अर्थ

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुझाव संकलन

नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने गरी सातवटै प्रदेशबाट सुझाव संकलन गरिएको छ। नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)ले विज्ञहरूको सहभागितामा सात प्रदेशका विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित सरोकारवालाबीच कार्यशाला गोष्ठीको आयोजना गरी सुझाव संकलन गरेको हो।  

प्रदेश १ को विराटनगरबाट सुझाव संकलन गरेको परियोजनाले मधेस प्रदेशको जनकपुर, वाग्मतीको सौराहा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र नेपालगञ्ज, कणालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा पुगेर सरोकारवालासँग सुझाव संकलन गरिएको परियोजनाका पर्यटनविज्ञ तथा नेपाल सरकारका पूर्वसचिव हरि बस्यालले जानकारी दिए। ‘आन्तरिक पर्यटन प्रवद्र्धनलाई रणनीतिक योजना बनाएर युएनडिपीको सहयोगमा नेपाल पर्यटन बोर्डले गर्न लागेको कार्यक्रम हो। हामीेले सातै प्रदेश र केही स्थानीय तह र पर्यटन व्यवसायीसँग बसेर सुझाव संकलन गरिसकेका छौं,’ बस्यालले भने, ‘उहाँहरूको महत्वपूर्ण सुझावलाई आगामी बन्ने रणनीतिक कार्ययोजनामा समावेश गरिन्छ।’ अन्तरिक पर्यटन प्रवद्र्धनका गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार नीति बनाइने उनले बताए।  

विभिन्न प्रदेशमा पुगेर संकलन गरिएका सुझावलाई आगामी दुई महिनाभित्र नेपाल सरकारलाई बुझाउने लक्ष्य राखिएको छ। आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवद्र्धनमा बाधा पु¥याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान स्थितिलाई आधार बनाएर कार्ययोजना बनाइने उनले बताए।  

कोरोना महामारीपछि नेपालमा विदेशी पर्यटक न्यून संख्यामा आउन थालेका छन्। यस्तो अवस्थामा आन्तरिक पर्यटकलाई चलायमान बनाउनुपर्ने हुन्छ। यसका लागि सरकारले आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना बनाउन लागेको परियोजनाका जीविकोपार्जन विज्ञ धर्मेन्द्र दवाडी बताउँछन्। उनका अनुसार नेपालमा कोरोना महामारीपछि पर्यटन क्षेत्रमा ८० प्रतिशत हस आएको छ। यस्तो अवस्थामा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेजहरूको विकास गरी कर्मचारीहरूलाई यात्रा उत्प्रेरणा विदा, शैक्षिक भ्रमण र अध्ययन अवलोकन भ्रमणको व्यवस्थाको लागि लागत सहभागिता गर्ने गरी बजेट व्यवस्था गर्नुपर्ने दवाडी बताउँछन्। रोजगारी सृजनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ। यसको लाभ सबै क्षेत्र र वर्गमा पुर्‍याउने सरकारको लक्ष्य छ।  

सुझाव संकलनका क्रममा बिहीबार सौराहामा आएको टोलीसँग पर्यटन व्यवसायीले पर्यटनमैत्री नीति, पर्यटनमा एकद्वार प्रणाली, नयाँ गन्तव्यको खोजी, प्रचारप्रसारमा सहयोग गरिदिन आह्वान गरेका छन्। क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना महामारीपछि सौराहामा अपेक्षाअनुसार पर्यटक भित्रिन नसकेको भन्दै पर्यटकीय गतिविधि बढाउनका लागि पूर्वाधार विकासमा जोड दिन सुझाव दिएका छन्।  

‘यतिबेला सौराहा घुम्न आउने पर्यटकको संख्या धेरै हुन्थ्यो। विशेषगरी असोजदेखि सुरु भएको पर्यटकीय गतिविधि जेठसम्मै चहलपहल हुने समय हो। तर, कोरोना महामारीपछि व्यवसाय अझै तंग्रिन सकेको छैन,’ भट्टराईले भने, ‘आन्तरिक पर्यटक आउने सडक पूर्वाधारले समेत मानिसहरू घुम्न कम आउने गरेका छन्।’ अहिले बुटवल नारायणगढ सडक विस्तारका क्रममा बिग्रिएको राजमार्ग र मुग्लिन नारायणगढ सडक दैनिक चार घण्टा बन्द हुँदै आएको छ।

सौराहा देशकै तेस्रो गन्तव्यका रूपमा परिचित छ। यहाँ जंगल सफारीदेखि हात्ती चढ्नकै लागि पर्यटक बढी आउने गर्दछन्। पछिल्लो समय सरकारकै नीतिका कारण सौराहामा पर्यटक आउन छाडेको पर्यटन व्यवसायी ऋषिराम तिवारी बताउँछन्। ‘सौराहामा ६५ हात्ती थिए, चरिचरणको अभावमा ३५ वटामा झरेका छन्। डुंगाका कार्यक्रम थिए बन्द छन्। थारु संस्कृति प्रवद्र्धन भएको छैन। पर्यटन व्यवसायी ऋणमा छन्। उनीहरूको ऋणको ब्याज मिनाहा गरिदिनुपर्छ,’ उनले भने, ‘पर्यटन सम्वन्धी नीतिहरू परिमार्जन गर्न जरुरी छ।’

चितवन आउने अधिकांश पर्यटकहरू सौराहाबाट फकिर्ने गर्दछन्। तर, नयाँ गन्तव्यको खोजी गर्नुपर्ने धारणा राख्छन् भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदी। ‘चितवनमा मेघौली, पटिहानी, जगतपुर, नारायणी नदी, सिँराईचुली, देवघाटलगायत सयभन्दा बढी पर्यटकीय क्षेत्र छन्,’ उनले भने, ‘प्रचारप्रसार नहुँदा त्यहाँ पर्यटक पुगेका छैनन्।’ व्यवसायीलाई स्थानीय खाद्यान्न तथा घरबास कार्यक्रमलाई प्रोत्साहन गर्नसमेत सुझाव दिए। आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने बताए।

प्रकाशित: १६ पुस २०७९ ०१:११ शनिबार