अर्थ

पश्चिम चितवनमा सिँचाइ पुगेपछि किसान उत्साहित

भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरस्थित विक्रम बाबा टोलकी लक्ष्मी श्रेष्ठलाई सिँचाइ नहुँदा खेतीपाती गर्न निकै कठिन हुन्थ्यो। २ बिगाहा जमिनमा सधैं आकाशे पानीकै भरमा खेती गनुपर्ने बाध्यता थियो। आजभोलि भने खेतमा सिँचाइ सुविधा पुगेपछि उनको त्यो बाध्यता हटेको छ। ‘विगतमा धान रोप्न आकाशे पानी पर्खनु पर्दथ्यो। १२ किलोमिटर टाढा गितानगरदेखि पानी ल्याएर पनि खेत रोपियो। खेती गर्न निकै गाह्रो हुने।’

पहेँलै फुलेको तोरीबारी देखाउँदै श्रेष्ठले खुशी हुँदै भनिन्, ‘आगामी वर्षदेखि तरकारी लगाउने योजना बनाएकी छु।’ उनी २०३६ सालदेखि बस्दै आएकी छन्। उचित सिँचाइ नहुँदा लगानी समेत नउठ्ने गरेको विगतको तितो यथार्थ पोखिन्। सुक्खा ठाउँ छ। केही हुँदैन,’ उनले उत्साहित हुँदै भनिन्, ‘खेतको छेऊमै डिप ट्युबवेल छ पानी राख्न पाएपछि उत्पादन राम्रो होला नि?’

पश्चिम चितवनमा सुक्खा ठाउँमा बोरिङ मार्फत सिँचाइ सेवा भएपछि किसानहरू उत्साहित भएका छन्। साविक जगतपुर ४ मधुपुरीका जीतबहादुर विश्वकर्माले तरकारी खेती गर्न कृषि फर्म खोलेका छन्। ‘यहाँ सिँचाइ नहुँदा व्यावसायिक खेती गर्न सकेको थिएन्,’ ३५ वर्षीय विश्वकर्माले भने, ‘१ बिगाहा खेत आफ्नै छ। अर्को एक बिगाहा भाडामा लिएको छु। आगामी वर्षदेखि तरकारी खेती गर्छु।’ मधुपुरीसँगै रहेको नयाँबस्तीमा किसानहरू व्यावसायिक तरकारीमा आकर्षित छन्। दलित समुदायको बाक्लो बस्ती रहेको मधुपुरीका किसानले भने सिँचाइ नहुँदा राम्रो उत्पादन गर्न सकेका थिएनन्।

सधैं आकाशे पानीको भरमा खेतीपाती गर्ने यहाँका किसानहरू ठाउँ ठाउँमा डिप ट्युबेल गाडिएपछि खुशी छन्। सिँचाइ सुविधा भएपछि उत्पादन समेत राम्रो भएको मधुपुरीका पुष्पलाल श्रेष्ठ बताउँछन्। ‘उठेर धान रोप्यो बसेर काट्नुपर्ने। कठ्ठामा १ मुरी फल्न पनि गाह्रो हुने,’ उनले भने, ‘अहिले ५ कठ्ठामा मलजल गर्दा २० मुरी धान फल्यो।’

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले पश्चिम चितवनमा विभिन्न डिप ट्युब वेल र स्यालो ट्युबवेल निर्माण गरिरहेको छ। दुई वर्षको अवधिमा आयोजनाले सिँचाइ नपुगेको ठाउँमा भूमिगत सिँचाइलाई प्राथमिकता राखेर गरेको छ। आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले हालसम्म ६० वटा ठूला डिप ट्युबवेल सिँचाइ र ३२५ वटा स्यालो ट्युबवेल निर्माण गरेको बताए।

उनका अनुसार यस ट्युबवेलबाट ४ हजार बिगाहा जमिनमा सिँचाइ पुग्नेछ। आयोजनाका कार्यक्रम भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकामा सञ्चालित छन् तर पनि अधिकांश काम भरतपुर महानरपालिकामै केन्द्रित देखिन्छ। ‘हामीले १२ महिना नै सिँचाइ गर्न मिल्ने गरी साना ठुला ट्युबवेल निर्माण गरेका छौँ,’ स्याङबोले भने, ‘यसअघि सिँचाइ नपुगेको कृषि योग्य जमिनमा काम गरिरहेका छौँ।’

किसानले तरकारी, धान, मकै, गहुँ, तोरी लगायतका बालीको उत्पादन वृद्धि गरेको उनले बताए। किसानलाई पनि आकर्षित गरेको छ। चितवनमा अझै ४० हजार हेक्टर जमिनमा सिँचाइ नपुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ तर आयोजनाले दश हजार पाँच सय हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ पुर्‍याउने लक्ष्य लिएको उनले बताए।

भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको छ। पाँच वर्षको अवधिमा ५६२ वटा ट्युबवेल निर्माण गरिएको महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन्। ‘कृषिको प्रचुर सम्भावना रहेको पश्चिम चितवनलाई पुग्ने गरी सिँचाइको दियो अभियानअन्तर्गत नारायणी लिफ्ट सिँचाइको मर्मत गर्ने काम भैरहेको छ,’ उनले भनिन्, ‘अल्पकालीन रूपमा सिँचाइको अभाव भएको स्थानमा महानगरपालिकाले भूमिगत सिँचाइका योजना अगाडि ल्याएको छ।’

नारायणी लिफ्ट निर्माण भएपछि पश्चिम चितवनलाई सिँचाइ गर्न पुग्ने उनको विश्वास छ। अहिले पश्चिम चितवनमा खगेरी सिँचाइ र नारायणी लिफ्ट आयोजनाबाट सिँचाइ हुँदै आएको छ तर धान रोप्ने समयमा पानी छाडिए पनि अन्य समयमा बन्द हुन्छ। अहिले नारायणी लिफ्ट बन्द अवस्थामा छ।

प्रकाशित: २४ पुस २०७९ ०२:०३ आइतबार

सुक्खा ठाउँमा बोरिङ मार्फत सिँचाइ सेवा विभिन्न डिप ट्युब वेल र स्यालो ट्युबवेल निर्माण