अर्थ

२०२२ को पर्यटक आगमनः पर्यटन क्षेत्र ‘ग्रिन जोन’ मा

‘६५ प्रतिशत ‘रिकभर’

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी पर्यटक । फाइल तस्बिरः नागरिक

सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार १४८ जना विदेशी पाहुना भित्रिए। कोरोना भाइरस संक्रमण सुरु भएपछि विदेशी पर्यटक आगमनको यो संख्या अहिलेसम्मकै बढी हो। यसअघि २०२० र २०२१ को वर्षभरिको आगमनको तुलनामा २०२२ को आगमनमा निकै नै सुधार देखिएको पर्यटन व्यवसायीले बताएका छन्।  

विदेशी पाहुना आगमनको यो संख्यासँगै सरकारले राखेको वर्षभरि (२०२२) को विदेशी पाहुना आगमनको लक्ष्य नाघेको छ। कोरोना भाइरस संक्रमण पछिको यो वर्ष सरकारले वर्षभरिमा पाँचलाख विदेशी पर्यटक भित्रिने अनुमान गरेको थियो। तर, वर्षभरिमा हवाई माध्यममार्फत नेपाल भित्रिने विदेशीको संख्या ६ लाख १४ हजार १ सय ४८ पुगेको पर्यटन बोर्डको तथ्यांक छ।  

बोर्डका निर्देशक मणिराज लामिछानेले सरकारले सन् २०२२ मा पाँचलाख विदेशी पाहुना भित्रिने अनुमान गरेकोमा त्यो भन्दा निकै नै बढी पाहुना आएको बताए। सरकारी लक्ष्य भन्दा करिब २३ प्रतिशत बढी पाहुना नेपाल भित्रिएको लामिछानेको भनाई छ। त्यसबाहेक विश्व पर्यटन संगठन (यूएन–डब्लुटिओ) ले पनि पछिल्लो समय पर्यटनमा सुधार हुँदै गएको देखाएको थियो। कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्र पछिल्लो समय सुधारको लयमा फर्केको संगठनको भनाई छ। संगठनले २०२२ मा पर्यटन क्षेत्रमा ६० देखि ६५ प्रतिशत सुधार हुने प्रक्षेपण गरेको थियो।  

‘यूएनडब्लुटिओले २०१९ को तुलनामा पर्यटन क्षेत्रमा २०२२ मा ६५ प्रतिशत रिकभर हुने भनेको थियो,’ उनले भने, ‘नेपाल भित्रिएका पाहुनाको आगमनले पनि यूएनडब्लुटिओको अनुमानलाई पुष्टि गरेको छ। अब नेपालको पर्यटन क्षेत्र ग्रिनजोनमा फर्किसकेको छ।’ सरकारी लक्ष्य भन्दा २३ प्रतिशत माथि पर्यटक भित्रिनुले पर्यटन क्षेत्रमा आशावादी तुल्याएको उनले बताए।  

लामिछानेको अनुमानमा अब कुनै अवरोध नआउने र कोरोना संक्रमण मत्थर हुँदै जाने हो भने नेपालले २०१९ मा हवाई माध्यममार्फत भिœयाएजति विदेशी पाहुना २०२३ को दोश्रो सिजन (सेप्टेम्बर–अक्टोबर) तिर भिœयाउन सक्नेछ। विश्वव्यापी रुपमा पनि २०२३ को अन्तिमसम्ममा विश्व पर्यटन बजार २०१९ को हाराहारीमा उक्लिने अनुमान छ। नेपालले पनि सेप्टेम्बर–अक्टोबरसम्म त्यो आकार लिइसक्ने उनले बताए।  

२०१९ को जति पाहुनाको आगमन यो वर्षभित्रै पुग्नेमा लामिछानेको बिचारमा दुइवर्ष कारण बढी सहयोगी छन्। ती हुन पोखरा र भैरहवामा यसैवर्ष संचालनमा आएका दुइवटा अन्तर्राष्ट्रिय विमानस्थल। गत जेठमा भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र चारदिन अघि मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएका छन्। यि दुवै विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई सञ्जाल बिस्तार हुने हुँदा यो वर्षको विदेशी पाहुना आगमन बढ्ने अपेक्षा रहेको लामिछानेको भनाई छ।

‘दुइवटा अन्तर्राष्ट्रिय विमानस्थल यहीवर्ष देखि संचालनमा आएका छन्। अहिलेसम्म नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी एउटा विमानस्थलमार्फत थियो। अब तीनवटा विमानस्थलमार्फत हाम्रो हवाई सेवा अन्तर्राष्ट्रिय सञ्जालसम्म पुगेको छ,’ उनले भने, ‘त्यसले गर्दा पाहुना आउनेमा  आशावादी हुन सकिन्छ।’  

कोरोना संक्रमण सुरु हुनुअघि २०१९ मा नेपालमा वर्षभरिमा सबैभन्दा बढी ११ लाख ९७ हजार १९१ विदेशी भित्रिएका थिए। कोरोनाका कारण २०२० मा त्यो आगमन २ लाख ३० हजार ८५ र २०२१ मा १ लाख ५० हजार ९६२ मा झरेको थियो। तर, २०२२ को आगमनको आकार भने निकै नै माथि उक्लिएकोले आगामि सिजनसम्म निकै नै सुधार हुने अपेक्षा रहेको बोर्डका सूचना अधिकारी समेत रहेका निर्देशक लामिछानले बताए।  

अब पनि कोरोनाले कुनै अप्ठेरो नपार्ने हो भने नेपालमा पाहुना आगमन बढ्नेमा हामी ढुक्क छौ। अन्तर्राष्ट्रिय हवाई सञ्जालको आकार पनि बढेकोले आश गर्ने ठाउँ पर्याप्त छ,’ उनले भने। बोर्डका अनुसार नेपालमा २०२२ मा भित्रिएका पाहुनामध्ये २ लाख ९ हजार १ सय ५ जना भारतीय छन्। नेपालमा वर्षभरिमा सबैभन्दा बढी पाहुना भित्रिने मुलुक भारत नै भएको छ। त्यस्तै दोश्रो नम्बरमा अमेरिका छन्। २०२२ मा अमेरिकाबाट ७७ हजार ९ जना पाहुना नेपाल आएका छन्। त्यस्तै तेश्रो नम्बरमा बेलायतबाट ४४ हजार ७८१ जना पाहुना भित्रिए। अस्टे«लियाबाट २६ हजार ८७४ र बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक नेपाल भित्रिएका छन्।  

बोर्डका अनुसार नेपालमा भित्रिने विदेशी पाहुना मध्ये ४० प्रतिशत हिस्सा सार्क मुलुकका सदस्य राष्ट्रको छ। यूरोपेली मुलुकको हिस्सा २१.७२, एशियाको ८.३, अमेरिकाको १४.३१ प्रतिशत हिस्सा रहेको बोर्डले बताएको छ। सन् २०२२ मा वर्षभरिमा नेपाल भित्रिने विदेशी पाहुनामध्ये सबैभन्दा बढी अक्टोबरमा भित्रिएका थिए । अक्टोवरमा मात्र ८८ हजार ५८२ जना विदेशी नेपाल भित्रिएका छन्। त्यसपछि नोभेम्बरमा ७२ हजार ६ सय ५३ र डिसेम्बरमा डिसेम्बर ६७ हजार ९३२ जना पाहुना भित्रिएका छन्।

२०२२ को दोश्रो सिजन (अक्टोबर–डिसेम्बर) मा भित्रिएका पाहुनाको आकारले संख्या उकास्न निकै नै सघाएको बोर्डको भनाई छ। नेपालमा  जनवरीमा १६ हजार ९७५, फेबु्रअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ जना विदेशी भित्रिएका थिए। त्यस्तै मे महिनामा ५३ हजार ६०८, जुन महिनामा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४ र सेप्टेम्बरमा ५८ हजार ३१४ जना पाहुना भित्रिएका थिए।  

पर्यटन व्यवसायी  पनि कोरोना संक्रमणपछिको यो आगमनले पर्यटन क्षेत्रमा निकै नै सुधारको संकेत देखाएको बताउँछन्। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘कोरोना संक्रमणको बेलाको आगमनको अवस्था हेर्दा पर्यटन क्षेत्र निराशामा रुमलिएको थियो। यति छिटै रिकभर होला भन्ने सोचेका पनि थिएनौ। तर, सोचेभन्दा छिटो गति पर्यटनले लिएको हो।’ आगामि सिजनमा अझै राम्रो आगमन हुने अपेक्षा रहेको उनले बताए ।  

चीनले पनि अबको केहीदिनपछि क्वारेन्टिन हटाउने भनिसकेकोले चिनियाँ पर्यटक भित्रिने अपेक्षा रहेको पराजुलीले बताए। त्यसबाहेक अन्तर्राष्ट्रिय विमानस्थलको पहुँच बढेकोले पनि आगामि सिजनको आगमनमा अभै सुधार हुने अपेक्षा रहेको पराजुलीले बताए। ‘आगामि सिजन राम्रो हुनेमा आशावादी छौ। कोभिडले निकै नै थला परेको पर्यटन क्षेत्र सोचेभन्दा छिटो रिकभर भएको हो। यतिछिटो रिकभर होला भन्ने लागेको थिएन,’ पराजुलीले भने, ‘कुनै भवितव्य नभए आगामि सिजनसम्म पक्कै पाहुना आउनेछन्।’ 

प्रकाशित: २० पुस २०७९ १०:०५ बुधबार

सन् २०२२ पर्यटक आगमन