अर्थ

नेप्से उतारचढावपूर्ण, ७ अर्बको कारोबार

साताको तेस्रो दिन मंगलबार नेप्सेपरिसूचक निकै उतारचढाव हुँदै अन्तिम समयमा आएर २१.३४ अंकले घटेर कारोबार बन्द भएको छ। नेप्सेपरिसूचक मंगलबार निकै उतारचढावपूर्ण रह्यो। सुरुको चरणमा वृद्धि भएको नेप्सेपरिसूचक १२ बजेर ३६ मिनेट जाँदा २२७६.१४ बिन्दुसम्म पुगेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिने घोषणा गरेसँगै सेयर बजारमा गिरावट आएको हो। मंगलबार सेयर कारोबार बन्द हुने बेला नेप्सेपरिसूचक २१.३४ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेको छ।

नेप्सेपरिसूचक घटे पनि सेयर कारोबार भने एक वर्ष यताकै उच्च कारोबार भएको हो। २ करोड ८ लाख ४३ हजार ९ सय ५३ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६५ करोड ८८ लाख २३ हजार ५ सय ७९ रूपैयाँको कारोबार भएको छ। मंगलबार ५३ कम्पनीको सेयर बढ्यो भने १५१ कम्पनीको सेयर घटेको छ । त्यसैगरी पाँच कम्पनीका सेयर स्थिर रहे।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीन वटै सूचक घटेका छन्। सेन्सेटिभ सूचक ०.७७ अंक, फ्लोट परिसूचक १.३२ अंकले घटेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट पनि ०.१८ अंकले घटेको छ।

नेप्सेका १३ वटै उपसूचकमध्ये मंगलबार दुई वटा उपसूचक मात्रै बढेका छन्। बढ्ने उपसूचकमा बैंकिङतर्फ ९.१९ अंक, म्युचुअल फण्डतर्फ ०.०३ अंक बढेको छ। मंगलबार निर्जीवन बिमातर्फ २७८.३२ अंक, जीवनबिमातर्फ २४३.०९ अंक, होटल तथा पर्यटनतर्फ ११५.८९ अंकले घटेको थियो।

मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा बाराही हाइड्रोपावर कम्पनीको सेयर ९.९९ प्रतिशत, सिँगटी हाइड्रो इनर्जी कम्पनीको सेयर ८.४५ अंकले बढेको थियो।

त्यस्तैगरी सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा तारागाउँ रिजेन्सी होटलको सेयर ८.७४ अंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर ७.४७ अंकले घटेको छ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७६ बिन्दुमा पुगेको थियो। सो दिन एक करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४३ लाख ७ हजार ८ सय ५३ रूपैयाँको सेयर कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार एक करोड ४१ लाख ९ सय ८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रूपैयाँको सेयर कारोबार भएको थियो। 

प्रकाशित: २७ पुस २०७९ ०६:०७ बुधबार

नेप्सेपरिसूचक निकै उतारचढाव नेप्से उतारचढावपूर्ण ७ अर्बको कारोबार