अर्थ

अप्पर माईको उत्पादन अब व्यावसायिक

अप्परमाई जलविद्युत् आयोजनाको उत्पादनस्थल।

इलाम– जिल्लाको माबु गाउँ विकास समितिमा निर्माण भएको अप्पर माई जलविद्युत् आयोजनाले बिहीबार व्यावासायिक उत्पादन थालेको छ। ९.९८ मेगावाटको आयोजनाको परीक्षण उत्पादनको बिजुली २ साताअघि केन्द्रीय प्रसारणमा जोडिएको थियो ।

परीक्षणमा उत्पादित बिजुली आयोजनाले २ साता प्राधिकरणलाई निःशुल्क दिएको निर्माणकर्ता पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले जनाएको छ। खोलामा पानीको बहाव अनुसार सुरुमा साढे ६ मेगावाट उत्पादन भएको बिजुली अहिले बढिरहेको लिमिटेडले जनाएको छ। प्राधिकरणसँग बिहीबार काठमाडौंमा छलफल गरी आयोजनाको बिजुली प्राधिकरणले बिहीबारदेखि नै खरिद गरेको लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए । ‘अब चाहिँ हामीले प्राधिकरणलाई आफ्नो उत्पादन बेच्न थालेका छौं,’ उनले भने।

३ वर्षअघि निर्माण सुरु आयोजनाको विद्युत् इलामकै गोदकस्थित सबस्टेसनमा जोडिएको छ। पावर हाउसबाट गोदकसम्म ल्याइएको ट्रान्समिसन लाइन विस्तारको काम केही महिनाअघि सकिएको थियो। माबुबाट गोदकस्थित स्टेसनसम्म बिजुली ल्याउन साढे १८ किलोमिटरमा टावर (पोल) गाडेर तार ताँगिएको छ। यो दूरीमा ५५ टावर राखिएका छन् । आयोजनाको कुल लागत १ अर्ब ९२ करोड रुपैयाँ रहेको प्रधानले बताए। आयोजनामा नबिल, नेपाल बैंक, एभरेस्ट, एनएमबी र ग्लोबल आइएमई बैंकले ७५ प्रतिशत लगानी गरेको उनले जनाए।

आयोजनाअन्तर्गत माथिल्लो माई सी जलविद्युत् क्यासकेट आयोजना पनि निर्माणाधीन छ । ९० करोड रुपैयाँ लगानीको आयोजना ६ महिनाभित्रमा निर्माण गरिसक्ने लक्ष्य रहेको लिमिटेडले जनाएको छ । ६.१ मेगावाटको क्यासकेटको काम ७० प्रतिशत सकिएको छ । दुवैबाट वर्षमा ५ करोड युनिट बिजुली उत्पादन हुने अनुमान आयोजनाको छ ।  विद्युत् खरिद सम्झौता (पिपिए)अनुसार पञ्चकन्याले यहाँको बिजुली ३० वर्षसम्म बेच्न पाउनेछ र त्यसपछि प्राधिकरणलाई जिम्मा दिनुपर्ने छ । १५ वर्षपछि सरकारले यसको ५० प्रतिशत स्वामित्व लिनेछ ।

 

 

प्रकाशित: ९ असार २०७३ १३:०७ बिहीबार

अप्पर माईको उत्पादन अब व्यावसायिक