अर्थ

साहसिक पर्यटकीय प्रडक्टमा थपियो एटिभी

डाँडाकाँडामा एटिभीको साहसिक अनुभव

पोखराको खपौदीमा एटिभी चढेर घुमघाममा निस्केका पर्यटक। तस्बिरः नागरिक

पोखरामा साहसिक गतिविधि रुचाउने पर्यटकका लागि फरकफरक प्रडक्ट छन्। तिनैमा मिसिन आइपुगेको छ, एटिभि (अल टेरेन भेइकल)। झट्ट हेर्दा मोटरसाइकल चलाएजस्तो देखिएपनि एटिभी चारपांग्रे सवारी हो। पोखराले साहसिक गतिविधि रुचाउने पर्यटनका लागि पहिलोपटक यो साधनलाई प्रयोगमा ल्याएको छ।  

कतिपय ठुला होटल व्यवसायीले आफ्ना पाहुनालाई निश्चित क्षेत्रभित्र घुमघामका लागि यस्तै सवारी उपलब्ध गराएपनि कच्ची सडकमा डाँडाकाँडा घुम्न रुचाउने जोसुकै पाहुनाका लागि भने हाइग्राउण्ड एडभेन्चर्स नेपालले एटिभी भिœयाएको हो। पोखरा आएका पाहुनाले एटिभी चढेर फेवाताललाई नियाल्दै पामे माथिको डाँडाकाँडा घुम्न पाउँछन्। हाइग्राउण्ड एडभेन्चर्स नेपालका निर्देशक दिनेश महर्जनका अनुसार फेवाताल माथिको पामे क्षेत्रको डाँडाकाँडामा एटिभी चढेर पाहुना घुम्न पाउँछन्।  

‘मरुभूमि भएका कतिपय मुलुकले यो साधनलाई पहिल्यैदेखि पर्यटन क्षेत्रमा उपयोग गर्दै आएका थिए। नेपालमा पनि ठुला होटलले आफ्ना पाहुनालाई घुमघामका लागि उपलब्ध गराउँछन,’ महर्जनले भने, ‘तर, हामीले भने जो कोही पर्यटकलाई यो साधन चढेर घुम्ने मौका दिलाउँछौ।’ महर्जनका अनुसार अहिले हाइग्राउण्ड एडभेन्चर्सले आठवटा एटिभी भिœयाएको छ। ती साधनलाइ फेवाताल किनारको खपौदीमा राखिएको छ। पाहुनाले खपौदीबाट साधन चढेर माथि डाँडासम्म उक्लिन पाउँछन्।

‘मोटरबाटोको कच्ची ट्रयाकमा यो साधन गुडाइन्छ, जुन आफैमा साहसिक हो। स–साना खोल्सी, वनजंगल, हिमाल, खेत हुँदै खनिएको बाटोमा पाहुनाले एटिभी चढेर घुमघाम गर्न सक्छन,’ उनले भने, ‘हिमाल र फेवाताल सहित पोखरा सहर अवलोकन गर्न पाउँछन्। सबैभन्दा बढी रोमाञ्चक त खोल्सी, वनजंगल, खेतबारी, गाउँ हुँदै खनिएको कच्ची मोटरबाटोमा गुडाउँदा हुन्छ।’ एउटा एटिभीमा दुइजना चढ्न मिल्छ।  

‘होटलले आफ्नो सेवा मात्र बेच्ने हो, होटलमा बसेका पाहुनालई मात्र घुमाउन यो साधन उपलब्ध गराउँछन,’ उनले भने, ‘तर, हामीले जो कोहीलाई पनि खुलारुपमा घुम्न दिनेगरि उपलब्ध गराउँछौ। सहरतिर भने यो साधन चढेर घुम्न पाँइदैन।’ हाईग्राउण्ड एडभेन्चरले अहिले पामे मोथिको आठकिलोमिटरको कच्ची मोटरबाटोमा एटिभीमा चढेर पाहुना घुम्न पठाउँछ। मोटरबाटको ट्रयाक भएपनि त्यहाँ नियमित मोटर चल्दैन। त्यसबाहेक पर्यटकलाई अभ्यस्त हुनका लागि खपौदीमा ट्रयाक पनि बनाइएको छ। जहाँ ढुंगैढुंगा, भिरालो, उकालो, ओरालोको खण्ड छ।  

‘विदेशी पाहुनाका लागि यो साधन नयाँ होईन, तर, विदेशी पाुहनाका लागि हाम्रो भौगोलिक क्षेत्रको अनुभव भने नयाँ हुनेछ,’ उनले भने, ‘मरुभूमिका चलाएको भन्दा फरक अनुभव यहाँ लिन पाइन्छ। यहाँ पुरै साहसिक गतिविधि हो।’ नेपालका डाँडाकाँडा, वनजंगल, खोल्साखोल्सीमा मोटरसाइकलमा दौडेजस्तै अनुभव लिन पाइने भएकोले यो साहसिक पर्यटकीय प्रडक्टको रुपमा रहेको उनले बताए।

हाइग्राउण्ड एडभेन्चरले केही महिना अघिदेखि यसलाई व्यवसायिक उपयोगमा ल्याएको छ। त्यसका लागि ताइवानदेखि यी साधन भिœयाइएको छ। यसमा करिब दुइकरोड रुपैयाँ लगानी गरिएको उनले बताए। निर्देशक महर्जनले अबको केही महिनापछि थप पाँचवटा एटिभी भिœयाउने तयारी गरेको बताए। ‘मोटरसाइकल चढेजस्तै हो। तर, यो चारपांग्रे सवारी भएकोले फरक अनुभव हुन्छ। बाहिरबाट हेर्दा भने मोटरसाइकल जस्तै देखिन्छ। पोखरा र फेवाताल तथा हिमाल हेर्दै वनजंगल, डाँडाकाँडा घुम्नुको मज्जा नै बेग्लै हुन्छ,’ उनले भने, ‘जहाँपायो त्यहाँ यो खालको अनुभव गर्न पाइदैन। तराइको समथर मैदानमा यहाँजस्तो साहसिक अनुभव बटुल्नै पाइदैन।’  

उनका अनुसार एटिभीको नियमित ट्रेल आठकिलोमिटरको छ। यो चलाउन पाहुनाले ४८ सय रुपैयाँ तिर्नुपर्छ। ४० मिनेटमा यो दूरी पुरा हुन्छ। ‘गाउँ डुलाउने साधन हो। नेपालभर यसको अभ्यास गर्न सकिन्छ। गाडी जाने सबै ठाउँमा यो साधन जान्छ। मोटरसाइकलको लाइसेन्स भएका व्यक्तिले चलाउन पाउँछन्,’ उनले भने। डाँडा उक्लिन नसक्नेका लागि भने खपौदीमै बनाइएको ट्रयाकमा एटिभी चढेर घुम्न पाइने उनले सुनाए। खपौदीको ट्रयाक पनि कच्ची सडककै स्वरुपमा छ। खपौदीको ट्रयाकमा चढ्नेले भने दुइहजार रुपैयाँ तिर्नुपर्ने उनले सुनाए।  

हाइग्राउण्ड एडभेन्चरले यसअघि नै पोखरामा साहसिक पर्यटनका लागि जिपलाइन, बन्जी, स्वीङ लगायतका गतिविधि गर्न मिल्ने प्रडक्ट भिœयाइसकेको छ। पोखरा क्षेत्रमा पहिलोपटक हाइग्राउण्ड एडभेन्चरले नै हेम्जामा बञ्जीजम्प भिœयाएको थियो।

प्रकाशित: २७ मंसिर २०७९ ०९:३७ मंगलबार

पर्यटकीय प्रडक्ट एटिभी हाइग्राउण्ड एडभेन्चर्स नेपाल