अर्थ

बैंक अफ काठमाण्डूले सुरु गर्‍यो मेसिनबाट चेक क्लियरिङ

बैंक अफ काठमाण्डूले क्लियरिङका लागि ल्याइएका चेक मेसिनबाट जम्मा गर्ने सेवा सुरु गरेको छ। डिजिटल कारोबार प्रवद्र्धन गर्ने अभिप्राय लिई बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै क्लियरिङका लागि आएका चेक कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको सुरु गरेको हो।  

यस सेवा मार्फत ग्राहकले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्ने उल्लेख गर्दै बैंकले अबदेखि ग्राहकले भौतिक रूपमा कुनै भौचर नभरिकन जम्मा गर्नुपर्ने चेकहरू मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको जनाएको छ।  

यस सुविधामा ग्राहकले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएकाहरूको सम्पर्क नम्बर तथा क्लियरिङ सेसन लगायतका विवरण राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सकिने छ। उक्त चेक जम्मा भएपश्चात् ग्राहकले चेक जम्मा भएको प्रमाणीकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्ने बैंकले जनाएको छ।  

बैंकले यो सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको छ। निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरूमा समेत विस्तार गर्ने योजना रहेको जनाएको छ। कियोस्क मेसिन मार्फत क्लियरिङ चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रूपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बस्नुपर्ने अवस्थाबाट ग्राहकलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १३ पुस २०७९ ०२:४१ बुधबार

बैंक अफ काठमाण्डू