अर्थ

‘हल्लाको पछि नलाग्नुस्’

काठमाडौं- सेयर बजारमा अनावश्यक हल्ला फिँजाइएकाले ‘अस्वाभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै वक्ताहरुले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारणहरु गौण रहेको बताए ।

कार्यक्रममा बोल्दै विश्लेषक गोपाल भट्टले सेयर बजार अहिले वास्तविकतामा भन्दा ज्यादा हल्लाको भरमा चलिरहेको बताए । उनले सेयर बजार एकदमै संवेदनशील हुने भएकाले स–साना कुराले प्रभाव पारिरहेको उल्लेख गरे । त्यसैले बजार घट्नु वा बढ्नुमा यसको र उसको हात भनेर आरोप–प्रत्यारोप गर्नु उचित नहुने उनको भनाइ थियो । ‘लगानीकर्ताले पनि अरुलाई दोष लगाएर पन्छिन मिल्दैन ।’ उनले भने, ‘हल्लाको भरमा लगानी गर्ने र निकाल्ने आफ्नो प्रवित्ति चाहिँ कति परिपक्व छ भनेर आत्ममूल्यांकन गर्नु जरुरी छ ।’ बजार घटबढ भएका बेला भाग्दा र बढेका बेला आउँदा लगानीकर्ताको अपरिपक्वता हुने उनको टिप्पणी थियो ।

कार्यक्रममा बोल्दै ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेयर बजारको गिरावटमा आफूहरुको कुनै भूमिका नरहेको दाबी गरे । हल्लासँगै बजार नियमन गर्ने नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण बजार अस्वाभाविक रुपले ओरालिएको उनले टिप्पणी गरे । ब्रोकरको कमिसन घट्नुलाई आफूहरुले त्यति धेरै अप्ठेरो रुपले नलिए पनि काम गर्नका लागि सान्दर्भिक र उपयुक्त प्रविधिको विकास नहुँदा समस्या रहेको उनले सुनाए । ‘हामीले हाम्रो कार्यक्षेत्र अलि विस्तार होस् भनेर मागिरहेको छौं,’ उनले भने, ‘हामीलाई दोष लगाएर मात्र समस्याको समाधान हुँदैन ।’

लगानीकर्ता फोरमका सदस्य राजन लम्सालले धितोपत्र बोर्ड नियमनकारी निकाय हो वा सल्लाहकार भनेर छुट्ट्ययाउन मुस्किल परेको बताए । नियमन गर्ने निकायले पत्रपत्रिकामा लेख लेखरै लगानीकर्तालाई लगानी गर्न सल्लाह दिनु आपत्तिजनक रहेको उनले बताए । केही दिनअघि धितोपत्र बोर्डका अध्यक्ष एक दैनिक पत्रिकामा साना तथा नयाँ लगानीकर्ता चेपुवामा परे भनेर एउटा लेख लेखेका थिए । लम्सालले धितोपत्र बोर्डले आगामी दिनमा त्यस्ता गल्ती दोहो¥याउन नहुने सुझाव समेत दिए । ‘सोमबार हामीले एक चरणको छलफल धितोपत्र बोर्डसँग गरिसक्यौँ ।’ लम्सालले भने ‘अब फेरि यस्तै प्रकृतिको गल्ती नदाहोरियोस्, हामीले यही सुझाव दिएका छौं ।’

नवगठित लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बजारमा उतारचढाव आइरहने भए पनि सोमबारको गिरावट अस्वाभाविक र सुनियोजित रहेको टिप्पणी गरे । ‘सेयर बजार एकै बिन्दुमा कहिले रहँदैन यो सत्य हो,’ उनले भने ‘तर सोमबारको गिरावटले हामीलाई तर्सायो, यो कुनै योजनापछि आएको गिरावट भन्ने हामीलाई सोच्न बाध्य बनायो ।’ यद्यपि आगामी दिनमा यस्ता कुराप्रति सचेत रहन सबैले ध्यान दिनुपर्ने उनले बताए ।

लगानीकर्ता फोरमका कार्यकारी सदस्य एवं मेगा बैंकका सञ्चालक दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको भूमिका अस्पष्ट र पक्षपाती रहेको टिप्पणी गरे । उनले ब्रोकरहरुले भूमिकामाथि पनि प्रश्न उठाए । ‘धितोपत्र बोर्डले लेख लेखेर लगानीकर्ता भड्काउने, ब्रोकरले आफ्नो दायरा नाघेर गतिविधि गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’ अग्रवालले भने, ‘हामी लगानीकर्तासहित सबैले सिस्टममा चल्नुपर्छ ।’

अघिल्लो सातादेखि ओरालो लागेको सेयर बजारमा यो साताको सुरुबाटै गिरावट आएको थियो । सोमबार त सर्किट ब्रेक भएरै कारोबार स्थगित भएको थियो । सेयर बजार निरन्तर ओरालो लागेपछि धितोपत्र बोर्डले सेयर बजारमा कालो धनको कारोबार भइरहेको भन्दै समिति गठन गरेपछि ओरालो लागेको सेयर बजार सोमबार राति सो समिति खारेज गरेपछि मंगलबारबाट हरियो भएको छ ।

प्रकाशित: २६ श्रावण २०७३ ०४:२९ बुधबार

हल्लाको नलाग्नुस्