अर्थ

उदयपुर सिमेन्ट उद्योग पौने ४ अर्ब घाटामा

उदयपुर- निजी क्षेत्रबाट सञ्चातिल सिमेन्ट उद्योगहरुले नाफा कमाइरहँदा सरकारको पूर्ण स्वामित्वमा सञ्चालित एसियाकै ठूलो मानिएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड अर्बौं नोक्सानीमा छ। गत वैशाख २१ गते ३०औं वार्षिकोत्सव मनाएको उद्योगले अहिलेसम्म झन्डै ४ अर्ब घाटा बेहोरको तथ्य बाहिर आएको छ। अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणले उक्त तथ्य बाहिर ल्याएको हो।

मन्त्रालयले प्रकाशन गरेको 'सार्वजनिक संस्थान वार्षिक समीक्षा ०७३' मा उद्योगलाई ३ अर्ब ७१ करोड २८ लाख घाटा लागेको देखाइएको छ। मन्त्रालयले सार्वजनिक गरेको समीक्षा पुस्तिकामा घाटा देखाइएको उद्योग आर्थिक वर्ष ०७१/७२ मा मात्रै १७ करोड ९० लाख रुपैयाँ घाटा भएको उल्लेख छ। मन्त्रालयका अनुसार उद्योगको नोक्सान दिनप्रतिदिन बढ्दै गएको छ।

प्रतिवेदनमा नेपाल सरकारलाई उद्योगले बुझाउनुपर्ने साँवा मात्र १ अर्ब १७ करोड ५० लाख रहेको उल्लेख छ। जसको ब्याज मात्र १ अर्ब २२ करोड ९६ लाख रहेको उल्लेख छ। मन्त्रालयले प्रकाशित गरेको पुस्तिकामा उद्योगले अन्य क्षेत्रबाट ३ अर्ब ४० करोड ऋण लिएर लगानी गरेको उल्लेख गरिएको छ। जसमा ७ अर्ब ६९ करोड ५ हजार सेयर लगानी उद्योगको रहेको पाइएको छ।

उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, रोयल्टी, अन्तःशुल्क लगायत करसमेत गत आव ०७२ असार मसान्तसम्म नतिरेको पुस्तिकामा उल्लेख छ। उद्योगको अन्तिम लेखा परीक्षण आव ०६५/६६ सम्म मात्र गरिएको र ०६५/६६ देखि ०७२/७३ सम्मको लेखा परीक्षण प्रतिवेदन नदेखिएको पनि पुस्तिकामा उल्लेख छ।

०६५/६६ देखि ०७३/७४ सम्मको लेखा परीक्षण नभएकाले परीक्षण गर्न पनि पुस्तिकामा सुझाव दिइएको छ। उद्योगमा हालसम्म स्थायी ४ सय कर्मचारी रहेकामा उद्योग दिनानुदिन नोक्सानीतर्फ जाँदैछ। यसको मुख्य कारण सरकार फेरबदलसँगै परिवर्तन हुँदै आएको सञ्चालक समिति अध्यक्ष र महाप्रबन्धकको गैरजिम्मेवारीपन प्रमुख रहेको बताइएको छ।

मन्त्रालयको पुस्तिकामा उद्योगको बर्तमान पुँजी ६ अर्ब २० करोड ४३ लाख रुपैयाँ रहेको र यो अत्यधिक भएकाले यसलाई पुँजीकरण गर्नुपर्ने सुझाव दिइएको छ। उद्योग सञ्चालनमा आएको २५ वर्ष पूरा गर्दा कतिपय मेसिन (यन्त्र) तथा औजार मर्मत तथा प्रतिस्थापन गर्नुपर्ने सुझावसमेत दिइएको छ।

यसबारे बु‰न उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलसँग सम्पर्क गर्दा हुन सकेन। नायव महाप्रबन्धक नवलकिशोर साहले मन्त्रालयले प्रकाशन गरेको पुस्तिकाबारे आफूलाई थाहा नभएको बताए। 'मलाई मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणबारे जानकारी छैन,' डिजिएम साहले भने, 'त्यस्ता प्रतिवेदन हाकिमले हामीलाई नदेखाएकोले के छ भन्ने बारे जानकारी छैन। उद्योग घाटा–नाफामा रहेको विषयमा भने आफूहरुलाई बोल्ने अधिकार नभएको उनको भनाइ थियो।

प्रकाशित: ३ श्रावण २०७३ ०३:४० सोमबार

उदयपुर सिमेन्ट उद्योग पौने अर्ब घाटामा