अर्थ

हिमालयन बैंकको तीसौं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन बैंकको ३० औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो।  

सभाबाट सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैंक तथा सभाका अध्यक्ष श्रेष्ठले साधारणसभा समक्ष प्रस्तुत प्रतिवेदन छलफल गरी अनुमोदनका लागि प्रस्तुत गरेका थिए।  

यस्तै सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदनसहित सोही आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयरले हुने जम्मा १.०३ अर्ब रूपैयाँ तथा ११.११ प्रतिशत नगद लाभांशले (कर सहित) हुने जम्मा १.४४ अर्ब रूपैयाँ गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ।  

यसका साथै सभाले बिजयबहादुर श्रेष्ठलाई निर्विरोध रूपमा सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाचित गरेको छ। सो साधारण सभाबाट हिमालयन बैंकले सिभिल बैंकलाई १०० कित्ता बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता शेयर हुने सेयरधनीहरूले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) कित्ता सेयर पाउने प्रस्ताव लगायतका अन्य प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

साथै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात ‘हिमालयन बैंक लिमिटेड’ को नाममा एकीकृत कारोबार गर्ने भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल अधिकृत पुँजी २६ अर्ब रूपैयाँ हुने र जारी तथा चुक्ता पुँजी २१.६५ अर्ब रूपैयाँ भन्दा बढी हुने बैंकले जनाएको छ।  

यस प्राप्तिले नेपाल राष्ट्र बंैकको मर्जर तथा प्राप्ति सम्बन्धी नीतिलाई आत्मसात गर्दै बंैकिङ लगायत राष्ट्रको वित्तीय विकासमासमेत योगदान पुर्‍याउनेछ भन्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २९ पुस २०७९ ०२:५१ शुक्रबार

हिमालयन बैंक