अर्थ

प्रधानमन्त्री दाहालका घरबेटीले मेलम्चीको पाइपलाइन अलपत्र पारे

सत्ता र शक्तिको आडमा अनुमानित लागतभन्दा कममा ठेक्का लिएको सैलुङ-सिआइपिइएल जेभीले मेलम्चीको पाइपलाइन र ओभरहेड ट्यांकी निर्माणको काम अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँगको जेभीमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको एक सय ६० किलोमिटर पाइपलाइन र ओभरहेड ट्याङ्की निर्माण गर्ने ठेक्का पाएको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पिडिआई)ले दोस्रो पटक थप गरिएको म्याद पनि गत सन् २०२२ को अगष्टमा सकिसकेको छ।  

यो योजनाको भौतिक प्रगति भने २० प्रतिशत मात्रै छ। निर्देशनालयले फेरि निर्माण कम्पनीलाई २०८० साल असार मसान्तसम्मको म्याद थप गर्ने निर्णय गरेको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी हुन्। उनकै घरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। दाहालकी बुहारी बिना थापा मगर तत्कालीन खानेपानी मन्त्री हुँदा अधिकारीले सो योजनाको ठेक्का अनुमानित लागतभन्दा झण्डै ६० करोड कममा ठेक्का हात पारेका थिए।  

निर्देशनालयले यो योजनाका लागि दुई अर्ब ५ करोड रूपैयाँ लागत एष्टिमेट तयार पारेको थियो। जेभीले भने झण्डै ६० करोडभन्दा कम लागतमा ठेक्का हात पारेको थियो। निर्देशनालयका अनुसार पाँचवटा ठेकेदार कम्पनी बोलपत्रमा सहभागी थिए। सैलुङ ÷सिआइपिइएल जेभीले सार्वजनिक खरिद ऐन बमोजिम सबैभन्दा कम रकम कबोल गरेकाले ठेक्का पाएको थियो।

निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता अनुसार अहिले पाइप लाइन र ट्याङ्की निर्माण सम्पन्न भइसक्नुपर्ने थियो तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले आयोजनाको समष्टिगत भौतिक प्रगति २० प्रतिशतमा मात्रै सीमित छ। निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले सैलुङ÷सिआइपिइएल जेभीले मेलम्चीको पाइपलाइन विस्तार ओभरहेड ट्यांकी निर्माणमा ढिलासुस्ती गर्दै आइरहेको बताए। ‘अहिलेसम्मको निर्माण कम्पनीको कार्य प्रगति उत्साहजनक देखिदैन,’ उनले भने ‘निर्माण कम्पनीले आगामी दिनमा काममा तदारुकता देखाउने प्रतिवद्धता गरेकाले आगामी असार मसान्तसम्मको लागि म्याद थप गर्ने निर्णय गरेका छौं। तेस्रो पटक थप गरिएको समयसीमाभित्र पनि पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण नगरेको खण्डमा ठेक्का रद्द गर्नेछौं ।’  

ठेक्का सम्झौता अनुसार निर्माण कम्पनी १६० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने छ। ‘अहिलेसम्म ओभरहेड ट्यांकीको तेस्रो लिफ्टको ढलान हुँदैछ। मेलम्चीको पाइपलाइन विस्तारमा माइनरतर्फको २५-३० किलोमिटर मात्रै पाइपलाइन बिछ्याउने काम गरेको छ। मेजर पाइपलाइन तर्फको काम भने खासै हुन सकेको छैन,’ उनले भने ‘नयाँ ठेक्का प्रक्रिया अघि बढाउँदा पनि २-४ महिना लागि हाल्छ। त्यसैले पनि यो निर्माण कम्पनीलाई काम गर्नका लागि अन्तिम अवसरको रूपमा मात्रै म्याद थप गरेका हौं।’  

आयोजना निर्देशक सापकोटाले निर्माण कम्पनीको आन्तरिक कारणले नै काम हुन नसकेको दाबी गरे। ‘निर्माण कम्पनीको प्रथामिकतामा नपरेकाले पनि यो योजना समयमै निर्माण नभएको जस्तो देखिन्छ,’ उनले भने ‘कोभिड १९ को कारणले पनि निर्माण कम्पनीले जिआई पाइप आयात गर्न समस्या र अन्य यावत् कारणले पनि एक पटकलाई समय दिएका हौंं।’

निर्देशनालयले अहिलेसम्म एक हजार ५० किलोमिटर पाइपलाइन विस्तार गरिसकेको छ। त्यसैगरी ७७ किलोमिटर मेलम्चीको ट्रकलाइन पनि तयार भइसकेको छ। मेलम्चीको पानी वितरण गरेसँगै अहिले विभिन्न ठाउँमा मेलम्चीको पानी चुहावट देखिन थालेको छ। निर्देशनालयका अनुसार अहिलेसम्म मेलम्चीको नयाँ पाइपलाइनमा तीन ठाउँमा मात्रै चुहावट देखिएको छ। ती ठाउँमा पनि मर्मतसम्भारको काम भइरहेको छ। एसियाली विकास बैंकको साझेदारीमा अहिले करिब २१ अर्ब रूपैयाँ लगानी गरेर पाइपलाइन तथा १० वटा स्थानमा मेलम्चीको पानी प्रशोधन ट्यांकी निर्माण गरिएको छ।  

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा आएको छ। त्यसमध्ये १३ करोड लिटर पानी समानुपातिक ढंगले जनताको घरघरमा वितरण गरिएको छ भने ४ करोड लिटर पानी मेलम्चीको टेस्टिङको लागि प्रयोग गरिएको छ। केयुकेएलका प्रवक्ता प्रकाश राईले मेलम्चीको पानी वितरणको क्रममा तीन सयभन्दा धेरै ठाउँमा चुहावट भएको बताए।  

‘नयाँ पाइपलाइनभन्दा पनि पुरानो पाइपलाइमा चुहावटको समस्या देखिएको छ,’ उनले भने ‘समयमै कर्मचारी पठाएर चुहावट नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं।’ अहिले मेलम्चीबाट १७ करोड लिटर र केयुकेएलले आफ्नो स्रोतबाट १२ करोड गरी उपत्यकामा २९ करोड लिटर पानीको उपलब्धता भएको छ तर काठमाडौं उपत्यकामा भने दैनिक ४३ करोड लिटर पानीको माग छ।

प्रकाशित: १३ पुस २०७९ ०२:१६ बुधबार

सैलुङ-सिआइपिइएल जेभी