अर्थ

भूकम्पमा जीवन गुमाएकाकाे सम्झनामा महामृत्युञ्जय मन्दिर निर्माण गरिने

काठमाडौं– गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएका करिब ९ हजार मानिसको सम्झनामा काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारमा महामृत्युञ्जय मन्दिर निर्माण हुने भएको छ।

मन्दिरको आज शिलान्यास गर्दै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मुलुकमा स्थिरताका लागि शान्ति, समझदारी र भाइचाराको आवश्यकता भएको बताए।

“देशको विकासका लागि राष्ट्रिय एकता, इमान्दारिता, नैतिकता र सच्चा व्यवहार गरिनुपर्छ, अगाडि ठिक्क पार्ने पछाडि केही नगर्ने व्यवहार विकासको बाधक हो,” उनले भने।

नेपालमै पहिलोपटक बन्न लागेको महामृत्युञ्जय महादेव मन्दिरले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने पूर्व अध्यक्ष रेग्मीले बताए।

सांसद रामेश्वर फूयाँलले पहिलो महामृत्युञ्जय मन्दिरको निर्माणले बौद्ध, गोकर्ण, सुन्दरीजल र कागेश्वरीको धार्मिक पर्यटन विकास गर्न सकिने भएकाले राज्यको ध्यान जानुपर्ने बताए।

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको मन्दिरका लागि सांसद विकास कोषबाट उनले रु १० लाख सहयोग गर्ने बताए।
नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसेले धार्मिक गतिविधिबाट स्थानीयस्तरको विकास गर्ने जनताको हातमा सरकारले साथ दिनुपर्ने औँल्याउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक लक्ष्मीकान्त पन्थीले पूर्वीय दर्शनको महिमा विश्वव्यापीरुपमा बढेका बेला नेपालमा संरक्षण गरिनुपर्ने आवश्यकता औँल्याए।

भूकम्पको एक वर्ष पुगेका अवसरमा गत वैशाख ११ गतेदेखि १९ गतेसम्म आयोजित श्रीमद्भागवत महायज्ञबाट उठेको रु. ४० लाख र स्थानीय साधन स्रोतबाट जुटाएको रु २० लाख गरी रु. ६० लाखको लागतमा मन्दिर निर्माण हुने भागवत महायज्ञ आयोजक समितिका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए। रासस

 

प्रकाशित: ५ श्रावण २०७३ १०:१४ बुधबार

भूकम्पमा जीवन गुमाएकाकाे सम्झनामा महामृत्युञ्जय मन्दिर निर्माण गरिने