अर्थ

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री दाहाल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले  मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका हुन्।

आज बिहान भएको नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताए।

'महासङ्घ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ', प्रधानमन्त्रीको भनाइ उधृत गर्दै महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार विमर्श भएको महासंघको भनाइ छ। महासंघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिँदै अर्थतन्त्रको वर्तमान अवस्थाबारे अवगत गराएका थिए।

प्रधानमन्त्री दाहालले महासंघकातर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: १२ पुस २०७९ ०६:४२ मंगलबार

पुष्पकमल दाहाल