सोमबार दिउँसो एकाएक मोबाइलको फ्रिक्वेन्सी बन्द भएर उपभोक्ता सञ्चार सम्पर्कविहीन हुन पुगे।
नेपाल टेलिकमको प्राविधिक गडबडीका कारण उदयपुरलगायत पूर्वी नेपालका झण्डै २० जिल्लावासी उपभोक्ता सोमबार साढे ४ घण्टा सञ्चार सम्पर्कविहीन हुन पुगेका हुन्।
दिउँसो ३ः०० बजेदेखि एक्कासि सम्पर्क टुटेको सञ्चार पहुँच राति ७ः०० बजेपछि मात्र पुनर्स्थापित भएर सुचारु हुन पुगेको छ। ल्याण्डलाईन टेलिफोन, सिडिएमए, जिएसएम प्रिपेड र पोष्टपेड मोबाइल नचलेपछि हैरान भएका उपभोक्ता टेलिकमसँग अन्तरसम्बन्धित एनसेल मोबाइल पनि नचलेपछि थप हैरान भए।
मोबाइलमा पुरै टावर देखिने तर, डायल गर्दा कतै नलाग्ने भएपछि धेरैको मनमा ०५९ माघ १९ को झल्को आयो। उपभोक्ताहरू स्वीच्ड अफ गर्दै खोल्दै डायल गर्ने गरे तर, फोन चल्दै चलेन।
‘जिल्लाभित्र नलागेपछि बाहिर जिल्लाको नम्बरमा सम्पर्क गरे, त्यसमा पनि लागेन’ गाईघाटका उपभोक्ता रोशी गुप्ताले भने ‘मोबाइलमा मात्र नभएर ल्याण्डलाईन पनि लागेन। पटक पटक प्रयास गर्दा पनि नलागेपछि टेलिकममै खराबी आएको हो कि राजनीतिक गडबडी हुन लाग्यो भन्ने आशंका उब्ज्यो।’ ४/५ घण्टासम्म सञ्चार सम्पर्कविहीन हुँदा पुरै अन्धकार महसुस गरेका उपभोक्ताले ०५९ माघ सम्झनु अन्यथा पनि थिएन।
मोबाइल, ल्याण्डलाईन र एनसेल केही नचल्दा धेरैले ०५९ माघ १९ को झल्को महसुस गरेको गाईघाटका साईमन बिष्टले बताए। ०५९ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कु’ गर्नुअघि यसरी नै सञ्चार सम्पर्क विच्छेद भएको थियो। त्यस बेला मोबाइल र टेलिफोन र निजी कम्पनीका रेडियो एफएमलगायत सञ्चार संस्थाका फ्रिक्वेन्सी बन्द गरेर पूर्व राजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘असक्षम’ घोषित गर्दे अपदस्त गरेका थिए। उनले त्यसै दिन ‘सक्षम’ र ‘स्वच्छ छवि’ भएका व्यक्तिलाई प्रधानमन्त्री बन्न आव्हान गरेका थिए।
भर्खरै नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २६ गते विश्वासको मत लिनुभन्दा १८–२२ घण्टाअघि मात्र यसरी सञ्चार सम्पर्क विच्छेद हुनुले अहिलेको प्रविधिमैत्री जनमानसलाई त्यत्ति शंका लाग्नु अस्वाभाविक होइन। यही आशङ्काले धेरैमा खुल्दुली र हतासपन देखियो। चिया पसल र बजारमा शंका आशंकाका यस्तै चर्चा परिचर्चा भएको सुनियो।
तर, यो समस्या आउनुमा प्राविधिक गडबडी मुख्य कारण भएको नेपाल टेलिकमले प्रस्ट्याएको छ। २ नं. प्रदेशको सिराहा खण्डमा बिछ्याइएको अप्टिकल फाइबरमा खराबी आएकाले नेपालको पूर्वी भेग केही घण्टा सञ्चार सम्पर्कविहीन बन्न पुगेको टेलिकम प्राविधिक कृष्ण अधिकारीले बताए।
उनका अनुसार सिराहाको लाहा नभन्दा पश्चिम खण्डमा अप्टिकल फाइबर मा समस्या आउँदा १ नं. प्रदेशका १४ वटै जिल्ला र मधेस प्रदेशका आधा भूभागमा सञ्चार समस्या आएको हो। मल्टिफाईबर प्रणालीमा प्राविधिक समस्या आउँदा यस्तो कठिनाइ आई परेको हो।
यसलाई टेलिकमको प्राविधिक भाषामा ‘डेन्स् वेभ्लेन्थ डिभिजन मल्टिप्लेक्सिङ (डिडब्लुडिएम)’ प्रणालीमा खराबी आएको उनले बताए। समस्या आउने बित्तिकै प्राविधिक टोली खटाएर तत्काल मर्मत गर्दा साढे ४ घण्टापछि सञ्चार सम्पर्क पुनर्स्थापित हुन सफल भएको अधिकारीले बताए।
प्रकाशित: २५ पुस २०७९ १६:११ सोमबार