अर्थ

निःशुल्क भिसाले बढेनन् चिनियाँ

पोखरा- सरकारले बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल भिœयाउन भिसा शुल्क मिनाहा गरे पनि आगमन बढ्न सकेको छैन। सिजनका बेलामा पनि चिनियाँ पर्यटक नेपाल नआएको पर्यटन व्यवसायीको भनाइ छ। भिसा शुल्क मिनाहाले चिनियाँको आगमनमा उत्साह नथपेको व्यवसायी बताउँछन्।

सरकारले गत जनवरीदेखि लागू हुने गरी नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई लाग्ने भिसा शुल्क मिनाहा घोषणा गरेको थियो। तर, यो नियम लागू भएको लामो समय बितिसक्दा पनि चिनियाँको आगमनमा सुधार आएको छैन। पर्यटन व्यवसायीले भिसा शुल्क मिनाहाले मात्र चिनियाँ पर्यटक नभित्रिने बताए।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले भिसा शुल्क मिनाहाले मात्र चिनियाँ पर्यटकको आगमन बढ्न नसक्ने बताउँछन्। 'बाहिरबाट हेर्दा यो निकै राम्रो देखिन्छ। तर, यो नै उत्तम विकल्प हुन सक्दैन। चिनियाँका लागि बाटोको समस्या छ,' उनले भने, 'स्थलमार्गबाट धेरै आउने चिनियाँले अहिले नेपाल भित्रिने बाटो पाएका छैनन्। हवाई सेवा सोचेजस्तो सहज छैन। हवाई सेवा र स्थलमार्गमा जतिसक्दो छिटो सुधार ल्याउनैपर्छ।'

पराजुलीका अनुसार सबैभन्दा बढी चिनियाँ पर्यटक तातोपानी नाका भएर नेपाल भित्रिन्थे। भूकम्पका कारण तातोपानी नाका क्षतविक्षत छ। अहिले बाढीले झनै अप्ठेरो बनाएकाले बाटो सहज नहुँदासम्म चिनियाँको आगमन सुधार नआउने उनले बताए। 'तातोपानी नाकामा अवरोध आउनु चिनियाँका लागि निकै दुखद भयो। अधिक चिनियाँ स्थलमार्गबाट आउँथे। मूल नाका नै बन्द भएपछि पर्यटक अप्ठेरोमा परेका छन्,' पराजुलीले भने, 'हवाई सेवा नियमित छैन। अधिक महँगो भाडा पर्ने भएकाले हवाईमार्ग पनि उपयुक्त छैन।'

पराजुलीका अनुसार भूकम्पअघि तातोपानी नाका हुँदै एकै दिनमा १४ सयजनासम्म चिनियाँ पर्यटक नेपाल भित्रिएको रेकर्ड छ। त्यो संख्या जुरेमा आएको पहिरोले केही घटाएको र भूकम्पपछि शून्यमा झरेको उनले बताए। 'दिनमा १४ सय चिनियाँ नेपाल भित्रिँदा पर्यटक अभाव भएको थिएन। जब प्रवेश मार्गमा पहिरो झर्‍यो, त्यसले केही घटायो। भूकम्पले बाटो भत्किएपछि त शून्यमै झर्‍यो,' उनले भने, 'अहिले पहिरोले बाटो बगाएको छ। तातोपानी नाका तत्काल खुल्ने छाँटकाँट छैन।'

उनका अनुसार नेपाल आउने चिनियाँमध्ये बढीमा १५ प्रतिशतले मात्र हवाई मार्ग प्रयोग गर्ने गर्थे। अधिक पर्यटक स्थलमार्गबाट आउँछन्। 'नाका सहज नभएसम्म भिसा शुल्क मिनाहा प्रभावकारी हुने देखिन्न,' उनले भने, 'जुन दिनबाट तातोपानी नाका सहज हुन्छ, त्यो दिनदेखि बल्ल चिनियाँ पर्यटक बढ्न सक्छन्।'

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष दील गौतमले पनि काठमाडौंसम्म सिधा पहुँचको अभाव रहेको बताए। उनका अनुसार अहिले काठमाडौंबाट चीनको छेन्दु, ल्हासा र कुनमिङ जोड्न हवाई सेवा मात्र छ। बेइजिङ, सांघाईबाट आउन चाहने पर्यटक यिनै तीन (छेन्दु, ल्हासा र कुनमिङ) मध्ये कुनै एक सहर आएरमात्र काठमाडौं आउन सक्छन्। त्यसबाहेक बैंकक, दिल्ली भएर पनि आउन सकिन्छ। 'अहिलेको हवाई उडान उति सहज छैन। हवाई मार्ग भएर आउँदा धेरैतिर घुम्नुपर्ने हुँदा चिनियाँको रोजाइ तातोपानी नाकाबाट नेपाल भित्रिन पर्थ्यो,' गौतमले भने, 'तर मुख्य नाका नै नखुलेपछि भिसा शुल्क मिनाहाले उत्ति प्रभाव पारेको छैन।'

चिनियाँ पर्यटकका लागि फेब्रुअरी मुख्य हो। त्यपछि जुलाई र अगस्टलाई पनि पोखरेली व्यवसायीले चिनियाँ भित्रिने सिजन मान्दै आएका छन्। पर्यटन क्षेत्रमा अफ–सिजन भए पनि चिनियाँका लागि यो बेला सिजन मानिन्छ। चिनियाँ आगमनले पर्यटन व्यवसायीलाई केही वर्षअघिसम्म यो बेला राहत मिलेको थियो। तर, अहिले आगमन निकै कम रहेको व्यवसायीको भनाइ छ। 'यो बेला चिनियाँ पर्यटक देख्न समेत मुस्किल छ। फाट्टफुट्ट आगमनले पर्यटन क्षेत्रमा उतारचढाव ल्याउने अवस्था छैन,' गौतमले भने।

पोखराको अल्ट्रालाइट र प्याराग्लाइडिङ उडानमा चिनियाँ पर्यटकले निकै राहत दिलाएका थिए। चिनियाँको आगमन बढ्न थालेपछि प्याराग्लाइडिङमा लगानी समेत बढेको थियो। व्यवसायीका अनुसार पोखरा आएका मध्ये करिब ९० प्रतिशत चिनियाँ यहाँको आकाशमा प्याराग्लाइडिङ वा अल्ट्रालाइटबाट रमाउन चाहन्थे। अहिले अल्ट्रालाइटलाई समेत पाहुनाको अभाव रहेको एभिया क्लवका म्यानेजर रिजन रिजालले बताए। 'भिसा निःशुल्क भए पनि चिनियाँको आगमन सोचेजस्तो बढेको छैन। भिसा शुल्क तिर्न नपरेरै पर्यटक बढ्ने होइन, थोरै राहत मिले पनि त्यो नै आगमन बढाउने कारक नहुन सक्छ,' रिजालले भने, 'आगमनमा सुधार ल्याउने हो भने पहुँचमा सुधार ल्याउनुपर्छ।'

व्यवसायीका अनुसार फेब्रुअरीमा पोखराका होटलको करिब ५० प्रतिशत अकुपेन्सीमा चिनियाँ पर्यटकको हिस्सा रहन्थ्यो। त्यस्तै जुलाईबाट आगमन बढ्दा अगष्टको अकुपेन्सी पनि फेबु्रअरीकै हाराहारीमा पुग्थ्यो। 'पोखराको पर्यटन क्षेत्रमा चिनियाँको आगमनले निकै राहत दिएको थियो। पोखराका पर्यटन क्षेत्रमा करिब ५० प्रतिशत अकुपेन्सी चिनियाँले ओगटन थालेका थिए। तर अहिले सुनसान छ,' पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटाले भने, 'चिनियाँ नआउँदा व्यवसाय सुनसान छ।' उनले पनि चिनियाँका लागि पहुँच सहज नहुँदा आगमन बढाउन नसकिएको बताए।

उनका अनुसार नेेपाल आएका चिनियाँ पर्यटकमध्ये करिब ८० प्रतिशत पोखरा आउँछन्। बोर्डका अनुसार सन् २०१४ मा नेपालमा करिब एक लाख २५ हजार चिनियाँ पर्यटक भित्रिएका थिए। यो संख्या सन् २००३ मा जम्मा ७५ सय थियो। बोर्डका अनुसार सन् २०१४ मा नेपाल भित्रिएका करिब आठ लाख विदेशी पर्यटकमध्ये १६ प्रतिशत हिस्सा चिनियाँले ओगटेका थिए।

प्रकाशित: १७ श्रावण २०७३ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App