अर्थ

वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै आइपिओ निष्कासन

शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै साधारण शेयर (आइपिओ) को बिक्री खुला गरेको छ। गत बुधबारदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा ५८ हजार ५८ कित्ता शेयरको बिक्री खुला गरेको हो।

वैदेशिक रोजगारीमा गएकालाई लक्षित गरी खुला गरिएको शेयरमा यस अघि सर्वसाधारणका लागि निष्कासन गरिएको तर बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्ता समेत समावेस गरिएको छ। उक्त आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्।  

खुल्ला गरिएको शेयरमा अधिकतम पाँच हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई जिम्मा दिएको छ। उक्त कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एन्पी बीबीप्लस आईएस’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले २०६८ साउन १ गते देखि संखुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवाखोलामा ‘पिलुवाखोला साना जलविद्युत् आयोजना’ बाट नौ सय ९० किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ। यसरी गर्न सकिन्छ आवेदन  

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्रबोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत तथा ‘मेरो शेयर’मार्फत शेयर खरिदको आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारी गरिरहेका नेपालीले विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।  

आवेदन दिनका लागि रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा रोजगारदाता मुलुकबाट कम्तीमा ५० हजार जम्मा गरेको हुनुपर्ने छ। त्यसका अलवा सार्वजनिक निष्कासनको अन्तिम मिति भित्र रोजगारमा रहेको देशबाट रकम जम्मा गरी आवेदन दिन सकिने सकिने छ।

प्रकाशित: १३ पुस २०७९ ०२:३२ बुधबार

आइपिओ