अर्थ

शुक्लाफाँटामा शीतभण्डार निर्माण हुने

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुने भएको छ। यसका लागि नगरपालिकाले २५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ। वसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। वडा नं ११ मा आइतबार बसेको सर्वपक्षीय बैठकमा सामुदायिक वनका उपभोक्ताले सो सहमति जनाएका हुन्।

वडाध्यक्ष शेरबहादुर साउदले सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको बताए।

यसपछि वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र प्राविधिकको टोलीले शीतभण्डार गृह निर्माणका लागि स्थानीय छनोट गर्ने उनले जनाए। छलफल कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रनसिंह सुनारले वनलाई हानिनोक्सानी नहुने गरी शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने बताए।

‘वन संरक्षणकर्मी भएकाले म आफैंले सामुदायिक वनमा जग्गा उपलब्ध गराउन सक्दैन, गराउँछु पनि भन्न सक्दिनँ’, उनले भने, ‘उपभोक्ताले सहमति दिएका छन्, त्यसका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्छ।’

सामुदायिक वनका पूर्वअध्यक्ष धनबहादुर बमले हानिनोक्सानी नहुने गरी उपयुक्त ठाउमा शीतभण्डार निर्माण गरिनुपर्ने बताए।

राजनीतिककर्मी भक्तराज जोशीले सबैले एकबद्ध भएर वडामा आएको योजनालाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताए। समाजसेवी गोपाल नाथले योजना निर्माणका लागि सबै क्षेत्रबाट सकारात्मक जवाफ आएकाले कार्यान्वयन हुनेमा ढुक्क रहेको बताए। नगरपालिका क्षेत्रमा शीतभण्डार गृह नहुँदा व्यावसायिक खेतीमा संलग्न किसानले कृषिउपज, तरकारी, फलफूल लगायत बाह्य क्षेत्रमा लगेर भण्डारण गर्नुपर्ने अवस्था छ। स्थानीयस्तरमै शीतभण्डार गृह निर्माण  भएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन्।

नगर प्रमुख रणबहादुर महराले शीतभण्डारका लागि केही रकम नगरपालिकाबाट विनियोजन गरिएको भए पनि त्यसले योजना सम्पन्न गर्न नपुग्ने भएकाले प्रदेश र संघीय सरकारलाई आग्रह गरिने बताए। रासस

प्रकाशित: १८ पुस २०७९ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App