अर्थ

वैदेशिक रोजगारीमा जाने १८ प्रतिशतले घटे

काठमाडौं- दुई वर्षअघिको दाँजोमा आर्थिक वर्ष २०७२/७३ मा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ। मुलुकमा बेरोजगारी दर बढिरहेका बेला युवावर्ग वैदेशिक रोजगारीप्रति निरुत्साही भएर संख्या घटेको हो वा वैदेशिक रोजगारी अस्तव्यस्त हुँदा यस्तो नतिजा निस्किएको हो भन्ने अनुसन्धान गर्नुपर्ने बेला आएको विज्ञ बताउँछन्।

बेरोजगारी दर घटेको तथा अन्य अवसर प्राप्त नभइरहेका बेला वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु नपर्ने धेरैको भनाइ छ। आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८ सय ८७ युवावर्ग वैदेशिक रोजगारीमा गएकोमा आव २०७२/७३ मा ४ लाख १८ हजार ७ सय १३ जना श्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ९४ हजार अर्थात् १८ प्रतिशले कम हो। आव २०७२/७३ मा ३ लाख ९९ हजार पुरुष कामको खोजीमा बाहिरिँदा १९ हजार ३ सय महिला वैदेशिक रोजगारीका गएका थिए। 

पछिल्लो समय मुलुकको अर्थतन्त्र टिकाउने माध्यम रेमिटेन्स भइरहेको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा अर्थतन्त्र कसरी जोहो गर्ने भन्ने चिन्ता बढेको सरकारी अधिकारी बताउँछन्। यति हुँदाहुँदै पनि मुलुकको आवश्यकता युवावर्गलाई वैदेशिक रोजगारीमा पठाउनुभन्दा पनि स्वदेशमै रोकिराख्न जरूरी रहेको उनीहरूकै भनाइ छ। युवायुवतीलाई वैदेशिक रोजगारीमा निरुत्साही गरी स्वदेशमा रोकिराख्न कृषि, पर्यटनजस्ता क्षेत्रलाई जोड दिनुपर्ने आवाज उठिरहेको छ।

आव २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँबराबरको रेमिटेन्स भित्रिएको मुलुकमा २०७२/७३ को ११ महिना (साउनदेखि जेठ) सम्म ५ खर्ब ९९ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ। दुई वर्षअघिको तुलनामा २०७२/७३ मा वैदशिक रोजगारीमा जानेको संख्या ९४ हजारले घट्न जाँदा आगामी दिन रेमिटेन्समा कमी आउने अनुमान छ।

म्यानपावर व्यवसायी भने पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या कमी आउनुमा सरकारी नीति नै कारक रहेको दाबी गर्छन्। व्यवसायीका अनुसार अघिल्लो वर्ष असारमा श्रम तथा रोजगार मन्त्रालयले सुरु गरेको निःशुल्क भिसा र टिकट तथा बायोमेटि्रक विवादका कारण युवावर्गलाई विदेश जान समस्या परेको छ।

प्रकाशित: ९ श्रावण २०७३ ०४:३७ आइतबार

वैदेशिक रोजगारीमा जाने १८ प्रतिशतले घटे