अर्थ

निगमको दिल्लीलाई सातामा ११ उडान

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भारतको नयाँदिल्लीका लागि उडान संख्या थपेर सातामा ११ पुर्‍याएको छ। निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि दैनिक एक उडानका साथै प्रत्येक सोमबार, बुधबार र शुक्रबार थप एक–एक उडान गर्दै आएको थियो। अहिले भने आइतबार अर्को एक उडान थपेको हो।

‘दिल्ली सेक्टर हाम्रो लागि महत्वपूर्ण साबित भएको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, ‘यो सेक्टरमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच कडा प्रतिस्पर्धा चलिरहे पनि हाम्रो जहाजबाट यात्रा गर्नेको माग उच्च रहेका कारण उडान थपेर सातामा ११ पुर्‍याएका हौं।’

दिल्ली सेक्टरमा निगम जहाजको सिट भराइ दर (अकुपेन्सी) ८० प्रतिशत रहेको शर्माले जानकारी दिए । निगमका अनुसार दिल्लीका लागि प्रत्येक बिहान ८ बजे एक उडान हुँदै आएको छ । त्यसबाहेक प्रत्येक सोमबार, बुधबार र शुक्रबार साँझ ५ बजे पनि एक–एक उडान हुँदै आएको छ । अब आइतबार साँझ ५ बजे पनि एक उडान गर्न थालिएको हो ।

निगमले बिहानको उडानमा युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग हालै खरिद गरी ल्याएको ‘ए३२०–२००’ सिरिजको जहाज प्रयोग गरिरहेको छ । त्यस्तै साँझको उडानमा भने अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित ‘बि७५७’ सिरिजको जहाज प्रयोग गरिरहेको छ । यो जहाज करिब ३० वर्ष पुरानो हो । आइतबार साँझको उडानमा भने ए३२० जहाज नै प्रयोग गर्न थालिएको छ।

ए३२० मा १ सय ५८ सिट छन् र तीमध्ये १ सय ५० इकोनोमी क्लास र आठ बिजनेस क्लास सिट छन्। बि७५७ मा भने १ सय ९० सिट क्षमता छ । ए३२० बाट दिल्लीका लागि एक उडान थपिएपछि यस्तो जहाजको दैनिक उडान समय ९ घन्टा पुगेको छ । निगमसँग यस्तो जहाज दुईथान छन् ।

निगमले हाल भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा र हङकङ उडान गरिरहेको छ ।

 

प्रकाशित: १५ असार २०७३ ०५:१६ बुधबार

निगमको दिल्लीलाई सातामा ११ उडान