अर्थ

‘रैथाने बालीलाई बचाउनुपर्छ’

रैथाने बालीको खेती विस्तार गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। रैथाने बालीको विस्तारले पहिचान मात्र होइन संरक्षण गर्न पनि सघाउ पुग्ने उनिहरूको भनाइ छ। बिपिडब्लु नेपालले जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालित कृषि तथा जडीबुटीमा आधारित उद्यमशील महिला र स्थानीय सरोकारवाला निकाय बीचको दोहोरो सम्वादका सहभागीले यस्तो बताएका हुन्।

सिमी, ओखर, मार्सी चामल, फलफूल र जडीबुटीको खेती विस्तार गरी संरक्षण गर्न आवश्यक रहेको बताइएको छ। एडब्लुएविई परियोजनाअन्तर्गत परियोजनाले गरेको काम तथा क्रियाकलापका बारेमा स्थानीय निकायसँग समुदायको व्यवहारलाई जागरुक बनाउने उद्देश्य रहेको छ।

सम्वाद कार्यक्रममा कृषि तथा जडीबुटीमा आधारित उद्यमशील महिलाको सहभागिता रहेकोे थियो। पातारासी गाउँपालिकामा पाँच वटा महिला समूह छन्। मार्सी चामल समूह, जडीबुटी समूह, फलफूल समूह, सिमी समूह र ओखर समूहमा विभाजन गरिएको छ। उक्त सम्वाद कार्यक्रममा प्रति समूहबाट ५/५ जना महिला सहभागी भएका थिए।

बिपीडब्लु नेपालको आर्थिक सहयोग तथा हिमालयन बहुउद्देश्यीय सहकारी संस्था जुम्लाको आयोजनामा दोहोरो सम्वाद गरिएको हिमालयन बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका अध्यक्ष मयादत्त आचार्यले बताए।

उनले भने जुम्लाको पातारासी गाउँपाललिका जडीबुटी र मार्सी धानको भण्डार क्षेत्र मानिन्छ तर त्यहाँका स्थानीयको उक्त खेतीप्रति जागरूक देखिँदैनन्। उनका अनुसार रैथाने बालीको खेती र उपयोग गर्दा हुने फाइदाका विषयमा जानकारी गराइएको छ।

बजारमा पाइने खाद्यान्न खादा स्थानीय रैथाने बालीको महत्व घट्दै जाने र पहिचान मेटाउने काम भएको निचोड निकालिएको छ। यता उद्यमी महिला सुनमाया बोरोराले रैथाने बालीप्रति कसैको चासो नदेखिएको बताइन्। उनले भनिन्-यसको ज्वलन्त उदाहरण हो, बजारमा व्यवस्थापन नहुनु, यद्यपि महिलाहरूले दुःख गरी उत्पादन गरेको फलफूल, सिमी, ओखर, जडीबुटी, मार्सी धानको बजार हुन्छ र स्थानीय तहले व्यवस्थापन गर्छ भने रैथाने बालीको खेती सबैले गर्ने दाबी गरिन्। रैथाने बालीको प्रयोगले स्वास्थ्य राम्रो हुने, महत्व बढ्दै जाने परम्परा बच्ने उनको टिप्पणी छ।  

प्रकाशित: १७ पुस २०७९ ०१:५१ आइतबार

‘रेथाने बालीलाई बचाउनुपर्छ’ रैथाने बालीको विस्तार