अर्थ

सरकार ढल्ने खबरसँगै ९ अंकले घट्यो शेयर बजार

काठमाडौं– माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयले मंगलबार नेपालको पूँजी बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ९.२० अंकले घटेको छ। बजार खुलेदेखि करिब ७ अंकले शेयर सूचक उक्लिसकेकाे थियाे। तर, केन्द्रको निर्णय बजारले थाहा पाउनासाथ एकाएक ४८ अंकसम्मले ओरालो लागेको शेयर बजार पौने २ बजेदेखि भने पुनः उकालो लागेर बजार बन्द हुँदासम्म ९.२० अंकले घटेको हो।

मंगलबारको कारोबारपछि शेयर परिसूचक १६९३.०७ अंकमा ओर्लिएको छ। यसअघि सोमबार परिसूचक १७०२.३४ अंकमा थियो।

सदा झै मध्यान्ह १२ बजेबाट खुलेको बजारका खरिदबिक्रीकर्ताले दिउँसो १ बजे माओवादी केन्द्रको निर्णय थाहा पाएका थिए। अनिश्चितताका कारण त्यसयता सबैजसाे कम्पनीकाे शेयर मूल्यमा गिरावट अाएकाे थियाे। नेपाल टेलिकमकाे शेयर मूल्यले उकालाे लागेका कारण भने परिसूचकलार्इ अाेरालाे झर्नबाट केही भरथेग भएकाे थियाे।

मंगलबार ५ हजार २ सय १३ ओटा बारोबारबाट १ अर्ब १३ करोड ९१ लख ७२ हजार १ सय ७१ रुपैयाँ बजारबरका १६ लाख ३९ हजार २ सय ५७ कित्ता शेयर खरिदबिक्री भएका थिए। काराेबार रकममा भने साेमबारकाे तुलनामा केही सुधार देखियाे।

सबैभन्दा बढी बीमा समूहको समूहगत परिसूचक ९७.२१ अंकले घटेको छ। त्यस्तै, जलविद्युत् ३४.७७, विकास बैंक २७.२५, वित्त १४.३३, होटल ११.७३ र बैंकिङ समूहको परिसूचक ६.०१ अंकले घटेका छन्। 

तर, म्यानुफ्याक्चरिङ समूहको परिसूचक ३०.९ र अन्य समूहको परिसूचक १९.९७ अंकले मंगलबार उकालो लागेका छन्। यी दुई समुहको परिसूचक उकालो लाग्दा पनि शेयरको समग्र परिसूचकलाई केही भरथेग भएकाे थियाे।

वर्तमान सरकार ढल्ने र नयाँ सरकारको अनिश्चिताको डर शेयर बजारमा देखिएको जानकारहरुको भनाइ छ।

 

प्रकाशित: २८ असार २०७३ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App