अर्थ

रावा बैंकद्वारा दश घरपरिवारको स्वास्थ्य बिमा

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले बेनी नगरपालिकाभित्रका विपन्नको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । चरम गरिबीकै कारण वार्षिक ३ हजार ५ सय रुपियाँ तिर्न नसक्नेको पहिचान गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले १० परिवारलाई सहयोग गरेको हो।  

बेनी नगरले तयार गरेको तथ्याङ्कमा परेका अति विपन्नलाई स्वास्थ्यको पहुँचमा पु¥याउन निःशुल्क बिमा कार्यक्रम अन्तर्गत गैरसरकारी संस्था संगम म्याग्दीको साझेदारीमा सहयोग गरिएको बैंकका बेनी शाखा प्रबन्धक नवराज ढुंगानाले बताए। ‘विपन्नलाई वित्तीय साक्षरता कार्यक्रममा समेत जोडेका छौ, ‘वित्तीय पहुँच नपुगेकालाई हामीले संस्थागत सेवामा प्राथमिकता दिएका छौं’ प्रबन्धक ढुंगानाले भने। म्याग्दीमा क्रियाशील संगम म्याग्दीले गरेको सिफारिसका आधारमा बैंकले २ जनाको नवीकरण तथा ८ जना नयाँ समेत गरी ४० भन्दा बढी घरपरिवार लाभान्वित भएको प्रबन्धक ढुंगानाको भनाइ छ।  

स्वास्थ्य बिमा हस्तान्तरणसँगै रत्नेचौर, घतान, पुलाचौर, पात्लेखेत र सिंगामा गरी ५ वडामा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो। स्वास्थ्य बिमा हस्तान्तरण कार्यक्रममा मेयर केसीले विपन्नको समस्या समाधान तथा आत्मनिर्भर बनाउने अभियानमा सक्रिय रहेको बताए। ‘विपन्नलाई निःशुल्क बिमामा वित्तीय संस्थाको सहयोग आवश्यक छ, ‘युवालाई फाइनान्सियल ट्रेनिङका कार्यक्रम ल्याउन पहल गरिरहेका छौ’ मेयर केसीले भने।  

बेनी नगरमा कार्यक्षेत्र बनाएका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बताए। वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवालाई तालिम, विपन्नलाई सहयोग र सहुलियतमा कर्जामार्फत आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका रहेको मेयर केसीको भनाइ थियो। यसअघि नगरपालिका भित्रका अति विपन्न १ सयजना मध्ये दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले समेत १० परिवारको बिमा गरेको संगम म्याग्दीले जनाएको छ।

प्रकाशित: ५ पुस २०७९ ०२:५० मंगलबार

राष्ट्रिय वाणिज्य बैंक