अर्थ

उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै

पछिल्लो समय कोइला अभाव लगायत विभिन्न कारणले बन्द हुँदै खुल्दै गरेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) फेरि बन्द भएको छ। कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटकपटक बन्द हुँदै खुल्दै गर्ने उद्योग अघिल्लो साता सुरु भएकोमा फेरि बन्द भएको छ।

दक्षिण एसियाकै राम्रो र नेपालको उत्कृष्ट मानिएको गैंडा छाप सिमेन्ट उत्पादक उसिउलि चालु आर्थिकवर्ष सुरु भएयता कोइला अभाव झेल्दै आएको छ। त्योसँगै मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावले बन्द भएर गत ९ गते किल्न फाइरिङपछि उत्पादन थालेको उद्योगमा किल्नको इटा खसेपछि ५ दिनयता बन्द भएको बताइएको छ।

उद्योगमा कार्यरत मजदुरहरूका अनुसार पछिल्लो समय धेरै पटक उद्योग बन्द हुँदै खुल्दै गर्ने गरेको छ। कहिले कोइला नभएर, कहिले मेसिन उपकरण बिग्रेर र कहिले अन्य ससाना कारणले उद्योग बन्द हुँदै खुल्दै गरिरहेको उनीहरू बताउँछन्।

दैनिक ८ सय मेट्रिक टन क्लिंकर उत्पादन क्षमताको उद्योग बन्द हुँदा दैनिक लाखौँ रूपैयाँ घाटा हुने गरेको छ भने बन्द हुँदै चलाउँदै गर्दा अझ बढी घाटा हुने मजदुरहरू बताउँछन्।

उनीहरूका अनुसार एकपटक किल्न फाइरिङ गर्दा कम्तीमा ३ देखि ५ लाख हाराहारी खर्च हुन्छ। फाइरिङ गर्दा धेरै खर्च लाग्ने भएकाले ससाना मर्मतसंभार सबै गरेपछि मात्र फायर गर्नसके व्ययभार कम हुन्छ। सामान्य कारणले पनि रोकिने उद्योग चलेको देखाउन पटकपटक फायर गर्नुपर्दा उल्टै घाटा हुने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए। उनका अनुसार चालु आर्थिक वर्ष सुरु भए (साउनदेखि)  यता आधा दर्जन पटकभन्दा बढी उद्योग बन्द भइसकेको छ।

साउन आर्थिक वर्ष सुरु र भदौमा केही समय चले पनि दसैँ, तिहार, छठले असोज र कात्तिकमा नचलेको उद्योग मंसिरमा चुनावको बहानाले बन्दको बन्दै भयो। साउन, भदौदेखि नै कोइला अभाव झेल्न बाध्य उद्योगले चाडबाडले पनि कात्तिकसम्म बन्दजस्तै भयो।

साउनमा १४ दिन नचलेको उद्योग भदौमा १० दिन, असोजमा १६ दिन, कात्तिकमा २४ दिन र मंसिर ९ गतेसम्म रोकिएको बताइएको छ। मंसिरमा भने कोइला अभाव र चुनावले बन्द रहेको उद्योग ९ गते फाईरिङ गरेर उत्पादन थालेकोमा ५ दिन चलेपछि १५ गते इटा खसेकाले पुनः बन्द हुन पुगेको हो।

अहिले इटा झरेको किल्नमा मर्मत कार्य भइरहेको जनाइएको छ। किल्नमा इटा लगाउँदा २० मिटर बांगो भएर इटा झरेको प्रारम्भिक अनुमान छ। यकिन कारणबारे भने अझै जानकारी भएको छैन। महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेले वर्षौंअघिको पुरानो किल्न मर्मत गरिराख्नु साटो पुरै फेर्दा राम्रो हुने भन्दै केही समयअघि सो बारे प्रक्रिया अघि बढाउने जानकारी दिएका थिए। त्यही बेला सरकारले सञ्चालक समितिको अध्यक्ष नयाँ नियुक्ति गरेपछि त्यो काम गर्ने जिम्मा नयाँ व्यवस्थापन समिति (बोर्ड) लाई दिएको उनको भनाइ थियो।

जिएम न्यौपानेले नव नियुक्त अध्यक्ष केशव बस्नेत र आपूm बोर्ड बैठक राखेर नयाँ किल्न फेर्ने तथा अन्य पुराना थुप्रै मेसिन उपकरणको पूर्ण मर्मत वा नयाँ खरिद गर्ने भन्ने टुंगो लगाएर खरिद प्रक्रिया अघि बढाउन आवश्यक बजेट अर्थमन्त्रालयमा मागेको जनाएका थिए। उनका अनुसार बजेट अभावले फेर्नैपर्ने अवस्थामा पुगेका थुप्रै पुराना मेसिन उपकरण खरिद गर्न सरकारसँग बजेट मागेको बताएका थिए।

नयाँ किल्न फेर्न सके उद्योग राम्ररी चल्ने प्राविधिकहरूको सुझाव अनुसार गर्न खोजेको तर बजेट अभावले नसकेको उद्योगको भनाइ छ। नयाँ किल्न फेर्न कम्तीमा ४ करोड चाहिने बताइएको छ। नयाँ फेर्न नसकेसम्म पुरानैबाट काम चलाउन नियमित मर्मत सम्भार गर्नुपर्ने तर त्यसो गर्दा खर्च र समय लाग्नुका साथै उद्योग नियमित सञ्चालन हुन नसक्ने समस्या आइरहने प्राविधिक बताउँछन्।

१५ गतेदेखि नै उद्योग बन्द भए पनि त्यसबारे आधिकारिक जानकारी भने दिइएको छैन। घटना पुष्टि गर्न जिएम न्यौपानेसँग सम्पर्क गर्दा हुन सकेन। प्रवक्ता लक्ष्मण पोखरेल र उद्योगले सार्वजनिक सम्पर्क मोबाईल नं. पनि ‘स्वीच अफ’ भएकाले आधिकारिक जानकारी लिन नसकिएको हो। 

प्रकाशित: २६ मंसिर २०७९ ०२:३० सोमबार

उदयपुर सिमेन्ट उद्योग