अर्थ

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले बेनी नगरपालिकाभित्रका विपन्नको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। चरम गरिबीकै कारण वार्षिक ३ हजार ५ सय रुपियाँ तिर्न नसक्नेको पहिचान गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले १० परिवारलाई सहयोग गरेको हो।

बेनी नगरले तयार गरेको तथ्याङ्कमा परेका अति विपन्नलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउँन निःशुल्क बिमा कार्यक्रम अन्तरगत गैर सरकारी संस्था सङ्गम म्याग्दीको साझेदारीमा सहयोग गरिएको बैंकका बेनी शाखा प्रबन्धक नवराज ढुङ्गानाले बताए।

‘विपन्नलाई वित्तीय साक्षरता कार्यक्रममा समेत जोडेका छौ,‘वित्तीय पहुँच नपुगेकालाई हामीले संस्थागत सेवामा प्राथमिकता दिएका छौ’ प्रबन्धक ढुङ्गानाले भने।

म्याग्दीमा क्रियाशील सङ्गम म्याग्दीले सिफारिसमा बैंकले २ जनाको नवीकरण तथा ८ जना नयाँबाट ४० भन्दा बढी घरपरिवार लाभान्वित भएको प्रबन्धक ढुङ्गानाको भनाई छ।

स्वास्थ्य बिमा हस्तान्तरणसँगै रत्नेचौर, घतान, पुलाचौर, पात्लेखेत र सिंगामा गरी ५ वडामा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो। स्वास्थ्य बिमा हस्तान्तरण कार्यक्रममा मेयर केसीले विपन्नको समस्या समाधान तथा आत्मनिर्भर बनाउने अभियानमा सक्रिय रहेको बताए।

‘विपन्नलाई निःशुल्क बिमामा वित्तीय संस्थाको सहयोग आवश्यक छ,‘युवालाई फाईनान्सियल ट्रेनिङका कार्यक्रम ल्याउन पहल गरिरहेका छौ’ मेयर केसीले भने।

बेनी नगरमा कार्यक्षेत्र बनाएका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बताए। वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरूलाई तालिम, विपन्नलाई सहयोग र सहुलियतमा कर्जामार्फत आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका रहेको मेयर केसीको भनाई थियो।

यस अगाडी नगरपालिका भित्रका अति विपन्न एक सय जनामध्ये दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले समेत १० परिवारको बिमा गरेको सङ्गम म्याग्दीले जनाएको छ।

प्रकाशित: ५ पुस २०७९ १३:३६ मंगलबार