अर्थ

भौतिक पूर्वधार निर्माणका लागि जग्गा अभाव

इटहरी– पूर्वकै मुख्य शहरमा इटहरी स्वास्थ्य क्षेत्रलाई हेर्दा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक अन्य सरकारी सेवा उपलब्ध छैन । केही सीमित निजी अस्पताल भए पनि प्रभावकारी सेवा छैन। बिरामीले धरान वा विराटनगर जानुपर्ने बाध्यता छ । यसका लागि इटहरीमा व्यवस्थित सिटी हस्पिटल निर्माण गर्न सरकारले बजेट छुट्याएर ५० लाखभन्दा बढी पैसा निकासा भएको छ। तर, दाताले दिएको जग्गा उपयुक्त नहुँदा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन।

इटहरी वडा नं. ४ का रघु गिरी, घनश्याम गिरीलगायतको परिवारले संयुक्त रुपमा सिटी हस्पिटल निर्माण गर्नका लागि १० कट्ठाभन्दा बढी जग्गा दिएका छन् । जग्गा बुढीखोला नजिक परेकाले गर्दा मापदण्ड विपरीत हस्पिटल निर्माण गर्न उपयुक्त नहुने ठहर गदैं उपमहानगरपालिकाले काम थालेका छैन्। ‘पैसा त निकासा भएको छ तर जग्गा नै खोला नजिक पर्ने हुँदा निर्माण हुन नसकेको हो,’ कार्यकारी अधिकृत महेषराज तिम्सिनाले भने।

हस्पिटलसँगै जनसङ्ख्या वृद्धिले गर्दा इटहरीमा सुरक्षा चुनौती थपिँदै गएपछि छुटैं इलाका प्रहरी कार्यालय निर्माण गर्न जुट अनुसन्धान केन्द्रको सरकारी जग्गा उपलब्ध गराउन यहाँका राजनीतिक दलसँगै सामाजिक संस्थाका अगुवाले सरकारको ध्यानाकर्षण पटक पटक गराई सके। तर, अहिलेसम्म जग्गाको टुंगो लागेको छैन।

इलाका प्रहरी कार्यालय निर्माण गर्नका लागि प्रहरी प्रधान कार्यालयले दुई वर्षअघि दुई करोडभन्दा बढी बजेट छुट्याए पनि जग्गा खरीद गर्न सहमति नजुटेपछि बजेट फ्रिज हुन पुगेको थियो।  प्रहरी कार्यालयका लागि कम्तिमा एक विघा जमिन आवश्यक पर्नेछ।

अहिले इटहरीमा रहेको सरकारी स्वामित्वको जुट अनुसन्धानको जग्गामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय निर्माणधीन छ। जुट अनुसन्धान केन्द्रकै जग्गामा रंगशालासमेत निर्माण भइसकेको छ। नेपाल टेलिभिजनले इटहरीमै शाखा खोल्न भवन निर्माणधीन अवस्थामा छ। गोरखापत्र संस्थानले पनि पूर्वबाट पनि प्रकाशन थाल्न इटहरीमा जग्गा खोजी गरेपनि त्यसको प्रक्रिया अगाडि बढ्न सकेन्। इटहरीमै रहेको कोशी अञ्चल यातायात कार्यालयले भवन निर्माण गर्न सरकारी जग्गा खोजी गरिरहेको छ।

यसरी इटहरीमा भौतिक पूर्वधार निर्माण गर्न जग्गा खोजी गर्ने बग्रेल्ती छन् । इटहरीमा सवैभन्दा बढी देखिएको अहिले सरकारी स्वामीत्वको जुट अनुसन्धान र पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको जग्गा रहेको  छ।

पूर्वको मुख्य केन्द्र इटहरीमा सरकारी–गैरसरकारीसँगै अन्य सामाजिक संस्थाको कार्यालय इटहरीमा स्थापना गरेर क्रम पनि बढ्दो  छ। कार्यालयका लागि सरकारी जग्गालाई प्रयोग गरेर भवन निर्माण गर्न खोजिएपनि जग्गा अभावमा काम अघि बढ्न सकेको छैन् ।
यस्तो बेला इटहरी उपमहानगरपालिकाले ९ सय ९५ विघा ६ कट्ठा सवा १ धुर ऐलानी–पर्ति जग्गा फेला परेको छ । यो जग्गालाई सही ढंगले प्रयोग गरेर भौतिक पूर्वधार निर्माण गर्दा इटहरीको भविष्य आशलाग्दो हुनेछ ।

इटहरी उपमहानगरपालिकाले इन्जिनियर बिकास भट्टराईको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर ऐलानी–पर्ति जग्गा खोजी गरेकोमा २६ वटा वडामध्ये वडा नं. ९ को कुनै अभिलेख नभेटिएकाले गर्दा अरु थप जग्गा पत्ता लाग्ने जानकारी दिइयो । वडा नं. ७ र ८ मा पनि थोरै जग्गा भेटिएकाले गर्दा अरु थप जग्गा भेटिन सकिने ऐलानी–पर्ति जग्गा खोजविन समितिका सदस्य सचिब गायत्री लम्सालले बताए ।

इटहरीमा रहेको ऐलानी–पर्ति जग्गा दुरुपयोग भएको व्यापक जनगुनासोका आधारमा उपमहानगरपालिकाले जग्गा खोजविन गर्न समिति बनाएको थियो । ‘जग्गा खोजविन गर्न समितिलाई १५ दिनको समय सीमा तोकिएकाले खोजी सुक्ष्म ढंगले गर्न सकिएन, तर इटहरीमा अझै थुप्रै जग्गा भेटिने निश्चित छ,’ लम्सालले भने । इटहरीमा भेटिएको ऐलानी–पर्ति जग्गालाई उपयोग गरि शहरीकरणका लागि जे जे आवश्यक पर्छ, त्यही पूर्वधार निर्माण गर्ने सकिनेछ ।

जग्गा खोजविन समितिले भेटिएको जग्गा नापी कार्यालयबाट फिल्डबुक एवं जमीनको जग्गा भिडाएर नाप जाँच गरि अद्यावधिक गर्न र व्यक्तिले भोगचलान गरेको सार्वजनिक जग्गा उपमहानगरपालिकाले खाली गर्नुपर्ने सुल्झाएको  छ। समितिले भेटिएको ऐलानी–पर्तिको जग्गाको संरक्षणका लागि घेराबेरा गर्नुपर्ने पनि सुल्झाएको छ।

 

प्रकाशित: २१ श्रावण २०७३ १२:०९ शुक्रबार

भौतिक पूर्वधार निर्माणका लागि जग्गा अभाव