अर्थ

अब सेयर किनबेच ४ घन्टा

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले साउन २ गतेदेखि ११ बजे सेयर कारोबार सुरु गर्ने भएको छ। नेप्सेका अनुसार साउन २ गतेदेखि दैनिक चार घन्टा सेयर बजार खुल्नेछ। गत साता नेप्सेले सरोकारवाला निकायसँग सेयर कारेाबार अवधि बढाउन सुझाव मागेको थियो। साउन २ गतेदेखि सेयर बजार बिहान ११ बजे खुलेर ३ बजे बन्द हुनेछ।

नेपाल धितोपत्र बोर्डले भने लगानीकर्ताको सुविधाका लागि पाँचबुँदे निर्देशन दिएको छ। बोर्डले तत्कालै क्लियरिङ बैंकको संख्या थप्न, स्वचालित कारोबार प्रणालीमा देखिएको समस्या तत्काल सुधार गर्न, कारोबार राफसाफ र फच्र्छ्यौट सम्बन्धमा समयमै पे–इन र पे–आउटको व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिएको हो।

त्यस्तै, बोर्डले सेटलमेन्ट ग्यारेन्टी फन्ड कार्यान्वयन तत्काल गराउन तथा धितोपत्रको कारोबार तथा दलाल व्यवसायीको काम–कारबाहीको कडा अनुगमन गर्नसमेत निर्देशन दिएको छ। नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको समय एक घन्टा थपेको स्वागतयोग्य काम भएपनि बजारका अन्य सुधारका काम नगरेको भन्दै नेप्सेको ध्यानाकर्षण गरेको छ।

बोर्डले जारी गरेको विज्ञप्तिमा सेयर कारोबारबारको समय ११ बजेदेखि ३ बजेसम्म कायम गर्नु स्वागतयोग्य रहेको भन्दै कारोबार समयसँगै दोस्रो बजार कारोबार सम्बन्धी सुधारका काममा पनि गम्भीर ध्यानाकर्षण गराएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा स्रोत नखुलेको सम्पत्तिको प्रयोग भइरहेको आशंका गर्दै सुपरिवेक्षण तथा छानबिन समिति गठन गरेको छ। बोर्डले बिहीबार कार्यकारी निर्देशकको संयोजकत्वमा यस्तो समिति गठन गरेको हो। सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागका प्रमुख कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको जनाएको छ। धितोपत्र बजार विगतभन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढेको र बजारको दायरा समेत फराकिलो हुँदा स्रोत नखुलेको रकम प्रयोग भएको हुनसक्ने आशंका बढेको बोर्डको विज्ञप्तिमा उल्लेख छ। पछिल्लो समय बजारमा हरेक दिन १ अर्बभन्दा बढीको कारोबार हुने गरेको छ। हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरी छानबिन समिति गठन गरिएको बोर्डले जनाएको छ। उक्त समितिले एक महिनाभित्र प्रतिवेदन पेस गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: २ श्रावण २०७३ ०३:३३ आइतबार

अब सेयर किनबेच घन्टा