अर्थ

बेनीमा नदी नियन्त्रण आयोजना सुरु

फाइल तस्बिर।

म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ।

रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका-७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालेको हो। परियोजनासँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पक्की पर्खाल बनाउन नदी डाइभर्सन र जग खन्न थालेको बेनी नगरपालिका-७ का वडा सदस्य सोहन श्रेष्ठले बताए।

‘कालीगण्डकीमा पानीको सतह नबढ्दै सक्नेगरी पक्की पर्खाल निर्माण सम्पन्न गराउन पहल गरिएको छ’, उनले भने, ‘बेनीको कालीगण्डकी नदीकिनारको सबैभन्दा जोखिमयुक्त ठाउँमा कटान नियन्त्रण गर्न लागिएको हो।’

अहिले पक्की पर्खाल निर्माण गर्न लागिएको ठाउँमा यसअघि निर्माण भएको करिब एक सय ६० मिटर पर्खाल २०७५ असोज र २०७८ साल असारमा कालीगण्डकीमा आएको बाढीले बगाएको थियो। सो ठाउँमा ग्याबियनको अस्थायी पर्खाल र ठूला ढुंगा थुपारेर कटान रोकथामको प्रयास गरिएको थियो।

रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले २२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७८ साल माघमा कालीगण्डकी र म्याग्दी नदी नियन्त्रणका लागि संरचना बनाउन रौताह-बिएनबी कन्ट्रक्सनसँग नौ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मंगलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल असारअघि नै निर्माण भएको थियो। कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढिसकेकाले संगमचोक पछाडिको कालीगण्डकी किनारमा गत वर्ष पक्की संरचना बनाउन सकिएको थिएन।

बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीसँग सहमति जुटाएर नदी किनारमा पक्की पर्खाल निर्माण सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए। उनका अनुसार कालीगण्डकी किनारमा आठ मिटर अग्लो र एक सय ३४ मिटर लामो काउन्टर फोर्ट प्रविधिको पर्खाल निर्माण गर्न लागिएको हो।

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनीमा नदी नियन्त्रणका लागि चार वर्षयता काम गर्दै आएको छ। परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बेनीको थप ठाउँमा पनि पक्की पर्खाल बनाउन ठेक्का प्रक्रियामा रहेको बताए। संघीय सरकारले बेनीलाई जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेर नदी नियन्त्रणको काम गर्दै आएको छ। रासस

प्रकाशित: १० पुस २०७९ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App