक्तिका घर बलिया बन्छन् भने सरकार चनाखो भयो भने देशको निर्माण नै बलियो हुन्छ । बाटो, पुल, सार्वजनिक भवनको दिगो निर्माणमा सरकार नै लाग्नुपर्ने व्यवसायीको भनाइ छ । उपयुक्त मापदण्ड बनाएर सरकारले यसको नेतृत्व गर्न उनीहरुले आग्रह गरे ।

 

प्रकाशित: २६ श्रावण २०७३ ०६:२० बुधबार

निर्माण गर्ने कि दिगो निर्माण