अर्थ

प्रेमबहादुरको संघर्षः ‘छ दशकदेखि घुम्ती गोठमा गाईभैंसी पालन’

धवलागिरि गाउँपालिका-४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे। उमेरले बुढ्यौली लागे पनि उनको दिनचर्या भने घुम्ती गोठमै बित्ने गरेको छ। पुर्ख्यौली रूपमा गरिंदै आएको घुम्ती गोठ राखेर गाईभैंसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन्।

छ छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन्। हिउँदमा बेंसीका फाँटमा झरेका गाईभैंसीका गोठलाई घर्तीमगर दम्पतीले बर्खा याममा लेकका बुकीसम्मै पुर्‍याउने गर्छन्। घर्तीमगरको दम्पतीले यसरी गोठमै करिब छ दशक समय बिताइसकेका छन्।

उनीहरूको गोठमा अहिले ३२ भैंसी र २२ वटा गाई छन्। गोठमा रहेका गाईभैंसीमध्ये १२ वटा भैंसी र सात वटा गाई दुहुना छन्। गाईभैंसीको दूधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भए पनि गाईभैंसी नै बिक्री भने कम हुने गरेको प्रेमबहादुर बताउँछन्। गाईभैंसीको घिउ प्रतिमाना एक हजार २०० रुपैयाँमा बिक्री हुने गरेको छ।

‘भूगोल टाढा छ, अनकन्टार जंगल, भिर, पहाडसम्मै पुगेर गोठ राख्छौं, यहाँ गाईभैंसी नै किन्न आउनेको संख्या कम छ, थोरै मात्रामा राँगा र खेतबारी जोत्ने उद्देश्यले बहर गोरु बिक्री हुन्छन्, दुःख अनुसारको प्रतिफल नभए पनि हामीले गोठाला जीवनलाई निरन्तरता दिएका छौं, उनले भने।

घर्तीमगरको पुर्खाहरूले समेत गोठ राखेर नै पशुपालन गर्दै आएका थिए। बुवा दलप्रसादले समेत पुर्खाहरूले गर्दै आएको भेडासहित गाईभैंसीपालन गरेका कारण आफूले पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेमप्रसाद बताउँछन्।

प्रेमप्रसादका छ दाजुभाइमध्ये चार परिवारले गाईभैंसी र भेडापालन गरेका थिए। अधिकांशले अहिले पनि घुम्ती गोठ राखेर गाईभैंसीपालन गर्दै आएका छन्।

हिउँद याममा लेकबाट मुदी फाँटमा झरेको घुम्ती गोठमा अहिले उनकी दुई छोरीले घर्तीमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आएका छन्।

यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुंगा लगायतका ठाउँमा पुर्‍याउने गरिन्छ। भिर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तीमगर दम्पतीको दैनिकीमा उकाली-ओराली, अनकन्टार जंगलको बास, खोलानाला, बाढी, पहिरो, बर्खाको अविरल वर्षा र हिउँदको हिमपात जीवनमा दोहोरिरहने संघर्षका पाटाहरू हुन्।

छोराछोरीले गोठालो पेसा छाड्न अनुरोध गरे पनि उनीहरूको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन।

‘हामीले गोठमै जीवन फाल्यौं, छोराछोरी हुर्कायौं,पढायौं, कोही विदेशसम्म पुगेका छन्, बाबुबाजेले पनि गोठ राखेर जीवन बिताए, हामीले पनि चट्ट छोड्न सकेका छैनौं’, प्रेमबहादुरकी पत्नी इनदेवी घर्तीमगरले भनिन्।

‘मुदीको साहु’को नामले पारिवारिक विरासत बोकेका घर्तीमगरको परिवारले पुर्ख्यौली रूपमा गाईभैंसी र भेडापालनसँगै ठूलो मात्रामा खेतीबाली समेत गर्ने गर्थे। आफूहरू सानो छँदा बुवाआमाले एक सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर सम्झिछन्। अहिले पनि पशुपालनसँगै परम्परागत खेतीका रूपमा कोदो, मकै, जौ, गहुँ लगायत खेतीलाई उनको परिवारले निरन्तरता दिएका छन्।

अध्ययन र रोजगारको सिलसिलामा घर्तीमगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चीन पुगेका छन्। ठाइली छोरी जगदेवी स्वास्थ्यकर्मी र काइँली कमला शिक्षक छन्। जेठी, माइली र साइली छोरीले गोठमा बस्नुपरेका कारण अध्ययनको उचित अवसर नभएकाले बुवाआमाकै गोठाला पेसामा आफूलाई समाहित गरेका छन्। बुवाआमाले गोठ नछाडेकाले आफूहरू पनि उनीहरूकै दैनिकीमा लागेको साइली छोरी छानदेवी बताउँछिन्।

‘घरमा गोठ भएपछि हामी पनि स्कुल नगएर गोठमै भुल्यौं, पछि प्रौढ शिक्षामार्फत सामान्य लेखपढ मात्रैमा सीमित भयौं, अहिले बुवाआमासँगै गोठमै गाईभैंसीको स्याहार-सुसार र रेखदेख गर्छौ’, उनले भनिन्। गाईभैंसीलाई चरनले मात्रै नपुग्ने भएकाले हिउँद यामका लागि खर, सुकेको घाँस र रुखको डाले घाँसको समेत बन्दोबस्त गर्नुपर्ने छानदेवीको भनाइ छ।

तेह्र वर्षको उमेरदेखि नै गोठ बस्न थालेका घर्तीमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएकामा चिन्तित छन्। उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उनले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आशामा छन्।

‘पहिले यहाँका हरेक घरबाट गोठमा गाईभैंसी र भेडाबाख्रा पाल्न गोठाला बस्ने चलन थियो, पछिल्लो समय यो प्रचलन हराउँदै गएको छ। अहिले हामी केही हातमा गन्न मिल्ने मात्रै गोठाला छौं, कसैले गोठ राखेर गाईभैंसीपालन गर्न चाहेमा मैले बिक्री गर्ने योजना बनाएको छु’, घर्तीमगरले भने।

एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्ती रूपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ। घरबाट गोठसम्म खाद्यान्न लगायतका खर्चको भारी ल्याउन जानसमेत कठिन हुन थालेको उनको अनुभव छ। पुर्ख्यौली पशुपालनलाई व्यावसायीकरण बनाउन नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ। रासस

प्रकाशित: २६ पुस २०७९ ०६:३७ मंगलबार

छ दशकदेखि घुम्ती गोठमा गाईभैंसी पालन’