अर्थ

वीरगन्ज नाकाबाट मुख्य वस्तुहरुको आयातमा भारी गिरावट

वीरगन्ज– मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट भित्रिने मुख्य वस्तुहरुको आयातमा यो वर्ष भारी परिमाणले कमी आएको छ। ६ महिने मधेश आन्दोलन १ सय ३४ दिन लामो नाका अवरोधले यस नाको व्यापार विथोलिएको हो। यहाँबाट हुने आयात अन्य नाकातिर सर्दा तथ्यांकमा यस्तो नतिजा देखिएको हो।  

इन्धन, सवारी साधन, कच्चा खाने तेल र फलामलगायतका वस्तुको मुख्य योगदान यस भन्सारको राजस्वमा रहने गरेको थियो। यो वर्ष पनि तिनै बस्तुहरु राजस्वमा योगदानको दृष्टिकोणले मुख्य वस्तु रहे पनि तिनका आयात भने गएका वर्षहरुको तुलनामा निकै खस्केको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

नाका खुलेपछिको भन्सार बिभागबाट तोकिएको संशोधित नयाँ लक्ष्य ७१ अर्ब ८६ करोडभन्दा १६ अर्ब २२ करोड रुपैयाँ घटी ५५ अर्ब ६४ करोड रुपैयाँ राजस्व उठाएको कार्यालयको तथ्यांक छ। आर्थिक वर्ष २०७१/०७२ मा ११ हजार ६ सय ९८ वटा जिप, कार भ्यान खाले साना सावारी भित्रिएका थिए भने यस्ता सावारी बितेको आर्थिक वर्ष २०७२/०७३ मा मात्र ५ हजार १ सय ७१ भित्रिएको छ। त्यस्तै अघिल्लो वर्ष एक लाख ९ हजार ४ सय ३५ वटा मोटरसाइकल भित्रिएका थिए भने गत आर्थिक वर्षमा मात्र ७० हजार पाँच सय १८ वटा भित्रिएको हो।  

त्यसतै, अघिल्लो वर्ष ४ हजार ७ सय ७६ वटा भित्रिएका बस ट्रकका चेचिस यसपाली ४ हजार १ सय ८४ आएको छ। अघिल्लो वर्ष चार लाख ९७ हजार ८ सय ८५ किलोलिटर भित्रिएको डिजेल यसपाली ३ लाख ४४ हजार ३ सय ६७ किलोलिटर भित्रिएको छ। त्यसै, तुलनात्मक अवधीमा एक लाख ८२ हजार ३ सय ५७ किलोलिटर पेट्रोलको ठाउँमा यसपाली एक लाख १९ हजार १ सय ३५ किलोलिटर मात्र भित्रिएको छ। आर्थिक वर्ष २०७२/०७३ को साबिक लक्ष्यअनुसार १ खर्ब ३ अर्ब रुपैयाँ वीरगन्ज भन्सार कार्यालयल गत साउनदेखि पछिल्लो असारसम्मको एक वर्षमा असुल गर्नुपर्ने थियो।

६ महिना चलेको मधेश आन्दोलनभरी प्रभावित रहेको यो नाका १ सय ३४ दिन अर्थात् साढे ४ महिना ठप्प नै रह्यो। गएको वर्षको तुलनमा यो बर्ष कुनै पनि बस्तुको आयात बढी देखीएन् । गत वर्ष कम राजस्व असुली भएको भए पनि चालू आर्थिक वर्षको सुरुबाटै यस नाकाको आयात निर्यात साबिक आँकडामै फर्किएको कार्यालयका सूचना अधिकारी लोकराज पन्तले बताए।

 

प्रकाशित: ६ श्रावण २०७३ १०:०८ बिहीबार

वीरगन्ज नाकाबाट मुख्य वस्तुहरुको आयातमा भारी गिरावट