अर्थ

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले यही पुस १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिएका छन्। अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए।

शिविरमा स्वास्थ्य जाँच गरिएकालाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क प्रयोगशाला परीक्षण र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ। शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको छ भने एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ।

यस्तै शिविरमा सहभागीहरूले एक महिनासम्म फलोअप गर्दा पनि कुनै शुल्क नलाग्ने तथा अस्पतालले यसअघि लमजुङ, मकवानपुर, काभ्रे लगायतका दर्जनौं जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको पनि जनाएको छ।

प्रकाशित: १७ पुस २०७९ ०१:३० आइतबार

निःशुल्क स्वास्थ्य शिविर अल्का अस्पताल