अर्थ

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’

तीन दशक ससाना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।

बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छिन्। स्याङ्जाको पुतलीबजार नगरपालिका-११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै पोखरीचौरमा रहेको महेन्द्र देववाणी आधारभूत विद्यालयमा शिक्षिकाको रूपमा २९ वर्ष सेवा गरिन्। शिक्षण पेसाबाट अवकाश भएकी अर्यालको अहिलेको दिनचर्या सुन्तला बगैंचामै बित्ने गरेको छ। विद्यालयमा जसरी बालबालिकालाई माया गरेर शिक्षा दिइयो त्यसरी नै सुन्तलाका बोटलाई स्याहारसुसार नियमित गरेकै कारण पनि आम्दानीको मुख्य स्रोतको रूपमा सुन्तला भएको उनी बताउँछिन्।

घरको आँगन, डिल तथा आसपासका बारी तथा कान्लामा सुन्तला लटरम्म फलेका छन्। घर वरिपरि रहेको सुन्तला बगैंचा पहेंलपुर छ। झट्ट हेर्दा जोकोही पनि मन आनन्दित र प्रफुल्लित हुने गर्छ। पहिलेभन्दा यस वर्ष सुन्तला अत्यधिक फलेकाले पनि बोटले फल धान्न नसकेर हाँगा लाछिएका छन्। केही बोटलाई एकदुई वटा टेका दिइएको छ।

सुन्तला पाक्न थालेसँगै बर्सेनि यहाँ व्यापारी बगैंचा नै ठेक्का लिन आउने गरेका छन्। यस वर्ष पनि उनले ठेक्काबाट चार लाख रुपैयाँको सुन्तला बिक्री गरिसकेकी छिन्। बाँकी सुन्तला अहिले बोटबाट नै फुटकर रूपमा बिक्री भइरहेको छ। पुतलीबजारको जैंसीडाँडामा शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका सुन्तला उत्पादक किसानले सुन्तला भण्डारण गर्ने गरेका छन्।

अहिले प्रतिकेजी ९० देखि सय रुपैयाँमा बिक्री हुँदै आएको सुन्तलाको मूल्य बढी पार्न शीतभण्डारमा राख्ने चलन बढ्दै गएको छ। अर्यालको सुन्तला बगैंचामा फलेको सुन्तला स्थानीय बजारसहित पोखरा, काठमाडौं, बुटवल लगायतका बजारमा बिक्री हुँदै आएको छ।

सुन्तलाको मूल्य बढी पार्न अहिले शीतभण्डारमा सुन्तला उनले राखिसकेकी छिन्। ‘अहिले फुटकरमा प्रतिकेजी ९० देखि सय रुपैयाँमा सुन्तला बिक्री हुन्छ’, उनले भनिन्, ‘दुई महिनापछि शीतभण्डारबाट झिकेर सुन्तला बेच्दा प्रतिकेजी झण्डै दुई सय रुपैयाँ पर्छ।’

सुरुका वर्षमा सुन्तलाका बोट नै कम भएकाले उत्पादन थोरै भयो। आम्दानी पनि थोरै भयो। केही वर्षदेखि निरन्तर सुन्तला बिक्रीबाट २५ लाख रुपैयाँ आम्दानी हुँदै आएको अर्याल दाबी गर्छिन्। सुन्तलाका नयाँ बोट थपिएकाले आगामी वर्षबाट उत्पादन बढ्नेछ अनि आम्दानी पनि स्वाभाविक बढ्ने विश्वासमा उनी छिन्।

२०४२ सालमा सुन्तलाका दुई वटा बोट रोपेको सम्झना उनलाई छ। परीक्षणका लागि रोपेका बोटले केही वर्षपछि राम्रो उत्पादन दिन थालेपछि उनी व्यावसायिक रूपमा अगाडि बढिन्।

‘सुरुमा रोपेका दुई वटा बोटबाट राम्रो उत्पादन भएपछि सुन्तलाको सम्भावना देखेर बर्सेनि बोट थप्दै सुन्तला बगैंचा विस्तार गर्दै गएँ’, उनले भनिन्, ‘अहिले सुन्तला बगैंचामा दुई हजार बढी सुन्तलाका बोट छन् जसमध्ये आधा बोटमा सुन्तला फलिरहेका छन्। आधा बोट नयाँ छन्।’

अर्यालले अझै दुई सय नयाँ बोट लगाउन तयारी गरेकी छिन्। कुल ३६ रोपनी क्षेत्रफलमा अहिले सुन्तला बगैंचा फैलिएको छ। रासस

प्रकाशित: २३ पुस २०७९ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App