अर्थ

विस्थापित नहुने तर सराङकोटमा उड्न नपाउने

पोखराको सराङकोटबाट उडिरहेका प्याराग्लाइडिङ । फाइल तस्बिर: नागरिक

आगामी जनवरी १ (सन् २०२३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको आकाशमा उडान भइरहेको प्याराग्लाइडिङको भविष्य के हुने भन्नेमा सर्वत्र चिन्ता थियो। हवाइ क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अहिले केही सर्त सहित पोखरा क्षेत्रमै प्याराग्लाइडिङ उड्न दिने निर्णय गरेको छ।

पोखरा आसपासको आकाशमा उड्न पाउने भए पनि हालसम्म उडान भइरहेको सराङकोट, तोरीपानीको आकाशमा भने प्याराग्लाइडिङलाई उड्न प्राधिकरणले रोक लगाएको छ। प्याराग्लाइडिङ उडानको सुरुवात नै झण्डै अढाइदशक अघि सराङकोटबाट भएको हो। त्यसपछि नजिकैको तोरीपानी र मान्द्रे ढुंगा क्षेत्रको आकाश पनि प्याराग्लाइडिङका लागि खुला भएका थिए तर अब सराङकोट र तोरीपानीबाट भने उडान गर्न नमिल्ने प्राधिकरणले बताएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको प्याराग्लाइडिङ सधैंका लागि विस्थापित हुने चिन्ता पर्यटन व्यवसायीमा थियो। व्यवसायीले कुनै पनि हालतमा प्याराग्लाइडिङलाई पोखराबाट विस्थापित गर्न नहुने बताइरहेका थिए। पर्यटन व्यवसायीले प्याराग्लाइडिङ विस्थापित हुँदा पोखराको पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्ने गुनासो गरिरहेका थिए। व्यवसायीको चिन्तापछि प्राधिकरणले पोखराको प्याराग्लाइडिङलाई निश्चित क्षेत्र तोकेर उडान भर्न दिने निर्णय गरेको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई क्षेत्रको सुरक्षाको दृष्टिकोणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेन्टरबाट १० नटिकल माइल (१८.५२ किमि) भित्र प्याराग्लाइडिङ, बेलुन लगायत उडान गर्न नपाइने बताए । त्यस्तै हवाई रुटको दायाँबायाँ ५-५ नटिकल माइल (९.२६ किमि) भित्र पनि प्याराग्लाइडिङ र बेलुन उडान गर्न नमिल्ने भुलले जानकारी दिए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १० नटिकल माइलभित्र पर्ने भएकाले सराङकोटको आकाशमा प्याराग्लाइडिङ गर्न मिल्दैन,’ भुलले भने, ‘पोखराको आकाशको प्याराग्लाइडिङ सकेसम्म जोगाउनुपर्छ भन्ने प्रयास गरेका हौं तर हवाइ उडानलाई नै जोखिम मोल्नु भएन।’

सराङकोट र तोरीपानीको आकाशमा प्याराग्लाइडिङ उडान गर्न नमिल्ने भएपछि मान्द्रेढुंगा वा सोभन्दा पश्चिमको कुनै एयर स्पेसमा उडान गर्नेगरी सिफारिस गर्न प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार पोखरा उपत्यकाभित्र झण्डै ६ किलोमिटर चौडाइ र २६ किलोमिटर लम्बाइको एयरस्पेस छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालु विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ। अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाइसम्म मात्र उड्न पाउँछन्।  

डिपार्चर (पश्चिम हुँदै उड्ने) र मिस एप्रोच (पूर्वबाट अवतरण गर्ने क्रममा समस्या भएमा) मा समस्या आउन सक्ने भन्दै प्याराग्लाइडिङलाई हाल उडिरहेको आकाशमा उड्न दिन नमिल्ने प्राधिकरणले बताएको हो। भुलले विमानस्थलको केन्द्रबाट १० र हवाई रुटको ५ नटिकल माइल बाहिर गएर मात्र प्याराग्लाइडिङले उडान गर्नुपर्ने भएकोले नयाँ ठाउँ खोज्न ‘ना’ लाई भनिएको भुलले जानकारी दिए।

उनका अनुसार जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि तत्कालका लागि भिजुअल फ्लाइट रुल्स (भिएफआर) अनुसार नै उडान र अवतरण हुनेछ। इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आइएफआर) का लागि भने एक महिना जति लाग्नेछ। पोखराको हालको चालु विमानस्थलबाट पनि भिएफआर प्रविधिमा उडान र अवतरण हुन्छ। भिएफआरमा ५ किलोमिटर दूरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ।

सामान्य अवस्थामा भीएफआरबाट उडान-अवतरण गराइन्छ। यस नियम अनुसार भिजिबिलिटी ५ किलोमिटर आवश्यक पर्छ। आएएफआरबाट उडान र अवतरण गर्दा प्रविधिको उपयोग हुन्छ। सूचना अधिकारी भुलका अनुसार आइएफआरबाट उडान सुरु भएपछि प्याराग्लाइडिङ, बेलुन जस्ता गतिविधिले अप्ठेरो पारेको कुनै उजुरी हवाइजहाजले गरेमा प्याराग्लाइडिङलाई के गर्ने भनेर सोच्नुपर्ने हुन्छ। ‘हालका लागि भिएफआर उडान हो तर आइएफआरबाट उडान गर्दा प्याराग्लाइडिङका कारण अप्ठेरो परेको उजुरी परेमा भने प्याराग्लाइडिङ उडानलाई सधैंका लागि समस्या पर्छ,’ उनले भने, ‘प्याराग्लाइडिङले हवाई उडानमा अप्ठेरो पारेको गुनासो आयो भने त्यसपछि भने सोच्नुपर्ने हुन्छ।

प्रकाशित: १५ पुस २०७९ ०३:४९ शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चाल पोखरा क्षेत्रमै प्याराग्लाइडिङ उड्न दिने निर्णय