अर्थ

नेपाल प्याकेज तयार गर्न मलेसियाका पर्यटन व्यवसायीलाई आग्रह

मलेसियाको पेनाङमा नेपाल सेल्स मिसन–२०२२ सम्पन्न भएको छ। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को सहकार्यमा मलेसियाको क्वाललम्पुर र पेनाङमा नेपाल सेल्स मिसन-२०२२ कार्यक्रम सम्पन्न भएको हो।

सोही क्रममा नेपाली टोलीले मलेसियाका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्दै नेपाली पर्यटन व्यवसायीदेखि सरकारी अधिकारीसम्मले नेपाल घुम्न त्यहाँका पर्यटन व्यवसायी र पर्यटकलाई आह्वान गरेको बोर्डले जनाएको छ।

यस्तै नेपाल सेल्स मिसन लिएर मलेसिया पुगेका पर्यटन बोर्ड र नाट्टाको टोलीले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज तयार गर्न मलेसियाका पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। यसका साथै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) डा. धनञ्जय रेग्मीको नेतृत्वमा मलेसिया गएको नेपाली पर्यटन टोलीले मलेसियाको पर्यटकीय सहर पेनाङमा सोमबार औपचारिक कार्यक्रमै गरेर नेपाल भ्रमणको प्याकेज बनाउन आग्रह गरेका छन्।

कार्यक्रमको बि–टु–बी सत्रमा नेपालका विभिन्न ट्राभल एजेन्टस् कम्पनीका सञ्चालकहरूले मलेसियाका समकक्षी तथा व्यवसायीहरूसँग नेपालका आकर्षक गन्तव्य र पर्यटनका प्याकेजबारे छलफल तथा सम्झौता समेत भएको थियो।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले मलेसियामा रहेका नेपालीलाई आफ्नो देश घुम्न साथीलाई ल्याउने व्यवस्था मिलाउन आग्रह गरे। मलेसियामा कार्यरत नेपालीले नै मलेसियाका आन्तरिक पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्न सक्ने भन्दै उनले त्यसका लागि पहल थाल्नुपर्ने बताए। ‘कोेभिड महामारीपछि विस्तारै माथि उठ्न खोजेको पर्यटनलाई बोर्ड र नाट्टाले संयुक्त प्रयासमा विभिन्न मुलुक पुगेर नेपाल भ्रमणका प्याकेजबारे जानकारीसँगै निमन्त्रणा गरेको छ।’

उनले भने बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्र र नेपाल घुम्ने विशेष प्याकेज अहिले मलेसियाका विभिन्न शहरमा सार्वजनिक गरिरहेका छन्। जसले मलेसियामा रहेका पर्यटकलाई नेपाल आउन सहज गराउने विश्वास छ’, उहाँले भन्नुभयो।

बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालका पर्यटकीय सम्भावना र आकर्षक गन्तव्यका बारेमा त्यहाँका व्यवसायीहरूलाई जानकारी गराएको र यसले नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरेको बताए। यस्तै नाट्टाका महासचिव कुमार थपलियाले मलेसियाका पर्यटकलाई नेपाल घुम्नका लागि गरिएको आग्रह मलेसियाका व्यवसायीले सकारात्मक रूपमा लिएको बताए।

क्वालालम्पुरमा आयोजित कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, नेपाल पर्यटन बोर्डका सीइओ डा. धनञ्जय रेग्मी, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज ढकाल लगायतका टोलीले नेपालको पर्यटनलाई प्रवद्र्धनका विभिन्न विषयमा धारणा राखेका थिए।

प्रकाशित: ७ पुस २०७९ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App