अर्थ

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल

इटहरी – सर्प दंशको औषधि एन्टिस्नेक भेनम नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको  छ। सरकारले भारतबाट एन्टिस्नेक भेनम ल्याउने गरेकोमा अब भने नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको हो।

सर्प दंशको औषधि अभाव टार्नका लागि सुनसरीको महेन्द्रनगरमा एन्टिस्नेक भेनम सोरुम एण्ड म्यानुफयाक्चरिङ् प्रालि दर्ता गरी पहल थालिएको इटहरीमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।  

औषधि उत्पादन गर्न घोडा पालनका लागि स्वीकृत लिएको, औषधि व्यवस्था विभागबाट स्वीकृत लिएको, सर्पका लागि वन मन्त्रालयमा अनुमतिका लागि प्रक्रियामा रहेको र सर्प पालनका लागि कानुन बनाउन सरकारसमक्ष माग गरेको बताइएको छ। सर्प दंशको औषधि उत्पादन गर्नका लागि एन्टिस्नेक भेनम सोरुम एण्ड म्यानुफयाक्चरिङ् प्रालिले दश बिगाहा जग्गा खरीद गरिसकेको अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले पत्रकार सम्मेलनमा बताए।

नेपाल सरकारले वार्षीक चार करोड बराबरको भारतबाट सर्प दंशको औषधि खरीद गर्ने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। औषधि अभावले गर्दा थुप्रै बिरामीको मृत्यु हुने गरेको छ। औषधि अभावले बिरामीको मृत्यु हुन नदिनका लागि औषधि उत्पादन गर्न लागेको फुयाँलले बताए।

भारत र नेपालका सर्प उस्तै प्रकृतिका हुने भएकाले गर्दा त्यहाँका औषधिले काम गर्ने तर आपूर्तिमा ढिलाई हुने गरेको छ।

 

प्रकाशित: ६ असार २०७३ १२:४० सोमबार

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल