अर्थ

नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको अध्ययन

चिनियाँ रेल विज्ञसहितको प्राविधिक टोलीले अंग्रेजी नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने भएका छन्। चाइना रेल्वे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप सम्बद्ध ६ जना प्राविधिक टोलीले रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितका पदाधिकारीहरूसँग भेटघाट गरी आगामी नयाँ वर्षदेखि काठमाडौं-केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने प्रतिवद्धता जनाएका छन्।

चिनियाँ टोली यसअघि कोभिड १९ को बाहानाबाजी देखाएर नेपाल आएका थिएनन् तर पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बनेसँगै चिनियाँ रेलविज्ञको टोली नेपालमा आएका हुन्।

रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले चिनियाँ प्राविधिक टोलीले नयाँ वर्षपछि रेलमार्गको प्राविधिक अध्ययनको काम सुरु गर्ने जानकारी दिएको बताए।

‘चिनियाँ प्राविधिक टोलीले हामीसँगको भेटघाटको क्रममा नयाँवर्षदेखि सम्भाव्यता अध्ययनको काम सुरु गर्ने बताउनुभएको छ,’ उनले भने, ‘काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनको काम अघि बढ्नेछ।’

चिनियाँ प्राविधिक टोलीले रेलमार्गको लिंक, सुरुङ र अग्ला पुल लगायतका संरचनाको आवश्यक लागत इष्टिमेट र डिजाइन तयार पार्नेछन्। केरुङ–रसुवा–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको लागि सरकारले चीन सरकारलाई अनुरोध गर्दै आइरहेको थियो। काठमाडौ-रसुवा रेलमार्ग करिब ७२ किलोमिटरको हुनेछ।

अधिंकाश भूभाग पहाडी भएकाले सुरुङमार्ग पनि बनाउनु आवश्यक देखिएको छ। चिनियाँ भूभागको केरुङ–सिगात्सेतर्फको रेलमार्गको दूरी ५४० किलोमिटर रहेको छ। अहिलेसम्म सिगात्सेसम्म रेल आइसकेको छ। चिनियाँ पक्षले यसअघि नै सिगात्सेदेखि केरुङसम्मका ५४० किलोमिटर र नेपालतर्फ पर्ने ७२ किलोमिटरमा पनि रेलमार्ग बनाएर दुवै मुलकबीच रेलमार्गले जोड्ने बताउँदै आएको छ।

२०७५ सालमा केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। महानिर्देशक विसुरालले चिनियाँ प्राविधिक टोलीले साढे तीन वर्षको अवधिमा विस्तृत सम्भाव्यता अध्ययन गरेपछि रेलमार्गको सम्भावना र लागतको टुंगो लाग्ने बताए।

‘पूर्व सम्भाव्यता अध्ययनले केरुङ-काठमाडौं रेलमार्गको लागि दुई खर्ब ७५ अर्ब लाग्ने अनुमान गरिएको थियो,’ उनले भने, ‘अबको वास्तविक लागत कति लाग्छ भन्ने कुरा अध्ययनले मात्रै टुंगो लाग्नेछ।’ केरुङ-काठमाडौंको दूरी सय किलोमिटर भए पनि रेलमार्गको लम्बाइ भने ७२ किलोमिटरको हाराहारीमा हुने अनुमान गरिएको छ।

महानिर्देशक विसुरालले चिनियाँ पक्षले आफ्नो भूमिमा स्ट्यान्डर्ड गेजमा रेलमार्ग निर्माण गर्दै आइरहेकाले यो रेलमार्ग पनि सोही गेजमा निर्माण गरिने बताए। ‘यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न साढे तीन वर्ष लाग्ने अनुमान गरिएको छ,’ उनले भने ‘यो अध्ययनको लागि आवश्यक पर्ने तीन अर्ब रूपैयाँ बजेट पनि चिनियाँ पक्षले नै उपलब्ध गराउनेछ।’

रेल विभागका अनुसार यो काठमाडौं–केरुङ रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान गरिएको छ। यो रेलमार्ग समुन्द्री सतहदेखि ४ हजार मिटरबाट १४ सय मिटरमा झार्नुपर्ने भएकाले पनि केही प्राविधिक जटिलता भने कायमै छ। महानिर्देशक विसुरालले यो रेलमार्ग निर्माणको लागि भौगौलिक जटिलता भए पनि निर्माण गर्न सकिने दाबी गरे।

‘केरुङ–काठमाडौं रेलमार्गमा भौगोलिक र प्राविधिक समस्या छन् तर ती समस्यालाई चिर्दै काम अघि बढाउन नसकिने होइन्,’ उनले भने ‘अत्याधुनिक खालको प्रविधि अपनाएर अघि बढाउन सकिनेछ।’ महानिर्देशक विसुरालले नेपालको तर्फबाट जग्गा प्राप्ति, वन, वातावरण सम्बन्धी समस्यालाई सम्बोधन गरेर अघि बढाइने बताए।  

प्रकाशित: १५ पुस २०७९ ०२:०१ शुक्रबार

नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको अध्ययन चिनियाँ प्राविधिक टोली