अर्थ

डलर खर्च सुविधा थपियो

काठमाडौं- विदेशी मुद्रामा खाता खोल्ने नेपालीले वर्षभरिमा १५ हजार अमेरिकी डलरसम्म खर्च गर्न पाउने भएका छन्। यसअघि वार्षिक १० हजार डलरमात्रै खर्च गर्न पाउने व्यवस्था थियो। उक्त व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले थप सुविधा दिने निर्णय गरेको हो।

यसअघिको सुविधा बढाइएको नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए। 'सर्वसाधारणबाट सुविधा थपको माग भएकाले डलर खर्चको सीमा बढाइएको हो,' उनले भने, 'विदशी मुद्राको खाता हुनेले वर्षमा १५ हजार डलर बराबरको विदेशी वस्तु खरिद गर्न वा सेवा प्रयोग गर्न पाउने छन्।'

यसअघिको सेवामा ५० प्रतिशत सुविधा राष्ट्र बैंकले थप गरेको छ। '१० हजार डलरको सीमा बढाएर १५ हजार पुर्‍याइएको छ,' ढुंगानाले भने।

विदेशी मुद्रा आर्जन गर्ने नेपालीलाई बैंकमा खाता खोलेर विदेशी मुद्रा जम्मा गर्न प्रोत्साहन मिलोस भनेर यस्तो व्यवस्था गरिएको ढुंगानाले बताए।

'विदेशी मुद्रा आर्जन गर्ने नेपालीले विदेशी मुद्रामै खाता खोलेर नेपालका बैंकमा रकम जम्मा गरेको अवस्थामा यस्तो सुविधा पाइने हो, यसले विदेशी मु›ाको बचतलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छौं,' उनले भने।

यस्तो सुविधा पासपोर्ट एक्सचेन्ज सुविधा बाहेकको हो। प्रत्येक नेपालीले विदेश जानुपर्ने अवस्थामा भिसा लागेको पासपोर्टको आधारमा २ हजार ५ सय अमेरिकी डलर खर्च गर्ने सुविधा पाउँछ।

प्रकाशित: २४ श्रावण २०७३ ०६:०७ सोमबार

डलर खर्च सुविधा थपियो