अर्थ

नेप्से घट्ने क्रम रोकिएन, साेमबार १७ अंकले घट्याे

काठमाडौं– धितोपत्र बजारमा सेयर ओरालो लाग्ने क्रम साेमबार पनि रोकिएन।

आइतबार १५.१७ बिन्दुले घटेको नेप्से परिसूचक साेमबार पुनः १७.३५ बिन्दुले घटेर एक हजार ८४५ बिन्दुमा कायम भएको छ। आइतबार रु एक अर्ब ७५ करोड ५० लाख ७४ हजार बराबरको कारोबार भएकामा आज रु एक अर्ब ४९ करोड ६३ लाख ९० हजार मूल्य बराबरको कारोबार भएको छ ।

कुल १४० कम्पनीको ५१ लाख नौ हजार ११८ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । होटल समूहबाहेक अरु सबै समूहको सेयर कारोबारमा कमी आएको छ । होटल समूह १.७८ प्रतिशतले बढेको छ । बैंकिङ ०.९४, विकास बैंक १.६६, जलविद्युत् ०.९३, फाइनान्स ०.१६, बिमा ०.७, उत्पादन १.६ र अन्य समूह ०.८ प्रतिशतले कमी आएको स्टकले जनाएको छ ।

बजार खुल्नेबित्तिकै केही समय उचाइ लिएको नेप्से परिसूचक अपराह्न १ बजे घटेर एक हजार ८३२ बिन्दुमा झरेको थियो । रासस

प्रकाशित: १७ श्रावण २०७३ ११:४६ सोमबार

नेप्से घट्ने क्रम रोकिएन साेमबार १७ अंकले घट्याे